Close This

उद्घाटन कार्यक्रममै व्यस्त मुख्यमन्त्री र मन्त्रीहरु

मुख्यमन्त्रीको कार्यालय धर्मशाला जस्तै

आइतबार बैशाख २, २०७५/ Sunday 04-15-18
Paschim Today

धनगढी, २ वैशाख ।
त्रिलोचन भट्टले प्रदेश नम्बर सातको मुख्यमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेको आज ५८ दिन भयो । प्रदेश सरकारका मन्त्रीलाई प्रभावकारी ढंगले परिचालन गर्नुपर्ने र स्वयम पनि प्रभावकारी ढंगले जनअपेक्षा पुरा गर्न सक्रिय हुनुपर्ने मुख्यमन्त्री त्रिलोचन भट्टको दिनचर्या भने कार्यक्रमहरुको उद्घाटन र अन्तरक्रियामा बित्ने गरेको छ ।
पुस्तक बिमोचनबाट शुरु भएको मुख्यमन्त्रीको कार्यक्रम मोह सांस्कृतिक कार्यक्रम, स्कुल तथा क्याम्पसका वार्षिकोत्सव देखि बिभिन्न अन्तरक्रियामा समेत जारी रहेको छ ।
मुख्यमन्त्री भट्टकै क्रियाकलापलाई अनुशरण गर्दै अन्य मन्त्रीहरुको दिन पनि उद्घाटन र कार्यक्रममा बित्ने गरेको छ । कतिसम्म भने एउटै कार्यक्रममा दुई जना मन्त्री प्रमुख अतिथि समेत बनेर कार्यक्रममा सहभागी भएका छन् । एउटा मन्त्रीले प्रमुख अतिथि आसनबाट भाषण सकेर फिर्ता गएपछि अर्को मन्त्रीले प्रमुख अतिथिकै रुपमा आसन मात्र ग्रहण गरेनन । भाषण समेत गरे । 
भाषणमा प्रदेश नम्बर सातको विकास, समृद्धि र आर्थिक क्रान्तिका चर्का कुरा गर्ने मुख्यमन्त्री र मन्त्रीहरुले आर्थिक विकास र समृद्धिका लागि काम गर्नु त टाढाको कुरा आफ्नै कार्यालयको चुस्त व्यवस्थापन गर्न सकेका छैनन ।
नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सांसद कर्ण मल्लले मुख्यमन्त्री र मन्त्रीहरुले भाषणमा आर्थिक क्रान्तिका चर्का कुरा गरे पनि व्यवहारमा उल्टा देखिएको गुनासो गरे ।
दिनभरी उद्घाटन र कार्यक्रममा व्यस्त रहने मुख्यमन्त्री र मन्त्रीहरुबाट आर्थिक क्रान्ति हुने कुरा जनताले कसरी विश्वास गर्ने ?सांसद मल्लले प्रश्न गर्दै भने, मन्त्रालयको चुस्त र प्रभावकारी व्यवस्थापन र जनतालाई प्रदेश सरकारको अनुभूति दिन २४ सै घण्टा व्यस्त रहनुपर्ने मुख्यमन्त्री र मन्त्रीहरु एकदम फुर्सदिला छन् । एकैदिनमा तीन चार वटा कार्यक्रमको उद्घाटन र त्यसैमा भाषण गर्नमा व्यस्त छन् ।
मुख्यमन्त्री भट्टले कार्यक्रम भन्दा प्रदेश सरकारको काममा आफू बढि व्यस्त रहेको बताए ।

नेपालको सिष्टम त्यस्तै हो, काम गरे गरेन भन्ने काम ग¥यो पनि जस नदिने,मुख्यमन्त्रीले उल्टै गुनासो गरे,म प्रदेशकै विकासका लागि सक्रिय छु ।
उनले कार्यक्रममा मुख्यमन्त्री सबै कार्यक्रममा सहभागी भयो भन्ने सहभागी नभए मुख्यमन्त्री ठूलो भयो भन्ने गुनासो आउने गरेको सुनाए ।
मख्यमन्त्री भट्टले आफू बाहिरका कुनै कार्यक्रममा नै नगएको १५ दिन जति भएको बताए । यद्दपि मुख्यमन्त्री भट्ट शुक्रवार कैलाली बहुमुखी क्याम्पसको वार्षिकोत्सव समारोहमा सहभागी भएका थिए ।
 हामीले थुप्रै काम गरेका छौ । प्रदेश सरकारले अर्थ बिधयेक पास गरेको छ । उनले भने, नीति तथा कार्यक्रम संसदमा छलफलमा छ । बैशाख ५ देखि ७ गतेसम्म बजेट ल्याउदैछौ ।
उनले प्रदेश सरकारलाई संघियता नै चुनौती भएको बताए । मुख्यमन्त्री भट्टले भने, संघियता नै सबैले बुझेका छैनन । बुझाउनु नै ठूलो चुनौती हो । अर्को साधन,स्रोत र बजेटको अभाव पनि प्रदेश सरकार सञ्चालनका चुनौती हुन् ।
प्रमुख राजनैतिक सल्लाहकारको नेम प्लेट हटाईयो
मुख्यमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकारका रुपमा मुख्यमन्त्री कार्यालयमा सक्रिय नरेन्द्र कुँवर ‘बिजय सुन्दर’ को नेम प्लेट गायव भएको छ ।
त्रिलोचन भट्ट मुख्यमन्त्री भएको केही समयपछि उनको प्रमुख सल्लाहकारका रुपमा नरेन्द्र कुँवर ‘बिजय सुन्दर’ लाई पार्टीका तर्फबाट खटाईएको थियो । यद्दपि माओवादी केन्द्रका केही नेताले बिजय सुन्दरले दवाव दिएर प्रमुख सल्लाहकार नियुक्त गर्न लगाएका बताए ।
उनलाई प्रमुख सल्लाहकार बनाउन माओवादी केन्द्रका प्रदेश नम्बर सातका ईञ्चार्ज लेखराज भट्टको समेत सहमती थियो ।
तर उनको नाम लेखेर मुख्यमन्त्रीको कार्यालयभित्रकै एउटा कक्षमा झुड्याइएको नेम प्लेट उनी काठमाण्डौं गएको बेला केही दिन अघि हटाइएको स्रोतले बतायो ।
उनी अधिकांश समय मुख्यमन्त्री भट्टसंगै रहने गरेका थिए । र मुख्यमन्त्रीको कार्यालयमा हावी थिए । 
कानुन नबनी सकेकोले प्रदेश सरकारले आफूखुशी कसैलाई नियुक्त गर्न नसकेको भएपनि मुख्यमन्त्री भट्टले बिजय सुन्दरको दवाव थेग्न नसकेर उनलाई प्रमुख सल्लाहकारका रुपमा स्वीकार गरेर राखेका थिए । स्रोतले भन्योमाथिको दवावमा उनको नेम प्लेट हटाईएको हो ।
मुख्यमन्त्रीले कतिजना नियुक्त गर्न पाउछन ?
प्रदेशको कानुन नबिनसकेकोले मुख्ममन्त्रीले एक जना उपसचिव र अर्को शाखा अधिकृत स्तरको समेत गरी दुई जना स्वकीय नियुक्त गर्न पाउछन् । 
भट्टले स्वकीय सचिवमा शिवसिंह ओलीलाई नियुक्त गरेका छन् । उनले राजपत्रांकित द्धितीय श्रेणी( उपसचिव) सरह सेवा सुबिधा पाउने व्यवस्था छ । नियुक्त भमहान्यायधिवक्ता पनि मुख्यमन्त्रीकै सिफारिसमा गभर्नरले नियुक्त हुने व्यवस्था छ । जस अनुसार कुलानन्द उपाध्याय नियुक्त भईसकेका छन् । 
मुख्य न्यायधिवक्ताले उच्च अदालतको न्यायधिश अनुसार सुबिधा पाउने गरेका छन् ।
मुख्यमन्त्री भट्टले प्रमुख सल्लाहकारका रुपमा कसैलाई नियुक्त नगरिसकेको बताए । कानुन नै नबनेको अवस्थामा कसैलाई नियुक्त गर्ने कुरा भएन । उनले भने, हो, पार्टीका तर्फबाट सल्लाह र सहयोग दिन कोही खट्न सक्छन् । 
आधिकारिक सूचना पाउनै गाह्रो 
मुख्यमन्त्री चयन भएको ५८ दिन हुदा अहिलेसम्म एक पटक पनि मुख्यमन्त्रीको कार्यालयबाट कुनै पनि विषयमा आधिकारिक सूचना बाहिर आएको छैन ।
मुख्यमन्त्री कार्यालयमा सञ्चार हेर्ने गरी दुई जना खटिएका छन् ।
तर उनीहरुलाई न कुनै अधिकार छ ।न जिम्मेवारी नै । न उनीहरु मुख्यमन्त्री कार्यालयका कर्मचारी नै हुन् ।
प्रेस टीम व्यवस्थित नहुदा र सूचना अधिकारीको भूमिका प्रभावकारी नहुदा अहिलेसम्म मुख्यमन्त्रीका कुनै पनि गतिबिधि र क्रियाकलापको आधिकारिक प्रेस नोट बाहिर आउन सकेको छैन ।
उनले मुख्यमन्त्री भएयता थुप्रै देशका राजदूत, दातृ निकायका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष लगायतको टोलीलाई भेटेका छन् । तर उनले अहिलेसम्म कसकसलाई भेटेर के छलफल गरे, स्रोतले भन्यो,छलफलबाट के सहमती भयो । बैठक तथा छलफलबाट के उपलब्धी भयो । त्यो बाहिर ल्याउन सकेका छैन ।
सूचना अधिकारीबाट आधिकारिक सूचना नआउदा मुख्यमन्त्री प्रमुख अतिथि वा सहभागी भएको कार्यक्रम र छलफलको समाचार समाचारमाध्यमहरुमा फरक फरक आउने गरेको छ ।
तर ती फरक फरक समाचारमा पनि मुख्यमन्त्री भट्टको अहिलेसम्म ध्यानाकर्षण भएको छैन ।
मुख्यमन्त्रीका गतिबिधिहरु पारदर्शी हुनुपर्छ, नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले भने, उनले गर्ने निर्णय, उनी सहभागी छलफलको निर्णय र उपलब्धी जनताले तत्काल थाह पाउनुपर्छ । यसले मुख्यमन्त्री स्वयमलाई राम्रो हुन्छ । जनताले पनि उनले के काम गरिरहेका छन् । थाह पाउछन् ।

मुख्यमन्त्रीको कार्यालय धर्मशाला जस्तो

मुख्यमन्त्रीको कार्यालयमा मुख्यमन्त्रीले कसैलाई नियुक्त नगरेको बताएपनि ६ जना भन्दा बढि व्यक्ति सधैजसो मुख्यमन्त्रीकै कार्यालयमा हुन्छन ।
स्रोतका अनुसार न त उनीहरु मुख्यमन्त्री कार्यालयका कर्मचारी हुन् । न त नियुक्ती नै पाएका व्यक्ति । तर उनले साधन र स्रोत भने मुख्यमन्त्री कार्यालयकै उपभोग गर्ने गरेका छन् । 
को आउछन्, को जान्छन, कसले टेलिफोन चलाउछ । कसले कम्प्युटर । त्यसको जानकारी कसैलाई हुदैन, स्रोत भन्छ्, प्रदेश नम्बर सातको मुख्यमन्त्रीको कार्यालयको हालत नै धर्मशालाको जस्तो छ । भने अरुको के हालत होला ।
आफ्नै कार्यालयको यस्तो हालत हुदा मुख्यमन्त्री भने अरु कार्यालय र योजनाको अनुगमन र अवलोकनमा जाने गरेका छन् ।