बसन्तामा हुलाकी सडक विस्तारमा ढिलाई

कटैनी खोलादेखि बसन्ता रेञ्जपोष्टको कार्यालयसम्म अहिलेसम्म कुनै पनि काम हुन सकेन

बुधबार बैशाख ५, २०७५/ Wednesday 04-18-18
Paschim Today
फोटो क्याप्सन ः हुलाकी सडक विस्तारका लागि बसन्ता कोरीडोरमा डीपीआर भएको क्षेत्र । 

पश्चिम टुडे, धनगढी, बैशाष ५ ।कैलालीको बसन्ता कोरीडोर अन्तर्गत दुई किलोमिटर क्षेत्रमा हुलाकी सडक विस्तार कार्यमा ढिलाई भएको छ ।  वन मन्त्रालयले रुख कटानको आदेश नदिएपछि दुई किलोमिटर क्षेत्रमा हुलाकी सडक विस्तारमा ढिलाई भएको हो । कटैनी खोलादेखि बसन्ता रेञ्जपोष्टको कार्यालयसम्म अहिलेसम्म कुनै पनि काम हुन नसकेको हुलाकी सडक आयोजना धनगढीले जानकारी दिएको छ । 
    बसन्ता कोरीडोर अन्तर्गतकै १६ किलोमिटर खण्डमा भने सडक विस्तारको कार्य भइरहेको छ । कटैनी खोलादेखि बसन्ता रेञ्जपोष्टसम्मको क्षेत्रमा रुख कटानको आदेश अझैसम्म नमिलेको आयोजनाका सव–इञ्जिनीयर वीरबहादुर कोलीले जानकारी दिए । 
    ‘वन मन्त्रालयले रुख कटानको अनुमति अझै दिएको छैन’, उनले भने–‘अनुमति प्राप्त नहुँदा काम पनि अगाडि बढ्न सकेको छैन । हामी अनुमतिको पर्खाईमा छौं ।’
    वन मन्त्रालयले बस्ती भएको तर्फबाट सडक विस्तारको अनुमति दिएको छ । तर, हुलाकी सडकको डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन अहिलेसम्म रुख कटानको आदेश नमिलेको क्षेत्रमा भएको छ । 
    बसन्ता जैविकमार्गमा हुलाकी सडकको लम्बाई १८ किलोमिटर रहनेछ । हाल १६ किलोमिटर क्षेत्रमा कुलदीप–परेरा–चन्द्रा बसन्ता जेभीले सडक निर्माणको काम गरिरहेको छ । आउँदो आर्थिक वर्षमा १६ किलोमिटर खण्डमा सम्भवतः सडक कालोपत्रे हुने सव–इञ्जिनीयर कोलीले बताए । बसन्ता अन्तर्गत १८ किलोमिटरमा सडक बनाउन करिब ३२ करोड बजेट खर्च हुने जनाइएको छ । 
    यसैगरी, विवादकै कारण रोकिएको धनगढीको क्याम्पस रोडदेखि पश्चिम त्रिनगर भन्सारसम्म चालू आर्थिक वर्षबाटै हुलाकी सडक विस्तारको कार्य सुरु हुने जनाइएको छ । विवादले रोकिएको छ किलोमिटरमा सडक विस्तारका लागि ठेक्का भइसकेको र केहि दिनभित्रै बस्ती नभएकोतर्फ काम सुरु हुने सव–इञ्जिनीयर कोलीले बताए । धनगढीमा हुलाकी सडक निर्माण गर्न करिब १५ करोड रुपैया बजेट खर्च हुने अनुमान गरिएको छ । यसअघि, धनगढीकै क्याम्पस रोडदेखि पूर्व क्षेत्रमा भारत सरकारको लगानीमा हुलाकी सडक विस्तार भएको थियो ।  
कैलालीमा जम्मा ९५ दशलव २ किलोमिटर दूरी रहने हुलाकी सडक अब २४ किलोमिटरमात्रै विस्तार हुन बाँकी रहेको छ । ७१ दशमलव २ किलोमिटर सडक भारत सरकारको सहयोगमा भारतीय निर्माण कम्पनीले निर्माण गरेको थियो । विस्तार हुन बाँकी रहेको सडक अब नेपाल सरकारको लगानीमा बन्ने हुलाकी सडक आयोजनाले जानकारी दिएको छ ।