Close This

संक्रमण समुदायमा पुग्ने जोखिम

बुधबार श्रावण २१, २०७७/ Wednesday 08-05-20
Paschim Today

कैलालीको कैलारी गाउँपालिका–१, स्थित दीपेन्द्र माविको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका तीन जनामा कोरोना संक्रमण देखिएको छ । क्वारेन्टाइनको ल्याबमा काम गर्ने एक स्वास्थ्यकर्मी, खाना पकाउने भान्से र चौकीदारमा समेत कोरोना संक्रमण पुष्टि भएको हो । क्वारेन्टाइनको आइसोलेसनमा राखिएका संक्रमित भने निको भएर घर फर्किसकेका छन् । त्यहाँ कार्यरत कर्मचारी परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितलाई दीपेन्द्र माविकै आइसोलेसनमा राखिएको छ । उक्त क्वारेन्टाइनमा बसेका संक्रमितहरु भारतबाट फर्केकाहरु हुन् । भारतबाट फर्केकाबाट यहाँका व्यक्तिमा कोरोना संक्रमण सरेको यो एउटा उदाहरण हो । पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमण तीव्र बनेको छ । संक्रमित सबै भारतलगायत विदेशबाट फर्केकाहरु मात्रै छैनन्, यात्रा नगरेका व्यक्तिमा समेत कोरोना देखिन थालेको हो । यसले कोरोना संक्रमण समुदाय स्तरमा फैलन थालेको संकेत देखाएको छ ।

मंगलबारमात्रै कैलारी गाउँपालिकामा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने संक्रमितमध्ये चार जनाको ‘ट्राभल हिस्ट्री’ नरहेको खुलेको छ । ‘ट्राभल हिस्ट्री’ नभएकाहरुमा कोरोना संक्रमण पुष्टि भएको यस्ता अन्य उदाहरण पनि सुदूरपश्चिमा धेरै ठाउँमा देखिएका छन् । भारत र विदेशबाट फर्केकामात्र कोरोना संक्रमण सिमित छैन । स्थानीय व्यक्तिहरुमा पनि संक्रमण देखिनुले कोरोना संक्रमण अब समुदाय स्तरमा फैलन थालेको देखिन्छ ।

समयमै सतर्क नरहने हो भने कोरोना संक्रमण समुदायमा पनि व्यापक रुपमा फैलने जोखिम देखिन्छ । सुदूरपश्चिममा हालसम्म देखिएका संक्रमितमध्ये अधिकांश भारतबाट फर्केकाहरु रहेका छन् । भारतबाट अन्य मु्लुकबाट फर्कनेको संख्या सुदूरपश्चिममा निकै कम छ । अधिकांश संक्रमित भारतबाट फर्केका छन् र उनीहरुबाटै स्थानीय व्यक्तिहरुमा संक्रमण सर्न थालेको हो । 

    तर भारतबाट फर्केकालाई अहिले क्वारेन्टाइनमा नराखेर सिधै घर पठाउन थालिएको छ । यसअघि भारतबाट आएकालाई १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाउने गरिएको थियो । तीमध्ये कतिपयमा कोरोना जाँच पनि गरिएको थियो तर अहिले क्वारेन्टाइनमा राखिएको छैन । स्थानीय तहहरुले सिधै घर पठाउन थालेपछि प्रदेश स्वास्थ्य निर्देशनालयले पत्रनै पठाएर क्वारेन्टाइनमा राख्न आग्रह गरेको छ । सरकारले विदेशबाट फर्कनेलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।

यस विपरित सिधै घर पठाउन थालिएपछि संक्रमण समुदायमा फैलने जोखिम झन् बढेको छ । समुदाय स्तरमै संक्रमण देखिन थालेकाले भारतबाट फर्केकाहरुलाई क्वारेन्टाइनमा राख्ने, उनीहरुमा कोरोना परीक्षण गर्ने, समुदायमा पनि परिक्षणलाई व्यापकता दिने, संक्रमितहरुलाई सकभर आइसोलेसनमै राख्नेजस्ता कार्यमा प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्छ । सुदूरपश्चिममा संक्रमण तीव्र बन्दै गएकाले व्यक्तिले पनि आफू सतर्क रहने र सजगता अपनाउनु पर्छ ।