आज गंगा दशहरा

धार्मिक पर्यटन गन्तव्य बन्दै बेहडाबाबा, पुत्र, पत्नी, धन लाभ हु्ने विश्वास

बिहीबार जेठ १०, २०७५/ Thursday 05-24-18
Paschim Today
कैलालीको प्रसिद्ध बेहडाबाबा मन्दिर । 

पश्चिम टुडे, धनगढी १० जेठ ।
कैलालीको धनगढी उमहानगरपालिका वडा नम्बर १६ स्थित रामपुरमा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिर धार्मिक पर्यटन गन्तव्यको रुपमा स्थापित हुन थालेको छ ।  गङ्गा दशहराको अवसरमामात्र नभइ विभिन्न समयमा बेहडाबाबामा धार्मिक पर्यटकहरुको जमघट भइरहेको छ । यसको प्रचार प्रसार बढेसंगै नेपाल, भारतबाट श्रद्धालुहरु आउनेक्रम बढेको छ । 
माघे सङ्क्रान्ति, माघे औंशी, शिवरात्रि, चैते औंशी, रामनवमीको अवसरमा यो मन्दिरमा पूजाआजा गर्नेहरुको ठूलो भीड लाग्ने गरेको छ । गङ्गा दशहराको अवसरमा नेपालीभन्दा पनि भारतीय श्रद्धालुहरु अत्यधिक मात्रामा दर्शनका लागि बेहडाबाबा पुग्ने गरेका छन् । 
आज (बिहीवार) परेको गङ्गा दशहराको अवसरमा बेहडाबाबाको दर्शन र पूजाआजाका लागि भारतीय दर्शनार्थी आउनेक्रम सुरु भएको छ । बेहडाबाबामा बुधवारदेखि गङ्गा दशहरा मेला सुरु भएको छ । 
कैलाली भ्रमण वर्ष २०७५ सञ्चालन भइरहेको बेला परेको गङ्गा दशहरा मेलामा बढीभन्दा बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य रहेको जनाइएको छ । जिल्ला समन्वय समिति कैलालीले भ्रमण वर्ष सञ्चालन गरिरहेकाले मेला व्यवस्थापनको जिम्मा पनि जिससले नै लिएको छ ।  कैलाली भ्रमण वर्षको क्रममा आयोजना भएको गङ्गा दशहरा मेलामा यस वर्ष तीन लाखभन्दा बढी भारतीय धार्मिक पर्यटक भित्र्याउने लक्ष्य रहेको जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले जानकारी दिए ।  गङ्गा दशहराको अवसरमा एक हप्तासम्म भारतीय तीर्थालुहरुले यहाँ आएर दर्शन गर्ने गरेका छन् ।   
    कैलालीको प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको रुपमा प्रचार प्रसार अगाडि बढाइएपछि बेहडाबाबाको दर्शन गर्न आउने धार्मिक पर्यटकहरु बढ्दै गएको बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेम चन्दले बताए । ‘प्रचार प्रसार बढेपछि यहाँ आउने श्रद्धालुहरुको वर्सेनि सङ्ख्या बढ्दै गएको छ’, उनले भने–‘पर्यटकीय क्षेत्रको रुपमा विकास गरी धार्मिक पर्यटक भित्र्याउनका लागि मन्दिर व्यवस्थापन समितिले प्रयास गर्दै आएको छ ।’
    बेहडाबाबा हिन्दू धर्मावलम्बीहरुको आस्थाको धरोहर मानिन्छ । त्यसैले धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको उर्माका रामबहादुर थापाले बताए । ‘यसको सम्भावना ठूलो छ’, उनले भने–‘यद्यपि, सरकारी स्तरबाट प्रबद्र्धन प्रयास पर्याप्त मात्रामा हुन सकेको छैन ।’ वर्षैभरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि सबै निकायबाट पहल हुन आवश्यक रहेको थापाले उल्लेख गरे । यहाँ आइपुग्ने धार्मिक पर्यटकलाई घोडाघोडी, जाखोर ताल, चिसापानीलगायत नजिकका अन्य पर्यटकिय क्षेत्र घुमाउन सके यहाँको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने स्थानीयवासीको बुझाइ छ । हरेक वर्ष गङ्गादशहरा र अन्य अवसरमा लाग्ने धार्मिक मेलाको प्रचारप्रसार हुन सके अझ बढी धार्मिक पर्यटक भित्र्याउन सकिने उनीहरु बताउँछन् ।  सदरमुकाम धनगढीबाट करिब १८ किलोमिटरको दूरीमा रहेको बेहडाबाबासम्म पुग्न बाटोघाटोको समस्या रहेकाले सडक निर्माणमा राज्य अग्रसर हुनु पर्नेमा स्थानीयको जोड छ ।  बेहडाबाबासम्म सडक र सार्वजनिक यातायातको व्यवस्था भएमा हालको भन्दा निकै बढी धार्मिक पर्यटक ओइरिने अध्यक्ष चन्दले बताए । 


पुत्र, पत्नी, धन लाभ हु्ने विश्वास
    बेहडाबाबा मन्दिरको गाथा भगवान शिवसंग जोडिएको छ । र, बेहडाबाबाको दर्शन गरेर मागेको चिज पूरा हुने जनविश्वास रही आएको छ । बेहडाबाबाको शिवलिङ्ग भगवान शिवको प्रतिकका रुपमा मानिन्छ । भगवान शिवको प्रतिकका रुपमा रहेका नेपालको पशुपतिनाथ र भारतको केदारनाथ जत्तिकै बेहडाबाबाको धार्मिक महत्व रहेको बेहडाबाबा मन्दिरका पुजारी चेतराज भट्टले बताए । ‘यो मन्दिरमा पूजाआजा गर्नाले पुत्र, पत्नी, धन लाभ हुन्छ’, उनले भने–‘यहि विश्वासका साथ भारतको दिल्लीसम्मका भक्तजन यहाँ दर्शनको लागि आउने गर्दछन् ।’ 
प्रचण्ड गर्मीमा गौरीफन्टा नाकादेखि बेहडाबाबा मन्दिरसम्म प्रायः पैदल हिडेर पुग्ने भारतीय दर्शनार्थीहरुले बेहडाबाबा मन्दिरमा पूजाआजा गर्दा मनोकामना पूरा हुने गरेको बताउँछन् । उनीहरुमध्ये कोही पत्नी, कोही धन, कोही सन्तान, सुख माग्नका लागि बेहडाबाबा मन्दिरको दर्शन गर्न आउने गरेका छन् ।  एक किवंदन्तीअनुसार कुनै समय जङ्गलै जङ्गल रहेको हालको बेहडाबाबा मन्दिर क्षेत्रमा गोठ बनाएर भारतीय गोठालाहरुले गाईभैंसी चराउने गर्दथे । बेहडाबाबामा गोठ बनाएर गाईभैंसी चराउने भारतको सिङ्गाही स्थित कन्हैया अहिर भन्ने गोठालाको गोठमा गाई ब्याएको थियो । तर, उक्त गाईले दूध दिने गरेको थिएन । ब्याएको गाईले हरेक दिन दूध नदिएपछि ती गोठालाले दिउँसो गाईलाई पछ्याउँदै गए ।
 आफ्नो गाईले एक ठाउँमा दूध बगाउने गरेको ती गोठालो तथ्य फेला पारे । त्यसपछि तिनै कन्हैया भन्ने गोठालाले गाईले दूध बगाएको ठाउँमा खन्दा शिवलिङ्ग फेला परेको किंबदन्ती रहेको बेहडाबाबा मन्दिरको संरक्षण गर्दै आउनु भएका स्थानीय खुशीराम चौधरी बताउँछन् ।   ‘ती गोठालाले खन्नेक्रममा शिवलिङ्गको माथिल्लो भागमा लागेको चोट अझै पनि देख्न सकिन्छ’, उनले भने–‘यसरी बेहडाबाबा मन्दिरको सम्बन्ध परापूर्वकालदेखि भारतसंग जोडिएकाले पनि भारतीय श्रद्धालुहरु पूजाआजाका लागि बढी आउने गर्दछन् ।’