Close This

उचाईको किचलोले पाँच वर्षसम्म बनेन पुल

पानी नै नबग्ने पवेरा नालामा पुल बनाउनका लागि चार मिटर अग्लो पिल्लर

बुधबार बैशाख ५, २०७५/ Wednesday 04-18-18
Paschim Today

पश्चिम टुडे, धनगढी, बैशाष ५ । पुलको उचाईलाई लिएर केहि स्थानीयले विरोध जनाएपछि कैलालीको पवेरा नालामा पाँच वर्ष अघि सुरु भएको पुल निर्माणको कार्य अगाडि बढ्न सकेको छैन । आर्थिक वर्ष २०६९-०७० मा ठेक्का भइ सुरुवाती काम भए पनि उचाईको किचलोले ठप्प भएको निर्माणको कार्य अगाडि बढ्न नसकेको हो । पानी नै नबग्ने पवेरा नालामा पुल बनाउनका लागि चार मिटर अग्लो पिल्लर ठ¥याइएपछि केही स्थानीयले विरोध जनाएका थिए । उनीहरुले उचाई कम गर्नु पर्ने अडान राख्दै आएका छन् । 
    २० मिटर लम्बाई रहेको सो पुल निर्माणका लागि महादेव खिम्ती–६ हेमन्त–स्वाँर जेभीले संयुक्त रुपमा ठेक्का पाएर ६ हेमन्तले काम सुरु गरेको थियो । तर, उचाई घटाउनु पर्ने अडान सहित स्थानीयले विरोध जनाएपछि दुई वटा पिल्लरमात्रै बनाएर निर्माण कम्पनीका ठेकेदार भागेका थिए । 
    हुलाकी सडक अन्तर्गत बन्ने उक्त पुलको १५ महिने निर्माण अवधि २०७१ साल चैतमै सकिएको छ । पुल लागत खर्च एक करोड चार लाख रुपैया रहेको छ । ठेकेदार भागेपछि निर्माणाधीन पुल अलपत्र अवस्थामा रहेको छ ।  स्थानीयले माग गरे अनुसार पुलको उचाई घटाएर दुई मिटर कायम गर्ने पहल भए पनि विभागले नमानेको जनाइएको छ । विभागले उचाई घटाउन नमानेपछि पुरानै डिजाइन अनुसार पुल बनाउनुको अर्को विकल्प नरहेको हुलाडी सडक आयोजना धनगढीका सव–इञ्जिनीयर वीरबहादुर कोली बताउँछन् । 
    ‘स्थानीयको माग अनुसार उचाई घटाएर दुई मिटर कायम गर्न हामीले विवरण पठाएका थियौं, तर, विभागले मानेन’, उनले भने–‘विभागले नै हुन्न भनेपछि अब पुरानै डिजाइनमा पुल निर्माण गर्नुको कुनै विकल्प छैन ।’ 
    पवेरा नालामा स्थानीयले नै पुल माग गरेपछि आर्थिक वर्ष २०६६÷०६७ मा सर्वेक्षण गरेर केन्द्रीय योजना अन्तर्गत बनाउने सर्वसम्मती भएको थियो । तर, पिल्लर ठ¥याए लगत्तै अग्लो भएको भन्दै स्थानीयले विरोध जनाए । पानी नबग्ने खोलामा पिल्लरवाला पुलको माग गर्नु र सर्वेक्षण गरेर माग अनुसारको पुलको स्वीकृति दिने यी दुवै कार्यमा कमीकमजोरी भएको देखिन्छ । 
चार मिटर अग्लो पुल बनेमा आसपासका घरहरुलाई समस्या हुने स्थानीय रामकुमार महतो बताउँछन् । उनले पुलको उचाई घटाउनु पर्ने स्थानीयवासीको अडान रहेको जनाए । ‘यो नालामा यस्तो अग्लो पुलको आवश्यकता छैन’, उनले भने–‘हामीलाई पुल चाहिएकै हो । तर, अग्लो पुलको कारण छेउछाउको घरमा समस्या होईन । जबसम्म उचाई घट्दैन, तबसम्म यहाँ पुल बन्दैन ।’
    उचाईकै किचलोलाई लिएर निर्माणको काम रोकेर भागेका ६ हेमन्त निर्माण कम्पनीका ठेकेदार पाँच वर्षसम्म पनि हुलाकी सडक आयोजना कार्यालयको सम्पर्कमा आएनन् । एकातिर उचाईका कारण स्थानीयको विरोध र अर्कोतिर ठेकेदार नै भागेपछि निर्माणाधीन पवेरा नाला पुल अलपत्र अवस्थामा छ ।  हुलाकी सडक निर्माण आयोजनाले ठेकेदारलाई सम्पर्कमा आउनका लागि पटक–पटक सूचना समेत जारी गरेको थियो । गत चैतमा कारबाहीको चेतावनी सहित सूचना प्रकाशित गरेपछि साझेदार निर्माण कम्पनी स्वाँर जेभी सम्पर्कमा आएको सव–इञ्जिनीयर कोलीले जानकारी दिए ।   
    यसैबीच, पाँच वर्षदेखी रोकिएको निर्माण कार्यलाई अगाडि बढाउनका लागि पहल गरिएको छ । प्रतिनिधि सभा सदस्य नारदमुनि राना र प्रदेश सभा सदस्य नेपालु चौधरीले स्थानीय सहित सरोकारवालासंग छलफल गरेर निर्माण कार्य अगाडि बढाउनका लागि पहल गरेका छन् । उक्त पुललाई स्वाँर जेभीका लक्ष्मण स्वाँरले बनाउने प्रतिबद्धता जनाएकाले निर्माण कार्यलाई तत्काल अगाडि बढाउने निर्णय समेत गरिएको छ । तर, सांसद उपस्थित निर्णयमा समेत केहि स्थानीयले असहमति जनाएको सव–इञ्जिनीयर कोलीले जानकारी दिए ।   उनले चालू आर्थिक वर्षमै निर्माणको काम अगाडि बढ्ने पनि दावी गरे । ‘स्वाँर जेभीले काम अगाडि बढाएपछि म्याद थप्ने प्रक्रिया थाल्छौं’, उनले भने–‘सम्भवतः छिट्टै निर्माणको काम अगाडि बढ्छ ।’
    हुलाकी सडक अन्तर्गत धनगढीदेखि पूर्व सत्तीसम्म विभिन्न खोला नालामा अहिलेसम्म नौ वटा पुल निर्माण भइसकेको छ । हाल पवेरा नाला, कान्द्रा नदीको पुल निर्माण कार्य पूर्ण रुपमा बाँकी रहेको छ । यस्तै, कटैनी खोलाको पुलको केहि काम बाँकी रहेको छ । 
    कान्द्रा नदीमा ९९ मिटर पुल निर्माणका लागि २०६७÷०६८ मा लामा–साल्पा शेर्पा–विरुवा जेभीले ठेक्का पाएको थियो । तर, पहिलो डिजाइनमा पुल नबनेपछि पुनः डिजाइन गर्दा निर्माण कार्यमा ढिलाई भएको छ । पुलको पहिलो निर्माण अवधि असारमा सकिदैंछ । हाल दोस्रो डिजाइन अनुसार पुल निर्माणको कार्य सुरु भएको हुलाकी सडक आयोजनाले जानकारी दिएको छ । 
फोटो क्याप्सन ः पवेरा नालामा निर्माणाधीन पुल ।