Close This

जनप्रतिनिधि बने अनाथको अभिभावक

बिहीबार बैशाख ६, २०७५/ Thursday 04-19-18
Paschim Today
फोटो क्याप्सन ः अभिभावकत्व ग्रहण गरेपछि विपना परियारलाई पुस्तक हस्तान्तरण गर्दै कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी । 

पश्चिम टुडे, धनगढी, बैशाख ६ । कैलालीको कैलारी गाउँपालिकास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत तीन जना अनाथ बालिकाले अभिभावक पाएका छन् । 
    नयाँ शैक्षिक सत्रमा भइरहेको विद्यार्थी भर्ना अभियानको क्रममा उनीहरुले अभिभावक पाएका हुन । तिनै जना बालिकाको अभिभावकत्व जनप्रतिनिधिले ग्रहण गरेका छन् । बुधवार आयोजित औपचारिक कार्यक्रमकाबीच प्रदेश सांसद वीरमान चौधरीले कक्षा ८ मा अध्ययनरत छात्रा प्रेरणा बोहरा, कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले ६ मा अध्ययनरत छात्रा विपना परियार र वडा नम्बर २ का वडा अध्यक्ष सन्तु चौधरीले कक्षा ७ मा अध्ययनरत शिवानी चौधरीको अभिभावकत्व ग्रहण गरे । प्रदेश सांसद सहित गाउँपालिकाका जनप्रतिनिधिले तिनै जना बालबालिकाको आधारभूत तहसम्मको शिक्षादिक्षाको जिम्मेवारी लिने गरी अभिभावक बनेको विद्यालयका प्रधानाध्यापक जीतबहादुर रावतले बताए ।  यसैगरी, सांसद चौधरीले आफूले अभिभावकको जिम्मेवारी बहन गर्न पाउँदा गर्व महसुस भएको बताए । विपन्न तथा असहाय भएकै कारण कोहि पनि शिक्षाबाट बञ्चित हुन नपरोस भनेर अभिभावक स्वीकार गरेको उल्लेख गरे । 
कैलारी गाउँपालिका–२ लक्कडकी प्रेरणाले सानैमा आमा बुवा गुमाएपछि आफन्तको घरबाट अध्ययन गर्दै आउनु भएको छ । रामपुरकी विपनाले पनि सानैमा अभिभावक गुमाएपछि आफन्तको घरबाटै अध्ययन गरिरहनु भएको छ । रानामुडाकी शिवानीले बुवा आमा गुमाएपछि उहाँको संरक्षण दृष्टीबिहीन हजुर बुवाले गर्दै आउनु भएको छ । जनप्रतिनिधिलाई अभिभावक पाएपछि तिनै जना बालिका खुशी भएका छन् । उनीहरुले मिहिनेतका साथ अध्ययन गर्ने बताएका छन् ।