Close This

तीन सरकारी कार्यालयमा मन्त्रीको छड्के

आवश्यक विवरण बुझाउन सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन

सोमबार बैशाख ३, २०७५/ Monday 04-16-18
Paschim Today

पश्चिम टुडे, धनगढी, बैशाष ३ ।
चरम ढिलासुस्ती र पैसाको बढी चलखेल हुने भनिएका तीन सरकारी कार्यालयमा प्रदेश ७ की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले आइतवार छड्के अनुगमन गरेकी छन् ।    
जनगुनासो बढेपछि मन्त्री चौधरी, सचिव हरिहर अधिकारीलगायतको टोलीले जिल्ला मालपोत, नापी र भूमि सुधार कार्यालयको अनुगमन गरेको हो । अनुगमनको क्रममा मन्त्री चौधरीले सेवाग्राहीबाट ती कार्यालयहरुबाट प्रवाह हुने सेवाको अवस्था बुझेकी थिइन् । उनले केहि दिनभित्रै कार्यालयहरुको अवस्था तथा समस्या समाधानको लागि आवश्यक विवरण बुझाउन सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिइन् । 
‘जनगुनासो बढी आयो, तपाईंहरुको समस्या के हो ? सेवाग्राहीलाई कसरी छिटो छरिटो रुपमा सेवा दिन सकिन्छ ?, मलाई दुई÷तीन दिनभित्रै यहाँको अवस्थावारे विवरण दिनुस,’ कार्यालय प्रमुखहरुलाई निर्देशन दिदै मन्त्री चौधरीले भनिन्, ‘हामी नयाँ व्यवस्थाको कुरा गर्छौं, तर तपाईंहरुको काम गर्ने शैली उहि पुरानै छ, यहि अवस्थाले हामीले भन्ने गरेको सिंहदरवारको सेवा जनताको घरदैलोमा कसरी पु¥याउन सक्छौं ?’
यसैबीच साविकको लागि मालपोत कार्यालय पुगेका धनगढी उपमहानगरपालिका–१२ का जनक जोशीले विहानदेखि लाइनमा बसेर पनि सेवा नपाएको मन्त्री चौधरीसँग गुनासो पोखे । कर्मचारी र राजनीतिक दलको नेता कार्यकर्ताहरुलाई क्षणभरमा सेवा दिने गरेको तर सर्वसाधारणहरुले दिनभरी लाइनमा बस्नुपर्ने बाध्यता रहेको भन्दै उनले मन्त्री समक्ष आक्रोस पोखे । 
मन्त्रीले चौधरीले तत्काल ‘टोकन सिस्टम’ बाट सेवा प्रवाह गर्नुपर्ने र सीसी क्यामेरा जडान गरी सेवा दिन निमित्त मालपोत अधिकृत मनोहर श्रेष्ठलाई निर्देशन समेत दिइन् । निमित्त मालपोत अधिकृत श्रेष्ठले कम्युटर अभाव र केही जनशक्ति अभावले सेवा प्रवाहमा कठिनाइ भएको उल्लेख स्पष्टीकरण दिएका थिए । 
त्यस्तै, मन्त्री चौधरी भूमि सुधार प्रमुखसंग आक्रोशित मुद्रामा प्रस्तुत भइन् । उनले मुक्त कमैयाहरुलाई सेवाको नाममा दुःख मात्रै दिएको भन्दै तत्काल प्रभावकारी सेवा दिन निर्देशन दिइन् ।
‘मुक्त कमैयाहरुलाई जग्गाको नाममा खोला, नदी किनारमा जग्गा दिइएको छ, लालपूर्जा छ, जग्गा छैन, यो के हो ?’ उनले भनिन् ‘घर बनाउन काठ या काठको सट्टा पैसा दिइन्छ । तर कागजी रुपमा मात्रै काठ दिइएको देखिएको छ, यथार्थ रुपमा अझै नपाएको गुनासो आएको छ । दुई दिनभित्र यथार्थ विवरण मलाई उपलब्ध गराउनुस् ।’
पछिल्लो समय मालपोत, भूमि सुधार र नापी कार्यालयप्रतिको जनगुनासो बढ्दै गएको छ । घुसको पैसामा कुरा नमिल्दा गत फागुन १७ गते कार्यालय समयमा रक्सी पिएर आपसमा कुटाकुट गरी होहल्ला गर्ने जिल्ला मालपोत र नापी कार्यालयका चार जना कर्मचारीहरु निलम्बनमा परेका थिए । 
मालपोत कार्यालयका नायव सुब्बा पूर्णानन्द जोशी, खरिदार ज्ञानेन्द्र ओझा, नापी कार्यालयका सर्वेक्षकद्वय विरेन्द्र सिंह र महादेव जोशीलाई निलम्बन गरिएको थियो । साथै उनीहरुलाई सहयोग गर्ने लेखापढी कानून व्यवसायी नवराज जोशी र नापीका प्रयोत्गात्मक विद्यार्थी सागर कुवँरलाई पनि कारवाही गरिएको थियो ।