Close This

साढे चार हजार बालबालिका विद्यालय बाहिर

विद्यालय छोड्ने दर बढ्दो 

सोमबार बैशाख ३, २०७५/ Monday 04-16-18
Paschim Today
फोटो क्याप्सन ः कैलालीका मुक्त कमैया परिवारका बालबालिकालाई विद्यालयमा टिकाउनका लागि शैक्षिक सामग्रीको सहयोग । (फाइल फोटो)

पश्चिम टुडे, धनगढी, बैशाष ३ । नयाँ शैक्षिकसत्रमा हरेक वर्ष विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आए पनि कैलालीमा विद्यालय जाने उमेरका करिब चार हजार पाँच सय बालबालिका विद्यालय बाहिर रहेका छन् । विभिन्न प्रयासका बाबजुद पनि विद्यालयको पहुँचमा आउन नसकेका बालबालिकाहरु विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालय कैलालीले जानकारी दिएको छ । हाल विद्यालय आइरहेको कुल सङ्ख्याको तीन प्रतिशत उमेर पुगेका बालबालिकाहरु विद्यालय नआएको विद्यालय निरीक्षक लोकेन्द्रप्रसाद भट्टले जानकारी दिए ।  

जिल्लाभरी रहेको ५७२ वटा सामुदायिक विद्यालयमा करिब एक लाख ५० हजार विद्यार्थी १ देखि १२ कक्षामा अध्ययन गरिरहेका छन् । यसैगरी, ८० हजारको हाराहारीमा संस्थागत विद्यालयमा अध्ययनरत छन् । कैलालीमा संस्थागत विद्यालयको सङ्ख्या ३४८ रहेको छ ।  विद्यालय जाने उमेरका सतप्रतिशत बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने उद्देश्य रहे पनि अहिलेसम्म पूरा हुन नसकेको विद्यालय निरीक्षक बताए । ‘तर, हरेक वर्ष विद्यालय बाहिर रहेका बालबालिकाको सङ्ख्या घट्दै गएको छ’, उनले भने–‘विस्तारै कम हुँदै जाने अपेक्षा गरेका छौं । विद्यालय बाहिर रहेको बालबालिका सङ्ख्या ० दशमलव ५ प्रतिशतसम्म झार्न सकिन्छ भने त्यसलाई पनि धेरै उपलब्धी मान्न सकिन्छ ।’

विद्यालय छोड्ने दर बढ्दो 

कैलालीमा विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयको पहुँचमा ल्याउनु भन्दा पनि सरकारी विद्यालय रहेका विद्यार्थीहरुलाई टिकाउन चुनौती सावित भएको छ । हरेक शैक्षिक सत्रमा विद्यार्थीले विद्यालय छोड्नेक्रम बढेकाले उनीहरुलाई विद्यालयमा टिकाई राख्न चुनौती देखिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विगत केहि वर्ष यताको शैक्षिकसत्रमा विद्यार्थीले वार्षिक परीक्षा अगावै विद्यालय छोड्नेक्रम बढेको विद्यालय निरीक्षक भट्टले बताए । 

जिल्ला शिक्षा कार्यालयका अनुसार शैक्षित्र सत्र २०७३ मा प्राथमिक तहबाट सबैभन्दा बढी ५ प्रतिशत विद्यार्थीले वार्षिक परीक्षा दिनु अगावै विद्यालय छोडेका थिए । यसैगरी, निम्न माध्यमिक तहमा अध्ययनरत ४ दशमलव ८ र माध्यमिक तहमा पढ्ने ४ दशमलव ३ प्रतिशत विद्यार्थीले वार्षिक परीक्षा नदिएर विद्यालय छोडेका थिए । अध्ययनकै क्रममा ‘ड्रप आउट’ हुने विद्यार्थी प्रतिशत वर्सेनि बढेको विद्यालय निरीक्षक भट्टको भनाइ छ । विद्यार्थीले बीचमै विद्यालय छोड्नुको कारण उनीहरुको व्यक्तिगत समस्याका साथै संस्थागत विद्यालयप्रतिको मोह हुन सक्ने बताइएको छ । प्राथमिक तहमा अध्ययनरत धेरै विद्यार्थीहरुलाई उनीहरुका अभिभावकले सरकारी विद्यालयबाट संस्थागत विद्यालयमा भर्ना गर्नेक्रम पनि बढेको छ । यसका साथै, नयाँ पुस्तामा बढेको बालविवाह र प्रेम विवाह मोह पनि विद्यालय छोड्नुको कारण बनेको बुद्धिजिवी चन्द्र चौधरी बताउँछन् । 

‘पछिल्लो समय अध्ययनकै क्रममा माया प्रेममा फस्ने र भागेर विवाह गर्ने चलन ह्वात्तै बढेको छ’, उनले भने–‘यस्तो अवस्थामा केटा र केटी दुवै जनाले पढ्न सकेका छैनन् । उनीहरुले बीचमै विद्यालय छोडेको देखिन्छ ।’

विद्यार्थी भर्ना अभियान सुरु  

शिक्षाको पहुँच भन्दा बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउने उद्देश्यले आइतवारदेखि विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ । 

देशव्यापी नियमित कार्यक्रम अन्तर्गत यहाँ पनि विद्यार्थी भर्ना अभियान सुरु गरिएको हो । दुई चरणमा छुट्टयाइएको विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत वैशाख २ देखि १४ गतेसम्म विद्यालय भर्ना भएका विद्यार्थीहरुलाई फूल, अबिरले स्वागत गर्ने र पुस्तक प्रदान गरिने जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । यसैगरी, यहि अवधिमा शिक्षक, अभिभावक, जनप्रतिनिधि लगायत सरोकारवालाहरुले विद्यार्थी भर्नाका लागि एक आपसमा समन्वय र सहयोग गर्ने जनाइएको छ । विद्यार्थी भर्ना कार्यक्रमको दोस्रो चरण अन्तर्गत वैशाख १५ देखि ३० गतेसम्म विद्यालयहरुले आफ्नो पकड क्षेत्रमा घरदैलो गरेर बालबालिकाहरुलाई विद्यालयमा ल्याउन पहल गर्ने विद्यालय निरीक्षक भट्टले जानकारी दिए । विद्यालयको पहुँचभन्दा बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्नका लागि विभिन्न सरोकारवाला निकायले पनि सहयोग गर्ने उनले जानकारी दिए । यसका साथै विद्यालयहरुमा विविध कार्यक्रम पनि हुनेछ । विद्यार्थीहरुलाई वितरण गर्नका लागि पर्याप्त पाठ्यपुस्तक आइपुगेकाले उनीहरुलाई भर्नाकै क्रममा हातहातै पुस्तक उपलब्ध गराइने जनाइएको छ । विगत वर्षमा विद्यार्थीले समयमै पुस्तक पाउन नसके पनि यो वर्ष त्यस्तो समस्या नआउने विद्यालय निरीक्षक भट्टले दावी गरे ।  ‘कैलालीका लागि पर्याप्त मात्रामा पाठ्यपुस्तक आइपुगेको छ’, उनले भने–‘नयाँ शैक्षिकसत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीहरुलाई हातहातै पाठ्य पुस्तक प्रदान गरिन्छ ।’