Close This

फर्जितन्त्रलाई नियन्त्रण गर

आइतबार बैशाख २, २०७५/ Sunday 04-15-18
Paschim Today

कैलाली उद्योग वाणिज्य संघले चुनावको मुखमा करीव एक हजार फर्जी व्यवसायीक फर्म दर्ता गरेको छ । यी सबै फर्म चुनावमा नेतृत्व हत्याउन दर्ता गरिएका हुन् । संघका पछिल्ला तीन निर्वाचनममा यस्तै फर्जी मत निर्णायक भएका कारण यस पटक पनि दोहरिएको     हो । रेकर्ड हेर्दा चैत्र १३ र १४ गते मात्रै धनगढी उपमहानगरपालिकाका विभिन्न वडाहरुमा करिब ७ सयको हाराहारीमा नयाँ व्यवसाय फर्महरु दर्ता भएका छन् । चैत १३ र १४ गते सबैभन्दा बढि ७ सयको हाराहारीमा फर्म दर्ता भएपनि पछिल्लो अबधिमा यसरी ९ सयभन्दा बढि फर्म दर्ता भएका छन् । फर्म दर्ताबाट कैलाली उद्योग वाणिज्य संघलाई ठूलो आम्दानी भएको छ । एउटा व्यवसाय दर्ता गरे वाफत उद्योग बाणिज्य संघ कैलालीले २ हजार ५५ रुपैया लिने गरेको छ । जसमा एकै व्यक्तिको नाममा ५ देखि १४ ओटा व्यवसाय दर्ता भएका छन् । जसबाट वडा कार्यालयहरुको राजश्वमा समेत बृद्धि भएको छ । एउटै व्यक्तिले पान पसल देखि तरकारी पसल अनि जुत्ता पसल देखि जुस सेन्टरसम्म दर्ता गराएका छन् । सो वाफत वडा कार्यालयलाई ६ सय देखि ३ हजारसम्म राजश्व तिरेका छन् । कतिसम्म भने एउटै व्यक्तिले धनगढी उपमहानगरपालिकाका अलग अलग वडाहरुमा व्यवसाय दर्ता गराएका छन् । यसरी चुनाव जित्नकै लागि फर्जि फर्महरु दर्ता हुनु राम्रो होईन यो प्रबृतीको अन्त्य गरिनु पर्छ । उद्योग वाणिज्य संघ कैलालीले गरेको यो फर्जितन्त्रको निरन्तरताले राम्रा पक्षहरुलाई समेत छायाँमा पार्न थालेको छ । कैलाली उद्योग वाणिज्य संघले देशकै उत्कृष्ट संघका रुपमा सम्मानित हुने अवसर समेत पाएको थियो । सुन्दर सुदूरपश्चिमको अभियान कैलाली उद्योग वाणिज्य संघले नै चलाएको हो । यस अभियानले यहाँका पर्यटकिय सम्भावनालाई समेत झल्काएको थियो । यस क्षेत्रमा लाग्ने औधोगिक मेला महोत्सवको आयोजना गर्ने कार्यको सुरुवात कैलाली उद्योग वाणिज्य संघले नै गरेको हो । देशका प्रधानमन्त्री, मन्त्रीहरुलाई ल्याएर यस क्षेत्रका विकासका ऐजेन्डा पुरा गर्ने प्रतिवद्धता गर्न लगाउने कामको सुरुवात पनि कैलाली उद्योग बाणिज्य संघले गरेको हो । यसको जस उद्योग बाणिज्य संघ कैलाली र त्यसमा आवद्ध नेतृत्वलाई दिनैपर्छ । 
यती हुदाहुदै पनि उद्योग बाणिज्य संघ कैलालीले गरेको फर्जितन्त्रको सुरुवातले सबै राम्रा कामलाई छाँयामा पारिदिएको छ । कैलालीमा सुरु भएको फर्जितन्त्रको सिको डोटी, डडेल्धुरा, अछाम, बैतडी लगायतका जिल्लामा समेत भएको छ । त्यसैले यस्तो गलत परंपरालाई निरुत्साहित गर्नका लागि पनि उद्योग बाणिज्य संघ कैलालीले दर्ता भएका फर्जिफर्महरुलाई खारेजीका लागि अग्रसरता लिनै पर्छ । अहिलेको कार्यसमितिले बिगतको गलत कुरालाई बचाउने होईन । गलत परंपरालाई निरुत्साहित गर्नुपर्दछ । सबै किसिमका स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्छ । राम्रा कुराको अनुसरण गर्नुपर्दछ । उद्योग वाणिज्य संघको नेतृत्वमा आउन कसैलाई रोक लगाउने होईन । सहभागिता मुलक र सबैको साझा संस्थाको रुपमा यसलाई स्थापीत गर्नु पर्दछ । हरेक चुनावको मुखमा दर्ता गरिने फर्जिफर्महरुलाई सरोकारवाला निकायले करको दायरामा ल्याउनुपर्छ । ति फर्महरुलाई करको दायरमा मात्रै ल्याउन सके बिगत देखि फष्टाउदै आएको फर्जितन्त्र रोकिने छ ।