Close This

नीति तथा कार्यक्रममा दफावार छलफल

कृषिलाई राहत आवश्यक

शुक्रबार चैत ३०, २०७४/ Friday 04-13-18
Paschim Today

कमल सावद, धनगढी । सात नम्बर प्रदेश सरकारको अल्पकालिन नीति तथा कार्यक्रमबारे दफाबार छलफल सुरु भएको छ । बिहीवारको प्रदेश सभा बैठकमा सांसदहरुले नीति तथा कार्यक्रममाथि टिकाटिपप्णी गर्दै विभिन्न सुझाव दिएका छन् ।
१३ औ प्रदेश सभाको बैठकमा उनीहरुले प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७४/०७५ को बाँकी समयका लागि महत्वाकांक्षी अल्पकालिन नीति तथा कार्यक्रम ल्याएको बताएका छन । उनीहरुले प्रदेश सरकारको अल्पकालिन नीति तथा कार्यक्रम प्रदेशवासीले राहतको महसुस गर्ने गरी आउनु पर्नेमा जोडदिए ।  प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रम प्रदेश सभामा छलफलका लागि टेबल गरेपछि सांसद तारा लामा तामाङले दफावार छलफलको प्रस्ताव गरेका थिए । सो प्रस्तावको सांसद अक्कलबहादुर रावलले समर्थन गरेपछि छलफल सुरु भएको थियो । छलफलमा सहभागी सांसदहरुले प्रदेश सरकारले छोटो समयका लागि ल्याएको कार्यक्रममा धेरै विषय समेटन नसकेको, महत्वाकांक्षी र पञ्चवर्षीय योजना जस्तो पुरानै शैलीमा आएको टिप्पणी गरे । 
प्रतिपक्ष दल नेपाल कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रदेश र केन्द्र सरकारबीच समेत तालमेल नमिलेको बताएका छन् । नयाँ संरचनाको नीति तथा कार्यक्रम पुरातन सोचबाट आयो खड्काले प्रदेश सभाको सम्बोधनमा भने । प्रदेश सभामा नीति तथा कार्यक्रममाथि दफावार छलफलमा भाग लिएका सांसदहरुले कार्यक्रमको कार्यान्वयनमा शंका व्यक्त गरेका छन् । उनीहरुले सरकारलेबीना योजना नीति तथा कार्यक्रम प्रदेश सभामा ल्याएको बताए । सांसदहरुको बोल्ने क्रम शुक्रबार समेत जारी रहने छ । शुक्रबार बिहान ११ बजे सम्मका लागि प्रदेश सभा बैठक स्थगित गरिएको छ । 

 

कृषिलाई राहत आवश्यक
अल्पकालिन नीति तथा कार्यक्रमा कृषकका लागि तत्काल आवश्यक पर्ने कार्यक्रम नसमेटेको  भन्दै प्रदेश सभा बैठकमा सांसदहरुले सरकारको आलोचना गरेका छन ।  बर्खे बालीको समय आएकाले कृषकलाई तत्काल राहत हुने कार्यक्रम प्रदेश सरकारको नीति तथा कार्यक्रमा समावेश हुने पर्ने उनीहरुको माग छ । कृषकलाई तत्काल राहत पुग्ने कार्यक्रम नसमेटेको भन्दै प्रदेश सांसदहरुले सरकारको आलोचना गरेका छन । सांसद कृष्णबहादुर चौधरीले कृषकको गहुँ  भित्र्याइ गरिसकेका तर सरकारले मूल्य निर्धारणमा ढिलाई गरेको बताए । 
उनले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । कृषकलाई आवश्यक पर्ने बीउ, मल, सिचाई तथा आवश्यक उपकरणका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रममा उल्लेख गर्नु पर्ने उनको भनाइ थियो । सांसद चुलकुमारी चौधरीले कृषक साधै मारमा रहेका बताईन । ’कैलाली कञ्चनपुरमा कृषि उत्पादन राम्रो हुन्छ तर सरकारले नयाँ नीतिमा राहतको नयाँ योजना ल्याएन ।“ उनले सांसद भनिन् ।  सांसद रणबहादुर रावलले कृषकलाई रोजगारी आवश्यक रहेको बताए । उनले भने ’प्रदेशमा ९० प्रतिशत बढी कृषक छन तर पहाडी जिल्लाहरुमा अझै भोक्मरी हुने चिन्ताको बिषय हो ।“ उनले थपे  ’प्रदेश सरकारले कृषि क्षेत्रको विकासका लागि योजनाबद्ध तरिकाले काम गर्न आववश्यक छ ।“ सांसद नन्दबहादुर साउँदले प्रदेश सरकारले कृषिमा नयाँ प्रविधिको विकास गर्न आवस्यक हुने बताएका छन । उनले कृषि क्षेत्रको समृद्धि भएमात्र प्रदेशको समृद्धि हुने बताए । यसैगरी, भारत र चीनसंग जोडिएका नाकालाई प्राथमिकता नदिएको भन्दै प्रदेश सभा बैठकमा सांसदहरुले विरोध जनाएका छन् ।  उनीहरुले गौरीफन्टा लगायत अन्य नाकाहरुको स्तरोन्नति आवश्यक रहेको बताएका छन् । सांसद कर्णबहादुर मल्लले प्रदेश सरकारले प्रमुख नाका गौरीफन्टा सहित कञ्चनपुरको गड्डाचौकी सहित छोटी भन्सारलाई नीति तथा कार्यक्रममा प्राथमिकता नदिएको बताए ।