Close This

कैलालीमा पनि वन्यजन्तु सप्ताह मनाइदैं

सोमबार बैशाख ३, २०७५/ Monday 04-16-18
Paschim Today
फोटो क्याप्सन ः बर्खा याममा कैलालीको नदीमा देखिने दुर्लभ वन्यजन्तु डल्फिन । 

पश्चिम टुडे, धनगढी, बैशाष ३ ।
संरक्षण क्षेत्रभन्दा बाहिर वन्यजन्तुको उपस्थिति राम्रो रहेको कैलालीमा पनि विविध कार्यक्रम गरी २३ औं राष्ट्रिय वन्यजन्तु संरक्षण सप्ताह मनाइदैछ ।
    समुदाय र विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रम गरेर राष्ट्रिय वन्यजन्तु संरक्षण सप्ताह मनाइ रहेको संरक्षणकर्मी हिरुलाल डङ्गौराले जानकारी दिए । वन तथा वन्यजन्तु संरक्षणमा स्थानीयको सहभागिता बढेसंगै कैलालीको विभिन्न सामुदायिक वनहरुमा वन्यजन्तुको उपस्थिति राम्रो भएको छ । 
    वन्यजन्तु देख्ने वित्तिकै शिकार गर्न खोज्ने स्थानीयहरु अचेल संरक्षणमा जुटेपछि वन्यजन्तुको चहलपहल बढ्न थालेको हो । बसन्ता कोरीडोर सहित भजनी नगरपालिकामा रहेको वनदेवी सामुदायिक वन, पशुपति, राधाकृष्ण, सुन्दरी सामुदायिक वन लगायतमा वन्यजन्तुहरु बढेका छन् । यी सामुदायिक वनहरुमा चितुवा, सालक, निलगाई, हरिन, खरायो, बंदेल जस्ता वन्यजन्तुको उपस्थिति राम्रो भएको जनाइएको छ । 
    भजनी क्षेत्रमा रहेको प्रायः सामुदायिक वनमा वन्यजन्तुको चहलपहल बढेको समुदायमा आधारित चोरी शिकारी नियन्त्रण कार्य दलका संयोजक अन्तराम चौधरीले बताए । 
    भारतको दुधुवा नेशनल पार्कबाट समेत वन्यजन्तुको ओहोर दोहोर भइरहने भएकाले विभिन्न सामुदायिक वनमा वन्यजन्तु बढेका छन् । संरक्षणकर्मीहरुका अनुसार नेपाल–भारत सीमा क्षेत्रतिर बाघको समेत ओहोर दोहोर भइरहने गरेको छ । चैत महिनाको अन्तिमतिर सो क्षेत्रमा पाटेबाघ देखिएको थियो । 
    सुन्दरी, चौतारा, कालिका सामुदायिक वनमा निलगाई बढेको स्थानीय संरक्षणकर्मी विजयराज श्रेष्ठले जानकारी दिए ।  
    भारतको दुधुवा नेशनल पार्क नजिक रहेको बसन्ता कोरीडरमा वन्यजन्तुको चहल पहल घट्दै गएको बेलामा सामुदायिक वनमा भने वन्यजन्तु बढ्दै गएको स्थानीयको दावी छ । सामुदायिक वनमा चोरी शिकार गर्न बन्देज गरिएको छ । तर, राष्ट्रिय वनमा खुलेयाम वन्यजन्तुको शिकार हुने गरेको छ ।  
    भजनी क्षेत्रमा अहिले चोरी शिकार शून्यमा झरेको संरक्षणकर्मी हिरुलाल डङ्गौरा बताउँछन् । ‘यहाँका विभिन्न सामुदायिक वनमा शून्य चोरी शिकार भएकाले वन्यजन्तुको अवस्था सन्तोषजनक भएको हो’, उनले भने–‘केहि वर्षयता चोरी शिकारको घटना फेला परेको छैन ।’ वन्यजन्तु संरक्षणका लागि समुदायका मानिस सचेत बन्दै गएको उनले बताए ।  
    कैलालीको विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल क्षेत्र विभिन्न प्रजातिका चरा र भजनी क्षेत्र वन्यजन्तुको लागि राम्रो मानिएको छ । यसैगरी, कैलालीकै टीकापुर नगरपालिका स्थित बैदीमा बर्खा याममा डल्फिन अवलोकनका लागि प्रसिद्ध छ । मोहना, पथरैया, काँढा लगायतका नदीहरु र यी नदीहरुको संगम स्थानमा बर्खाभरी डल्फिन देखिन्छन् । सो क्षेत्रमा पनि संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम भइरहेको छ ।