Close This

धर्मको उद्देश्य सबैको कल्याण :- प्रदेश प्रमुख 

आइतबार बैशाख २, २०७५/ Sunday 04-15-18
Paschim Today
सन्त निरङ्कारी मण्डलको बाल युवा समागमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मोहनराज मल्ल ।

धनगढी, २ वैशाख ।
प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्लले कुनै पनि धर्मको उद्देश्य सबैको कल्याण गर्नु रहेको बताएका छन् । 
    सन्त निरङ्कारी मण्डल नेपाल प्रदेश नम्बर ७ को आयोजनामा शनिवार धनगढीमा भएको ‘सन्त निरङ्कारी बाल युवा समागम’ कार्यक्रममा उनले यस्तो बताएका हुन । प्रदेश प्रमुख मल्लले सन्त निरङ्कारी मण्डलले मानवलाई मानव बनाउनका लागि प्रेरित गरेको उल्लेख गरे । ‘सन्त निरङ्कारी मण्डलले पनि सबैको कल्याण गरेको छ’, उनले भने ।  
    सन्त निरङ्कारी मण्डलमा सबै जातजाति र जुनसुकै विचारधाराका मानिस आबद्ध हुन सक्ने भन्दै मल्लले सन्त निरङ्कारीको मूल सिद्धान्त नै मानव कल्याण रहेको उल्लेख गरे । उनले शान्ति, सद्भाव, आपसी मेलमिलाप, भाईचारामा ध्यान दिने यो धर्मको उद्देश्य रहेको चर्चा गरे । मल्लले अगाडि थपे–‘सुरुमा टीकापुरमा सानो ज्योती बालेर सन्त निरङ्कारी मण्डलको सुरुवात भएको थियो । अहिले आएर त्यो ज्योती फैलिएर विशाल बनेको छ ।’
    ‘बालबालिकाहरुमा सदैव असल संस्कार भरौं, जे गरिन्छ सामु उनका सत्–सत् कर्म गरौं’ भन्ने नारा सहित आयोजित बाल युवा समागममा सन्त निरङ्कारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावल, प्रदेश सांसद टेकबहादुर रैका, धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वड लगायतको उपस्थिति रहेको थियो । 
    सन्त निरङ्कारी मण्डल नेपालको आयोजनामा यो प्रदेशमा बालबालिकाको लागि यो पहिलो र ऐतिहासिक कार्यक्रम रहेको सन्त निरङ्कारी मण्डल नेपालका पूर्व केन्द्रीय सचिव दुर्गाप्रसाद भण्डारीले बताए । बालबालिकामा चेतना, सत्कर्म, भाइचारा, असल व्यवहारको विकास गर्ने बाल युवा समागमको उद्देश्य रहेको उनको भनाइ थियो । 
    कार्यक्रममा कैलाली जिल्लाभरीबाट आएका दुई हजार भन्दा बढी सन्त निरङ्कारी मण्डलका अनुयायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बालबालिकाहरुले नै भक्तिभजन गाउनुका साथै विभिन्न व्यक्तिले प्रवचन समेत दिएको पूर्व सचिव भण्डारीले जानकारी दिए ।