Close This

‘नीति तथा कार्यक्रम हचुवाको भरमा’

बिहीबार चैत २९, २०७४/ Thursday 04-12-18
Paschim Today

धनगढी, २९ चैत्र ।
प्रदेश नम्बर ७, प्रदेश सरकारको नीति तथा कार्यक्रम हचुवाको भरमा आएको प्रमुख प्रतिपक्षी दलका सांसदले बताएका छन् । 
उनीहरुले प्रदेश सरकारले बिना योजना कार्यक्रम प्रदेश सभाबाट सार्वजनिक गरेको बताएका छन । तीन महिनाका लागि ल्याइएको नीति तथा कार्यक्रममा योजना कार्यान्वयन तथा सञ्चालनका विषयमा हुनै आधार नभएको प्रतिपक्षी दलका सांसदहरुको ठहर छ । 
कुनै योजना बिना नै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको भन्दै उनीहरुले चालू आर्थिक वर्ष २०७४÷०७५ का लागि खर्चको योजना आवश्यक हुने बताएका छन् । नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्काले नीति तथा कार्यक्रम ल्याउनु राम्रो विषय भएको तर प्रदेश सरकारले तयारी र छलफल नगरेरै ल्याएको बताए । 
योजना कार्यन्वयनको संयन्त्र नभएको भन्दै उनले नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको दावी गरे । नीति तथा कार्यक्रममा प्रयोग भएको सम्भव भएसम्म जस्ता शब्दले भाषिक त्रृटि भएको समेत उनले बताए । कार्यक्रम छनोटको प्रक्रियामा समेत ठाडो रुप देखाईएको भन्दै खड्काले कृषिका सवालमा नीति तथा कार्यक्रममा कुनै विषय नसमेटिएको भन्दै आपत्ति जनाए । 
निति तथा कार्यक्रममा आर्दशका कुरा मात्र रहेका प्रतिपक्ष सांसदले बताएका छन ।सरकारले जिम्मेवारी बहन नगरेको अनुभूति नीति तथा कार्यक्रमले गराएको उनीहरुको ठहर छ । प्रदेश सरकारले भारतसंग जोडिएका नाकाहरुको विषयमा समेत कुनै नयाँ कुरा नल्याएको बताएका छन । सांसद रणबहादुर रावलले प्रतिपक्षको वेबास्ता गरेर  हतारमा प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको बताए । उनले प्रदेश सभामा सरकार पक्षका सांसदको बाहुल्यता रहेकाले प्रदेश सरकारले प्रतिपक्षको बेवास्ता गरेको आरोप लगाए । 
काङ्ग्रेस सांसदले सङ्घीय संरचनामा बनेको प्रदेश सरकारले पुरानै प्रक्रियाबाट नीति तथा कार्यक्रम ल्याएको ठहर गरेका छन् । मुलुक नयाँ संरचनामा गएकाले नयाँ सोच र योजनाका साथ नीति तथा कार्यक्रम हुनु पर्नेमा त्यस्तो नभएको रावलले बताए ।