Close This

पुल निर्माणमा अर्थहीन किचलो

बिहीबार बैशाख ६, २०७५/ Thursday 04-19-18
Paschim Today

कैलालीको पवेरानामा निर्माणधिन पुललाई लिएर भैरहेको अर्थहिन किचलो भैरहेको छ । सोही किचलोका कारण पाँच बर्ष देखि पुल निर्माण हुन सकिरहेको छैन । पुलको उचाईलाई लिएर केहि स्थानीयले विरोध जनाएपछि पुल निर्माणको कार्य अगाडि बढ्न सकेको छैन । आर्थिक वर्ष २०६९÷०७० मा ठेक्का भइ सुरुवाती काम भए पनि उचाईको किचलोले ठप्प भएको निर्माणको कार्य अगाडि बढ्न नसकेको हो । पानी नै नबग्ने पवेरा नालामा पुल बनाउनका लागि चार मिटर अग्लो पिल्लर ठ¥याइएपछि केही स्थानीयले विरोध जनाएका थिए । उनीहरुले उचाई कम गर्नु पर्ने अडान राख्दै आएका छन् । २० मिटर लम्बाई रहेको सो पुल निर्माणका लागि महादेव खिम्ती–६ हेमन्त–स्वाँर जेभीले संयुक्त रुपमा ठेक्का पाएर ६ हेमन्तले काम सुरु गरेको थियो । तर, उचाई घटाउनु पर्ने अडान सहित स्थानीयले विरोध जनाएपछि दुई वटा पिल्लरमात्रै बनाएर निर्माण कम्पनीका ठेकेदार भागेका थिए । 
हुलाकी सडक अन्तर्गत बन्ने उक्त पुलको १५ महिने निर्माण अवधि २०७१ साल चैतमै सकिएको छ । पुल लागत खर्च एक करोड चार लाख रुपैया रहेको छ । ठेकेदार भागेपछि निर्माणाधीन पुल अलपत्र अवस्थामा रहेको छ ।  स्थानीयले माग गरे अनुसार पुलको उचाई घटाएर दुई मिटर कायम गर्ने पहल भए पनि विभागले नमानेको जनाइएको छ । विभागले उचाई घटाउन नमानेपछि पुरानै डिजाइन अनुसार पुल बनाउनुको अर्को विकल्प नरहेको हुलाडी सडक आयोजनाले जनाएको छ ।
‘स्थानीयको माग अनुसार उचाई घटाएर दुई मिटर कायम गर्न हामीले विवरण पठाएको भएपनि विभागले मानिरहेको छैन । विभागले नै हुन्न भनेपछि अब पुरानै डिजाइनमा पुल निर्माण गर्नुको कुनै विकल्प नभएको हुलाकी सडक आयोजनाले बताउदै आएको छ । पवेरा नालामा स्थानीयले नै पुल माग गरेपछि आर्थिक वर्ष २०६६÷०६७ मा सर्वेक्षण गरेर केन्द्रीय योजना अन्तर्गत बनाउने सर्वसम्मती भएको थियो । तर, पिल्लर ठ¥याए लगत्तै अग्लो भएको भन्दै स्थानीयले विरोध जनाए । पानी नबग्ने खोलामा पिल्लरवाला पुलको माग गर्नु र सर्वेक्षण गरेर माग अनुसारको पुलको स्वीकृति दिने यी दुवै कार्यमा कमीकमजोरी भएको देखिन्छ । 
चार मिटर अग्लो पुल बनेमा आसपासका घरहरुलाई समस्या हुने जिकिर स्थानीयको छ । त्यसैले पुलको उचाई घटाउनु पर्ने स्थानीयवासीको अडान रहेको छ । उचाईकै किचलोलाई लिएर निर्माणको काम रोकेर भागेका ६ हेमन्त निर्माण कम्पनीका ठेकेदार पाँच वर्षसम्म पनि हुलाकी सडक आयोजना कार्यालयको सम्पर्कमा आएका छैनन् । एकातिर उचाईका कारण स्थानीयको विरोध र अर्कोतिर ठेकेदार नै भागेपछि निर्माणाधीन पवेरा नाला पुल निर्माणको काम अनिश्चीत बनेको छ  । यसरी अर्थहिन किचलो झिकेर निर्माण कार्य स्थानीयले रोक्नु हुदैन । पहिलो कुरो त पानी नै नबग्ने नालामा किन पुल माग गरियो । माग गरिएपनि आवश्यकता नै नभएको ठाउँमा आयोजनाले किन पुल निर्माणको निर्णय ग¥यो । त्यसैले कहिले पनि जनताको आवश्यकतामा आधारित भएर योजना बनाउनु पर्छ । यही कुराको सन्देश पवेरा नालाको पुल निर्माणले दिएको छ ।