Close This

अहिले नबोले कहिले बोल्ने ?

सन्दर्भ : कैलाली उद्योग वाणिज्य संघको निर्वाचन

शुक्रबार बैशाख ७, २०७५/ Friday 04-20-18
Paschim Today



दीर्घराज उपाध्याय/
’सर्वप्रथम उनीहरु समाजवादी सिध्याउन आए,
तर म चूपचाप रहेँ
किनभने म समाजवादी थिईँन 
अनि उनीहरु मजदुर संगठकलाई लिन आए,
म चूपचाप रहेँ किनभने
म मजदुर संगठकको सदस्य थिइँन ।
फेरि उनीहरु यहुदीहरुलाई लिन आए,
अनि म मौन रहेँ
किनभने म यहुदी थिईन ।
अनि, उनीहरु मलाई नै लिन आए,
अनि त्यतिबेला मेरालागि बोली दिने कोही बाँकी थिएन ।’
पास्टर मार्टिन निएमोलर (१८९२–१९८४) को यो चर्चित कविता धेरै प्रसंग र सन्दर्भहरुमा उल्लेख भएको छ । मार्टिनले जुन सन्दर्भमा यो कविता लेखे, त्यो तात्कालिक परिस्थितिको उपज थियो । 
यतिबेला यो कविता कैलाली उद्योग वाणिज्य संघको बर्तमान अवस्थासंग मेल खान्छ । हिजो ठूलो संख्यामा ती मान्छेहरु चुप लागे, जसको व्यवसाय बाहेक अर्को कुनै कर्म थिएन । ती मान्छेहरु मौन रहे, जसले व्यवसाय बाहेक अरु केही गरेनन । ठूलो पंक्ति मौन रहदा केही व्यक्तिले उद्योग वाणिज्य संघ मनोमानी ढंगले चलाए । त्यसको परिणाम के आयो ? प्रष्ट छ ।
व्यवसायीको हकहीत, उत्थान र अधिकारका लागि सक्रिय रहनुपर्ने कैलाली उद्योग वाणिज्य संघ मार्फत कहिले कोही व्यवसायी शिकार भए । कहिले कोही । तर अरु शिकार हुदा म किन बोल्ने ? त्यसको शिकार म भएको छैन, मलाई के फरक पर्छ र ? म किन बोलु भनेर जो जो व्यवसायीहरु चुपचाप हेरीरहे । विस्तारै शिकार हुने पालो तिनको पनि आयो, जो हिजो मौन रहे । तर यतिबेला तिनका पक्षमा बोली दिने कोही छैन ।
कुनै पनि संस्था कमजोर वा धराशायी हुदा त्यसको असर ढिलो चाडो त्यसका सदस्यहरुमा निश्चित रुपमा पर्छ । कैलाली उद्योग वाणिज्य संघ बलियो नहुदा । उसको साख घट्दा । संघ व्यवसायीहरुको हातबाट फर्जी मतदाताहरुको हातमा जादा । त्यसको सबैभन्दा असर ती तमाम व्यवसायीहरुलाई परेको छ, जो व्यवसायमा छन् । पछिल्ला केही समययता व्यवसायीहरु बिभिन्न निकायबाट बिभिन्न नाम र बहानामा प्रताडित भए । त्यो क्रम अझै जारी छ । तर आफ्नो पीडा सुन्दिने, बुझिदिने र आफ्ना पक्षमा जायज वकालत गरिदिने अभिभावकीय भूमिका निर्बाह गर्ने त्यस्तो संस्थाको ती सबै व्यवसायीहरुले यतिबेला अभाव महशुस गरिरहेका छन् । हुन त, त्यही संस्था कमजोर भएका कारण र  आपसैमा त्यस संस्थाका अगुवाहरु लडिरहेका कारण उनीहरु आफैपनि बिभिन्न निकायबाट प्रताडित र पीडित भएका छन् । यद्दपि ती अगुवाहरु आफू प्रताडित भएको कुरा बाहिर ल्याउन सकिरहेका छैनन । उनीहरु मुटुमाथि ढुंगा राखी हाँसिरहेका छन् । हाँसिरहेको त्यो अभिनय कम्ति पीडादायी छैन  ।
कैलाली उद्योग वाणिज्य संघको निर्वाचन हुने दिन नजिकिदै गर्दा उम्मेदवारहरुका प्यानलहरु घोषणा हुन थालेका छन् । स्वस्थ प्रतिस्पर्धा र संघलाई राम्रो बनाउन प्यानल घोषणा भईरहेका हुन् भने राम्रो हो । तर कसैको स्वार्थ पूर्तिका लागि प्यानलहरु बनेका हुन् भने, यो उद्योग वाणिज्य संघ र यसका समग्र सदस्यहरुका लागि घातक कुरा हो । 
यही र यस्तै क्रियाकलापले उद्योग वाणिज्य संघ सुधार हुने आशा क्षीण भएको छ । व्यवसायीहरु आशावादी कम निराश बढि भएका छन् । संघको भविश्य र यसको साख जोगाउन व्यवसायीहरुले हस्तक्षेप गर्नैपर्छ । व्यवसायीहरु अव पनि टुलुटुल हेरेर चुपचाप बसिरहन हुदैन । 
कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु उत्तम कठायत, गोपाल हमाल, दिनेशराज भण्डारी, कर्ण कुँवर र निवर्तमान हुदै गरेका शंकर बोगटी एक ठाउमा उभिनै पर्छ । आफ्ना व्यक्तिगत स्वार्थ, रीस, राग, कुण्ठा,घृणा र आक्रोशलाई थाँती राखेर संघको हीतका लागि उनीहरु एक ठाउमा उभिनु बाहेक अर्को बिकल्प छैन । आम व्यवसायीहरुले पनि उनीहरुलाई एकठाऊमा उभिन दवाव दिनैपर्छ ।
चुनावको बेला केही व्यक्तिगत र केही समूहगत स्वार्थ मिलेर एउटै खेमामा उभिएकाहरुको सम्बन्ध पनि गंगटा,बिच्छी र सर्प जस्तो छ । संगै पनि हिड्नुपर्ने । तर एक अर्कासंग डराई पनि रहनु पर्ने । 
चुनावका बेला आफ्ना निहित स्वार्थका लागि मिलेकाहरुबाट कैलाली उद्योग वाणिज्य संघमा सुधार र परिवर्तनको आश गर्नु निरर्थक हुन्छ । किनकी संघमा आफ्नो गुट र कोटरीका मान्छेको स्थान सुनिश्चित गराउनु र कसैलाई चुनावकै माध्यबाट तह लगाउने उनीहरुको रणनीति हो । यस्तो अवस्था संघमा परिवर्तन र सुधारका लागि हरेक सचेत र जागरुक व्यवसायीहरुले सबै उम्मेदवारहरुसंग दुई वर्टा शर्त राख्नैपर्छ ।
पहिलो शर्त ः फर्जी सदस्यता खारेज । दोस्रो शर्त ः सबै फर्मलाई करको दायरामा ल्याउनुपर्छ ।
यदि यी शर्तहरु उम्मेदवार र प्यानलहरुले मानेनन भने चुनावमा भागै नलिने दृढ अडान व्यवसायीहरुले राख्न सक्नुपर्छ । यो अडानबाट व्यवसायीहरु बिचलित भए वा अहिले चुप लागे भने कैलाली उद्योग वाणिज्य संघमा कुनै पनि सुधार हुन सक्ने छैन । 
व्यवसायीहरु चुके भने यो पटक पनि फर्जी मतदाता नै संघको नेतृत्व चयनमा निर्णायक हुने निश्चित छ । फर्जी मतदाताले मत हाल्ने । अनि तिनैले जिताउने हुन भने किन व्यवसायीहरु चुनावी प्रकृयामा सहभागी हुने ? खास व्यवसायीहरुले मतदान प्रकृयामा सहभागिता जनाएन भने के हुन्छ ? त्यसको बैधानिकता के हुन्छ ? 
बरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवाल कसरी त्यो लाईनमा उभिएर मतदानमा सहभागी हुन सक्छन ? जुन लाईनमा मतपत्रको मुठो बोकेर एकमुष्ठ मत खसाल्न फर्जी मतदाताहरु तछाडमछाड गरिरहेका हुनेछन् ? 
हुन्त, यस्तो बेथिति कैलाली उद्योग वाणिज्य संघमा मात्र छैन, अन्य संघसंस्थाहरु पनि यो प्रबृतिको शिकार भएका छन् । संस्था कब्जा गर्ने तर सुधार नगर्ने प्रबृति अव संस्कार बनिसकेको छ । यसलाई धेरै संस्थाका अगुवाहरुले परम्परा बनाई सकेका छन् । 
उद्योग वाणिज्य संघ अन्य पेशागत संघसंगठन वा वस्तुगत संगठन जस्तो होईन । यो सबैको साझा संस्था हो । यो कुनै पार्टी, वाद, भेग, भूगोल र स्वार्थको घेरामा बाधियो भने त्यो दुर्भाग्य हुनेछ । 
हामीलाई जिताउ उद्योग वाणिज्य संघमा सुधार गर्छु, भन्नेहरुले भन्न सक्नुपर्छ, बरु हार्न तयार छौ, फर्जी मत मान्दैनौ । फर्जी मत चाहिदैन । 
यस्तो भन्ने हिम्मत राख्नेहरुबाट मात्र संघमा परिवर्तन हुन सक्छ ।
संघको नेतृत्व लिन चुनावी घोषणा पत्र सहित एउटा प्यानल सार्वजनिक भईसकेको छ । अर्को पनि सम्भवत चाँडै बाहिर देखिनेछ । 
मुख्य कुरा चुनावमा उम्मेदवारी दिने प्यानलको एजेण्डा संघको हीत, उत्थान र खस्केको साख उकास्न छ वा कसैका मान्छे बोकेर संघको नेतृत्वमा पु¥याउने छ ? यो महत्वपूर्ण कुरा हो । संघको सुखद भविश्यका लागि उनीहरुले सार्वजनिक गरेका एजेण्डा होईनन, उनीहरुको नीति र नियत महत्वपूर्ण हुनेछन् । संघको सुखद भविश्यको परिकल्पना तव मात्र संभव हुनेछ, जव कैलाली उद्योग वाणिज्य संघ सम्पूर्ण सदस्यहरुको आफ्नो समस्या राख्ने थलो हुनेछ । जसको आगनमा टेक्दा हरेक व्यवसायीलाई गर्व हुनेछ, त्यसको सदस्य भएकोमा । जुन दिन यसले साझा चौतारीका रुपमा आफूलाई पुनः स्थापित गराउने छ । त्यही पलबाट संघ पुनः बलियो हुनेछ । 
बिगत केही वर्षयता उद्योग वाणिज्य संघ हार्ने । अरु जित्ने खेल भईरहेको छ । त्यहाँभित्र काँग्रेस, एमाले, माओवादी, वा कुनै गुटको व्यक्ति जित्छ । उद्योग वाणिज्य संघ हार्ने क्रम जारी छ ।  उद्योगी,व्यवसायी भन्दा पनि कुन गुटका कति जिते ? कुन गुटका कति जना पत्तासाफ भए । लेखाजोखाको विषय त यही मात्र बन्ने गरेको छ । यसपटक पनि यसैको पुनरावृति हुदैछ । यो चिन्ताको विषय हो ।
जो सबैको साझा चौतारी थियो । जहाँ सबैका समस्या समाधानका लागि संवाद हुन्थ्यो । जहाँ जिल्लाका हरेक समस्याको निकासका लागि छलफल हुन्थ्यो । जो संस्था, आफ्नो संस्थाको हीतभन्दा माथि उठेर समग्र सुदूर पश्चिमकै विकास र समृद्धिको मियो बनेको थियो । अव त्यो एकादेशको कथा भएको छ । यो भन्दा ठूलो दुर्भाग्य के हुन सक्छ ? त्यो मिठो बिगत र गौरवपूर्ण ईतिहास बनाउन खट्नेहरु नै आज त्यही संस्था धराशायी हुदा चुपचाप लाग्नु, गुटमा रमाउनु, कसैलाई समाप्त पारेर खुशी हुनु बिडम्बनापूर्ण हो ।
कुनै संस्था गरीव हुन सक्छ । कुनै धनी । कुनै बलियो । कुनै निर्वल । स्वाभिमान नगुमाएको संस्था गरीव भएपनि उसका सदस्यहरुका लागि त्यो संस्था ओत लाग्ने ठाउ रहिरहन्छ । सदस्यहरुको भरोसा र विश्वास बलियो रही रह्यो भने त्यो संस्था आर्थिक रुपले बलियो नभए पनि केही फरक पर्दैन । उसको बलियो पूँजि भनेकै उसका सदस्यहरुको उसप्रतिको विश्वास र भरोसा हो । त्यो पूँजी उद्योग वाणिज्य संघले गुमाउनु हुदैन ।
आज त्यही संस्थामा उसका सदस्यहरु आफूलाई समस्या पर्दा जान नसक्ने किन भए ? किन ? उनीहरुको भरोसाको केन्द्र रहन सकेन । यसको आत्मसमीक्षा पूर्व र बर्तमान अध्यक्ष र पदाधिकारीहरुले गर्नैपर्छ ।
कैलाली उद्योग वाणिज्य संघमा जो भूतपूर्व भयो । त्यसको छायाले पनि तर्साउछ त्यहाँ भित्र कतिपयलाई ? म पनि भूतपूर्व हुने हूँ भन्ने हेक्का भने कसैले राखेको पाईदैन ।  
कहाँ गए सुन्दर सुन्दरपश्चिमका नारा ? विकास र समृद्धिका एजेण्डा खोई ? कहाँ हराए ? उद्योग व्यवसायी मैत्री नीतिका लागि कसले बोल्ने ? कसले उठाउने ती सवाल ?उद्योगी,व्यवसायीहरुका हकहीत, अधिकार र सुरक्षाका कुरा अव उद्योग वाणिज्य संघका चुनावी एजेण्डा रहेनन । फर्जी मतदातालाई हटाउने एजेण्डा प्रमुख भएको छ । यो भन्दा उदेक लाग्दो कुरा के हुन सक्छ । प्रत्येक चुनावमा यही एजेण्डाले चुनाव जित्ने छ । तर सुधार भने कहिल्यै हुने छैन । किनकी जे रोप्यो । त्यही फल्ने हो । 
उम्मेदवारहरुको चुनावी एजेण्डा के ? एउटै एजेण्डा छ । चुनाव जित्ने । जसरी पनि जित्ने । चुनावमा उम्मेदवार उठाउने कतिपयको एजेण्डा भने कसैलाई तह लगाउनु छ । 
उद्योग वाणिज्य संघको चिन्ता कसलाई नै छ र ? संघका पूर्व अध्यक्ष र पदाधिकारीलाई त कम्तिमा यसको चिन्ता हुनुपर्ने हो । चिन्ता भएको भए, उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु कम्तिमा कुनै गुट र उपगुटको नेतृत्व गर्ने थिएनन ।  कि तटस्थ बस्थे ? कि संयोजनकारी भूमिकामा हुन्थे । सबैलाई मिलाएर लैजाने कोशिस गर्थे । 
बृद्ध बा आमालाई डोकोमा राखेर भीरमा फाल्न लैजादै गरेका आफ्ना बुवाआमालाई सानो बालकले भनेको एउटा घत लाग्दो कुरा छ, बुवा डोको फिर्ता ल्याएर आउनु होला । तपाईहरु बृद्ध भएपछि फाल्न त्यो मलाई काम लाग्नेछ ।
उद्योग वाणिज्य संघ भित्र सुरक्षित साथ राखिएको त्यही डोकोले धेरै पूर्व अध्यक्षहरु फालिएका छन् । यो पटक कसैको पालो होला । अर्को पटक फेरि कसैको । पालो कुरेर बस्नु । र अरुलाई फालेको हेरेर खुच्चिङ भन्न पाउनुको मज्जा पनि बेग्लै छ ।