Close This

कैलाली उद्योग वाणिज्य संघ र श्राद्धको बिरालो

 हरेक चुनावको मुखमा दर्ता गरिने फर्जिफर्महरुलाई सरोकारवाला निकायले करको दायरामा ल्याउनुपर्छ । ति फर्महरुलाई करको दायरमा मात्रै ल्याउन सके बिगत देखि फष्टाउदै आएको फर्जितन्त्र रोकिने छ । कर तिर्नुपर्ने भए कसैले पनि आफ्नो नाममा दर्जनौ फर्म दर्ता गर्ने आँट गर

शनिबार बैशाख १, २०७५/ Saturday 04-14-18
Paschim Today

मेरो हजुर आमाले सामाजिक चलन र परम्परा कसरी बस्छ भन्ने बिषयमा सुनाएको कथा म जहिल्यै सम्झीन्छु । यद्यपी मेरो हजुर आमा यो संसारमा हुनुहुन्न । वहाँले श्राद्धमा बिरालो डोको मुनि छोपेर राख्ने चलन बारेको कथा मलाई सुनाउनु भएको थियो । कथाका अनुसार श्राद्धाका लागि तयार पारेको दहि, दुध,  धिउ र अन्य परिकारहरुमा मुख राखेर फोहर बनाउन थालेपछि कर्ताले (श्राद्धगर्ने ब्यक्ति) घरमा रहेको बिरालोलाई डोकोमुनी छोपेर राखेछन् र श्राद्ध सुरु गरेछन् । संयोग ति श्राद्ध गर्ने ब्यक्तिको त्यसै बर्ष मृत्यू भएछ ।  
घरमा भएको बिरालो पनि कुनै कारणले मरेछ । बुवाको मृत्यू भैसकेपछि अव श्राद्ध गर्ने पालो तिनका छोराको आयो । जसले श्राद्धको दिन डोको मुनि बुवाले बिरालो छोपेको घटना देखेका थिए । घरमा भएको बिरालो समेत मरिसकेकाले उनले गाउँबाट बिरालो खोजेर  ल्याए । त्यो बिरालो डोकोमुनी छोपे र बुवाको श्राद्धगर्ने कार्य सुरु गरे । बिगार्ने भएका कारण घरको बिरालोलाई डोकोमुनी छोपेको कुरा नबुझेर ती ब्यक्तिले श्राद्ध गर्दा डोकोमुनी बिरालो छाप्नुपर्दो रहेछ भनेर बुझे । त्यही भएर उनले हरेक श्राद्धमा गाउँबाट भएपनि बिरालो खोजेर डोकोमुनी छोपेर राखे । तिनि मरेपछि तिनका छोराले पनि त्यसैगरी बिरालो डोकोमुनी छोपेर श्राद्ध गरे । यसरी श्राद्धमा बिरालो छोपेर राख्ने कुराले चलनको रुप लियो । बुवाले गरेको काम तिनका छोराहरुले धर्म र परंपराका रुपमा लिए । निरन्तरता दिई रहे ।
मेरी हजुर आमाले सुनाएको यो कथा कैलाली उद्योग बाणिज्य संघको फर्जिफर्म दर्ता गर्ने चलन संग मेल खान्छ । एक ब्यक्तिवाट सुरु भएको फर्जिफर्म दर्ताको कुरो अहिले परम्परा बनेको छ । जसरी बुवाले बिगार्न नदिन आफ्नो सजिलोको लागि बिरालोलाई डोकोमुनी थुनेर राखेका थिए । छोराले त्यसलाई परम्परा बुझेर निरन्तरता दिएका थिए । त्यसरी नै कैलाली उद्योग बाणिज्य संघमा फर्जिफर्म दर्ता गरिएको यो तेश्रो पटक हो । 
चुनावको मुखमा फर्जिफर्म दर्ता गर्ने र नेतृत्व हडप्ने कैलाली उद्योग वाणिज्य संघमा परंपरा बसिसकेको छ । आफु र आफु अनुकुलका ब्यक्तिलाई नेतृत्वमा पु¥याउनका लागि यस अघिका कार्यसमितिले गरेको फर्जितन्त्रको बिजारोपणले बैधता पाई सकेको छ । यसो होईन भने किन यो गलत कार्य रोक्न सकिएको छैन । चुनावको मुखमा दर्ता गरिने फर्जिफर्महरुलाई बिगत खारेज गर्न सकिएको छैन । चुनावी प्रयोजनका लागि दर्ता गरिने फर्जिफर्महरुलाई करको दायरामा समेत ल्याउन सकिएको छैन । न 
त गलत गर्नेहरु नै कर्वाहीको दायरमा ल्याउन सकिएका छन् । कैलाली उद्योग वाणिज्य संघमा फर्जिफर्महरु दर्ता गर्ने यो तेश्रो कार्यसमिति हो । यस अघिका दुईवटा कार्यसमितिहरुले यसरी नै आफु नजिकका ब्यक्ति र एउटै ब्यक्तिका नाममा धेरै 
फर्महरु दर्ता गरेर चुनाव जितेका हुन । यस प्रकरणमा तिनवटा कार्यसमिति मात्रै पनि दोषी छैनन् यसमा उक्साउने र बाटो देखाउने मतीयारका रुपमा त्यस अघि उद्योग बाणिज्य संघको नेतृत्व गरेका ब्यक्तिहरु समेत रहेका छन् । त्यस बखतको नजिरका कारण गलत कामले निरन्तरता पाएको छ । अर्थात गुरुहरुले जे गरे तिनिहरुका चेलाहरुले त्यही अनुसरण गरेका छन् ।  
यसको दोष अहिले गलत गर्ने भन्दा गलत गर्ने कार्यको नजिर बसाउनेहरुलाई दिनुपर्दछ । किनभने उद्योग वाणिज्य संघ कैलालीमा यो परंपरा तिनिहरुले नै बसालेका हुन । तिनका अग्रजहरुले जे गरे , सन्ततीहरुले त्यही पछ्याएका हुन । अग्रजले बसालेको परंपरा बचाउनकै लागि फर्जिफर्महरु दर्ता गरेका हुन । 
अग्रज र ठूला ब्यावसायीहरु रहेको कैलाली उद्योग वाणिज्य संघमा देखिएको यो गलत कार्य उपहास मात्रै होईन निन्दनीय पनि हो । गलत कुराको बिउ रोप्नेहरुले नै ठूला आर्दशका कुरा गरिरहेका छन् । आफुहरु मात्रै बिवेकी र नैतिकवान भएको दावी गर्दै दोष जती अरुमा देखिरहेका छन् । यदी कानुनी राज्य हो भने तिनिहरुलाई समेत छानविन गरि कार्वाहीको दायरामा ल्याउनुपर्छ ।
 उद्योग वाणिज्य संघ फर्जिफर्म दर्ता गर्न सक्ने धन भएका, पाखुरा भएकाहरुको मात्रै संस्था होईन ।  सामान्य ठेला ब्यापारी देखि ठूला उद्योगपती सम्मको संस्था हो । तर कैलाली उद्योग वाणिज्य संघ सबैको साझा संस्था बन्न सकिरहेको छैन । यहाँ नेतृत्व गर्ने बिषयमा समेत सिण्डीकेट छ । यो प्रबृतीले संरक्षण पाएसम्म यस संस्थाले ब्यापारीहरुको हक हितमा काम गर्न 
सक्दैन । उद्योग बाणिज्य संघले  ब्यापारीहरुको पिडामा मलम लगाउनुपर्छ । ब्यापारीको हितमा बोल्नुपर्छ ।
ब्यापार ब्यावसायहरुको प्रवद्र्धनका लागि काम गर्नुपर्छ । राज्यलाई आवश्यक परेको बेला रचनात्मक सल्लाह तथा सुझाव दिनुपर्छ । यसका अतिरिक्त उद्योग बाणिज्य संघका थुप्रै कार्यहरु रहेका छन् । तर यसको उल्टो कैलाली उद्योग बाणिज्य संघले साना पूँजीका ब्यापारीको हितमा होईन उनिहरुको प्रवेशलाई निषेध गर्न खोज्दै छ । फर्जि फर्म दर्ता गरेर नेतृत्व हत्याउन खोज्नु भनेको नै साना ब्यापारीहरुलाई ठाउँ छैन भन्नु हो । यस पटकको कुरा गर्ने हो भने मात्रै कैलाली उद्योग वाणिज्य संघले चुनावको मुखमा करीव एक हजार फर्जी व्यवसायीक फर्म दर्ता गरेको छ । यी सबै फर्म चुनावमा नेतृत्व हत्याउन दर्ता गरिएका हुन् । संघका पछिल्ला तीन निर्वाचनममा यस्तै फर्जी मत निर्णायक भएका कारण यस पटक पनि दोहरिएको हो । 
 रेकर्ड हेर्दा चैत्र १३ र १४ गते मात्रै धनगढी उपमहानगरपालिकाका विभिन्न वडाहरुमा करिब ७ सयको हाराहारीमा नयाँ व्यवसाय फर्महरु दर्ता भएका छन् । चैत १३ र १४ गते सबैभन्दा बढि ७ सयको हाराहारीमा फर्म दर्ता भएपनि पछिल्लो अबधिमा यसरी ९ सयभन्दा बढि फर्म दर्ता भएका छन् । फर्म दर्ताबाट कैलाली उद्योग वाणिज्य संघलाई ठूलो आम्दानी भएको छ । एउटा व्यवसाय दर्ता गरे वाफत उद्योग बाणिज्य संघ कैलालीले २ हजार ५५ रुपैया लिने गरेको छ । 
जसमा एकै व्यक्तिको नाममा ५ देखि १४ ओटा व्यवसाय दर्ता भएका छन् । जसबाट वडा कार्यालयहरुको राजश्वमा समेत बृद्धि भएको छ । 
एउटै व्यक्तिले पान पसल देखि तरकारी पसल अनि जुत्ता पसल देखि जुस सेन्टरसम्म दर्ता गराएका छन् । सो वाफत वडा कार्यालयलाई ६ सय देखि ३ हजारसम्म राजश्व तिरेका छन् । कतिसम्म भने एउटै व्यक्तिले धनगढी उपमहानगर पालिकाका अलग अलग वडाहरुमा व्यवसाय दर्ता गराएका छन् । यसरी चुनाव जित्नकै लागि फर्जि फर्महरु दर्ता हुनु राम्रो होईन यो प्रबृतीको अन्त्य गरिनु पर्छ । 
उद्योग वाणिज्य संघ कैलालीले गरेको यो फर्जितन्त्रको निरन्तरताले राम्रा पक्षहरुलाई समेत छायाँमा पार्न थालेको छ । कैलाली उद्योग वाणिज्य संघले देशकै उत्कृष्ट संघका रुपमा सम्मानित हुने अवसर समेत पाएको थियो । सुन्दर सुदूरपश्चिमको अभियान कैलाली उद्योग वाणिज्य संघले नै चलाएको हो । 
यस अभियानले यहाँका पर्यटकिय सम्भावनालाई समेत झल्काएको थियो । 
यस क्षेत्रमा लाग्ने औधोगिक मेला महोत्सवको आयोजना गर्ने कार्यको सुरुवात कैलाली उद्योग वाणिज्य संघले नै गरेको हो । देशका प्रधानमन्त्री, मन्त्रीहरुलाई ल्याएर यस क्षेत्रका विकासका ऐजेन्डा पुरा गर्ने प्रतिवद्धता गर्न लगाउने कामको सुरुवात पनि कैलाली उद्योग बाणिज्य संघले गरेको हो । यसको जस उद्योग बाणिज्य संघ कैलाली र त्यसमा आवद्ध नेतृत्वलाई दिनैपर्छ । 
यती हुदाहुदै पनि उद्योग बाणिज्य संघ कैलालीले गरेको फर्जितन्त्रको सुरुवातले सबै राम्रा कामलाई छाँयामा पारिदिएको छ । कैलालीमा सुरु भएको फर्जितन्त्रको सिको डोटी, डडेल्धुरा, अछाम, बैतडी लगायतका जिल्लामा समेत भएको छ । त्यसैले यस्तो गलत परंपरालाई निरुत्साहित गर्नका लागि पनि उद्योग बाणिज्य संघ कैलालीले दर्ता भएका फर्जिफर्महरुलाई खारेजीका लागि अग्रसरता लिनै पर्छ । 
अहिलेको कार्यसमितिले बिगतको गलत कुरालाई बचाउने होईन । गलत परंपरालाई निरुत्साहित गर्नुपर्दछ । सबै किसिमका स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्छ । राम्रा कुराको अनुसरण गर्नुपर्दछ । उद्योग वाणिज्य संघको नेतृत्वमा आउन कसैलाई रोक लगाउने होईन । सहभागिता मुलक र सबैको साझा संस्थाको रुपमा यसलाई स्थापीत गर्नु पर्दछ ।
 हरेक चुनावको मुखमा दर्ता गरिने फर्जिफर्महरुलाई सरोकारवाला निकायले करको दायरामा ल्याउनुपर्छ । ति फर्महरुलाई करको दायरमा मात्रै ल्याउन सके बिगत देखि फष्टाउदै आएको फर्जितन्त्र रोकिने छ । कर तिर्नुपर्ने भए कसैले पनि आफ्नो नाममा दर्जनौ फर्म दर्ता गर्ने आँट गर्दैनन् ।