Close This

गीत मार्फत महतोको संरक्षण सन्देश

शनिबार बैशाख १, २०७५/ Saturday 04-14-18
Paschim Today

धनगढी, वैशाख १ । वन र वन्यजन्तु संरक्षणमा क्रियाशिल देव नारायण महतोले गीत मार्फत संरक्षणको प्रयास थालेका छन् । 
    जैविक विविधता र पर्यावरणीय सम्पदाको संरक्षणमा सन्देश दिने उद्देश्यले उनले संरक्षण सम्बन्धी गीत निकालेका हुन । ‘बनवा फुललै लालेलाल...’ बोलको नवलपुरिया थारु भाषाको उक्त गीतमा बनेको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । 


    गीत मार्फत विश्वमै लोपोन्मुख अवस्थामा रहेको बाघ, गैडा सहित विभिन्न वन्यजन्तु र वनको संरक्षण गर्नु पर्नेमा जोड दिइएको छ । गीतले मनोरञ्जनसंगै सन्देश पनि दिने गरेकाले संरक्षण सम्बन्धी सन्देश छर्ने उद्देश्यले फरक खालको गीत निकालेको महतोले बताए । ‘स्थानीय भाषाको यो गीतले स्थानीय समुदायमा वन र वन्यजन्तु संरक्षणका लागि सचेतना ल्याउने विश्वास गरेका छौं’, उनले भने–‘किनभने, संरक्षण कार्यमा स्थानीय समुदायको ठूलो भूमिका रहन्छ । र, रहि आएको छ ।’
    नवलपुरको कावासोती नगरपालिका स्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष समेत रहेका महतो वडा नम्बर १५ का वडा अध्यक्ष पनि हुन ।  महतोले आफ्नै शब्दमा आफै स्वर दिएका छन् । उनलाई गायिका उमा चौधरीको साथ रहेको छ । गीतमा महतोले नै सङ्गीत भरेका छन् ।

 
    नयाँ वर्षको अवसर पारेर ‘एनडी स्टुडियो द स्टोरी मेकर’ ले रिलिज गरेको ‘बनवा फुललै लालेलाल’ गीतको म्युजिक भिडियोमा जितेन्द्र महतो र कञ्चन चौधरीको मुख्य भूमिका रहेको छ । उक्त भिडियोमार्फत स्थानीय संस्कृति र पर्यटन पवद्र्धनमा समेत जोड दिइएको महतोले बताए । ‘वन र वन्यजन्तु जोगाएमा अवलोकनका लागि पर्यटक आउने यथार्थ म्युजिक भिडियोमार्फत झल्काउन खोजेका छौं’ उनले भने । म्युजिक भिडियोमा नवलपुरिया थारु लाठी नाच, होमस्टे, जङ्गल सफारी समेत समेटिएको छ ।