Close This

‘सुदूरपश्चिम विश्वविद्यालयलाई शैक्षिक क्षेत्रमा अग्रणी बनाउने योजनामा छौं’ 

शनिबार चैत ७, २०७७/ Saturday 03-20-21
Paschim Today

सुदूरपश्चिम क्षेत्रको शिक्षा क्षेत्रमा अग्रणी भूमिका खेलेको सुदूरपश्चिम विश्व विद्यालयको स्थापना भएको एक दशक भइसकेको छ । २०६७ सालमा स्थापित गरिएको विश्वविद्यालयमा विभिन्न समयमा विभिन्न किसिमका आन्दोलन तथा विरोध कार्यक्रम हुँदै आएका छन् । तर पछिल्लो समय विश्वविद्यालयले नयाँ उपकुलपति पाएपछि केही सुधार भएका छन् । उपकुलपतिको रुपमा विश्वविद्यालयमा आएका अम्मराज जोशी बझाङ्ग जिल्लाका हुन् । विगतको समयमा आउने उपकुलपति सुदूर बाहिरका भएपनि जोशी भने सुदूरभित्रकै हुन् । विश्वविद्यालयको शैक्षिक अवस्था, पूर्वाधार निर्माण, समस्या, चुनौती लगायत भावी योजनाबारे जोशीसंग कञ्चनपुरस्थित पश्चिम टुडेकर्मी इन्दु धामीले गरेको संक्षिप्त कुराकानीको सार....

– नेपालका विश्वविद्यालयहरु राजनीतिले आक्रान्त छन् । तपाई पनि राजनितिक कोटामा नै भिसी नियुक्त हुनुभएको छ । काम गर्न समस्या हुँदैन ?
अब यसमा मैले भन्नु खासै केही छैन । जसरी चयन गर्दा खेरी विश्वविद्यालयमा नियुक्ति गरिन्छन् यी नियुक्तिको प्रक्रियाको ढङ्ग नै हामी कहाँ विश्वविद्यालयमा राजनीतिक तरिकाबाट नियुक्त गर्ने प्रक्रिया छ । र प्रधानमन्त्रीलाई के छ भने कुलपति राख्ने प्रक्रिया छ । प्रधानमन्त्री कुलपती हुनुहुन्छ कुलपतिले उपकुलपति नियुक्त गर्नु हुन्छ । तर राजनीतिक नियुक्तिमा राजनीति गरेको मान्छे होईन । नियुक्तिको प्रक्रिया राजनीतिक भएपनि नियुक्ति पाएर आउने मान्छे त प्राज्ञिक हुन्छ । त्यो चाहिँ प्रोफेसर नभएर ग्राउन्डमा राजनीति गरेको मान्छे त आउँदैन । राजनीति गर्ने नारा लगाउने मान्छे त विश्वविद्यालयमा आउने हैन आउने भनेको प्राज्ञिक तहबाट आउने हो । तर बाहिरबाट हेर्दा भने नियुक्ति भने राजनीतिक नै हुन्छ । यस्तै बाहिरका विश्यविद्यालयमा भने राजनीतिकि नियुक्ति हुँदैन । नेपाल बाहिरमा विश्वविद्यालयहरु ट्रष्टमा समाहित हुन्छन् र नियुक्तिको प्रक्रिया पनि प्राज्ञिक तवरबाट हुने गर्दछ । हामी कहाँ त्यो पद्धतिको विकास भएको छैन नितान्त राजनीतिक रुपमा नियुक्ति गर्ने प्रावधान छ । तर नियुक्ति गर्ने समयमा राजनीति गर भनेर नियुक्ति भने गरेको होईन । 

– सुदूरपश्चिम विश्वविद्यालयको आर्थिक अवस्था कस्तो छ ?

हैन हाम्रो आर्थिक अवस्था भनेको त के होभन्दा सुदूरपश्चिम विश्वविद्यालय नेपाल सरकारको लगानीमा स्थापित भएको विश्वविद्यालय हो । त्यो लगानीभन्दा खेरी राम्ररी बुझ्नुपर्दछ । यो विश्वविद्यालयले त सरकारले उचित दरबन्दी तोकिदिन्छ । त्यो दरबन्दीको परिधिभित्र मान्छेहरुलाई हामीले औपचारिकता दिन सक्छौ । सरकारले दरबन्दी दिन्छ यति दरबन्दी यो क्षेत्रमा भनेर । कुनै नयाँ कार्यक्रम गर्नको लागि हामीले दरबन्दी माग्नुपर्दछ । त्यो दरबन्दी मागिसकेपछि दरबन्दी सिनेटले पास गरेर अर्थमन्त्रालय शिक्षा मन्त्रालय शिक्षा मन्त्रालय लगायत सबैले पास गरिसकेपछि मात्र पदहरुको सृजना हुन्छ । पदहरुको सृजना भएपछि मात्र कुनै विश्यविद्यालयले मान्छे राख्न सक्छ । अब सरकारले के गर्छ भनेपछि त्यसरी राखेका मान्छेको तलब मात्र दिन्छ । यो सँगै सुरुका केही वर्षहरुमा भौतिक पूर्वाधार खडा गर्नको लागि केही रकम दिन्छ । त्यति नै सरकारले दिने भनेको आर्थिकको क्षेत्र । अब सम्पूर्ण शैक्षिक कार्यक्रम सम्पन्न गर्ने दायित्व भनेको विश्वविद्यालयले आफ्नो आन्तरिक श्रोत परिचालन गरेर गनुपर्दछ । त्यसकारण विद्यार्थी, अभिभावक लगायत जनमानसमा के हुन्छ भने यो त सरकारी विश्वविद्यालय हो सबै थोक सस्तो हुन्छ । यदी यसरी नै बस्ने हो भने भोलि एउटा पनि कक्षा सञ्चालन हुन सक्दैन । सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो क्षमताभन्दा बढी सञ्चालन गरेको अवस्था छ । जस्तो म्यानेजमेन्टमा विद्यार्थीको सङ्ख्याको उदाहरण लिऔं । छ सय बढीको भर्ना भएको छ । यस्तो अवस्थामा हामीले कम जनशक्तिमा अध्ययन अध्यापन गनुपर्ने बाध्यता छ । जनशक्ति बढाउन आन्तरिक आयश्रोतको एकदमै कमी छ । त्यसकारण विद्यार्थीको शुल्क बाट अतिरित्त पारिश्रमिक विश्वविद्यालयले व्यवस्थापन गरिरहेको हुन्छ । देशभरीका सरकारी विश्वविद्यालयले पनि सुदूरपश्चिम विश्वविद्यालय सरहनै गरेको छैन । यो कुनै नोलो पनि होईन ।

–विश्वविद्यालयले शैक्षिक क्षेत्रमा कस्तो परिवर्तन गरेको छ, वर्तमान समयमा विश्व विद्यालयको शैक्षिक अवस्था कस्तो छ ?

गुणस्तरमा म अहिलेसम्म सन्तुष्ट हुन सकेको छैन । मैले आएको दिनदेखि मैले प्राध्यापकहरुलाई के भनेको छु भन्दा तपाइहरु आफ्नो कार्यक्रमहरु गर्नुस । आफ्नो कार्य सोच बनाउनुस, त्यसै गरेर प्रत्येक महिनाको कार्यक्रम तालिका बनाउनुस, क्यालेन्डर अनुसार चल्नुस र समयमा परीक्षा गर्नुस लगायत विविध किसिमका कुराहरु भन्ने गरेको छु । यस्तै कोरोनाको समय अवधिमा लिइएको अनलाइन परीक्षाको पनि नतिजा प्रकाशन गर्ने र आगामी परीक्षाको लागि पनि एक हप्ता भित्र तयारी गर्न निर्देशित गरिएको छ । अब यसरी जाँदा धेरै ठाउँमा प्राध्यापकहरुले पनि पूर्णतया आफ्नो जिम्मेवारी वहन गरेको मैले पाएको छैन त्यसैकारण पनि म धेरै सन्तुष्ट छैन । तर पनि सकारात्मक बाटोमा सकारात्मक बाटोमा अघि बढेको अवस्था छ । सायद मैले भने जस्तो कार्यक्रम विश्यविद्यालयमा सञ्चालन भयो भने एक दुई वर्षमा विश्वविद्यालयको पढाईको स्तर पनि राम्रो हुन्छ । राम्रो हुने लक्षण के छ भने हामीसित सेमेस्टर प्रणाली छ उक्त प्रणालीले चुस्तता खोज्छ । विद्यार्थी पनि रेगुलर विद्यार्थी हुनुपर्याे मेहनत गर्ने आफ्नो कामहरु सवमिट गर्ने हुनुपर्याे । प्राध्यापकले पनि मेहनति भएर रेगुलर काम गरिदिनुपर्छ त्यो भयो भने पढाईको स्तर नबढ्ने कुरा पनि रहन्न ।

–मुलुकका अन्य विश्वविद्यालयहरुसंग सुदूरपश्चिम विश्वविद्यालयले कसरी प्रतिस्पर्धा गर्दै छ ? यस विश्व विद्यालयलाई अन्य विश्वविद्यालयको तुलनामा फरक बनाउनको लागि के के कार्य भइरहेका छन् ? 

एकदमै राम्रो प्रश्न गर्नु भयो । अब यसमा के छ भने म धेरै हदसम्म सकारात्मक पक्ष मान्दछु किनभने विश्वविद्यालयमा इन्जिनियरिङको कार्यक्रम विस्तारै प्रख्यात हुँदैछ । नयाँ विश्वविद्यालय हो नयाँ भएकोले पनि विस्तारै स्थापित हुँदै गएको छ । विश्वविद्यालयको लागि १० वर्ष धेरै ठूलो कुरो पनि हैन तर कुनै विश्वविद्यालय हेर्ने हो भने आठ सय नौ सय वर्ष इतिहास बोकेका विश्वविद्यालय रहेका छन् तिनसँग हामीले तुलना गर्न मिल्दैन । किनभने त्यसको इतिहास र त्यसको स्तर नै विश्व प्रख्यात भएको हुन्छ । साना तथा भर्खर स्थापना भएको विश्वविद्यालय भएको हिसाबले हाम्रो विश्वविद्यालयमा इन्जिनियरिङ कार्यक्रम सफल भएको छ । केही दिन अगाडि मात्रै म कृषिमा गएको थिए थोरै पूर्वाधारमा पनि विद्यार्थीले राम्रो काम गरिरहरेका छन् । म्यानेजमेन्टको राम्रो चलिरहेको छ । तर मानविकी संकायको अनुशासन एकदमै कमजोर छ तथापि विश्वभरी नै यो कमजोरी देखिएको छ । तैपनि विस्तारै हामी अगाडि बढ्दै गएको अवस्था छ । जस्तो अहिले हामीले स्नातक तहमा कानूनको कार्यक्रम सुरु गरेका छौ प्रवेश परीक्षाको नतिजा पनि प्रकाशन भैसकेको अवस्था छ । अब एमफिल र पिएचडीको कार्यक्रम पनि हामीले सुरु गरेको छौ भर्खर मात्रै सुरु गरेको कार्यक्रममा एक सय बढी मान्छे एकफिल एकचौटी गर्दैछन् । यस्तै नौ जना विद्यार्थीले पिएचडी गर्दै छन् । अब विश्वविद्यालय कस्तो अवस्थामा गएको छ भने आफ्नो शिक्षकहरुलाई विश्वविद्यालयमा नै तालिम दिने र एडभान्स लर्निङपनि विश्वविद्यालयमै दिन सक्ने स्थितिमा हामी पुगेका छौ । 
–विश्वविद्यालयको चालू आर्थिक वर्षको कार्यक्रम के छ ?

अहिले यसपाली के भन्दा खेरी पुस ३ गते मात्रै सभा सम्पन्न भयो । सबभन्दा ठूलो कुरा के हुन्छ भने हाम्रा आर्थिक गतिविधिहरु सभाले पास पारित नगरिकन कुनै पनि कार्यक्रम सञ्चालन गर्न पाइदैन । अहिले त अब २०७५ सालदेखि गत पुस महिनासम्म विश्वविद्यालयको खर्च सबै बन्द थियो । किनभन्दा खेरी सभा नै बस्न सकेको थिएन । बल्ल ३ गते सभा बस्यो सभाले बजेट पास गर्याे र यसपालि हामी पूर्वाधार निर्माणतर्फ लागिरहेको अवस्था छ । पूर्वाधार विकास कार्यक्रममा हामीले त्यो सबभन्दा पहिले विश्वविद्यालयको केन्द्रीय कार्यालय वरपर पर्खाल निर्माण गर्दैछौ र केन्द्रीय कार्यालयको भवनलाई पूरा गर्ने योजना गर्दै छौ । यस्तै इन्जिनियरिङको भवन पूरा गर्ने कार्यक्रम छ, मयानेजमेन्टकोमाथि तला थप गर्ने सोच बनाएका छौ । विज्ञान संकायतर्फ भवन निर्माणको लागि ठाउँको प्रयाप्तता छैन त्यसको व्यवस्थापनमा लागेको अवस्था छ र हामी लामो समय सम्मका लागि के सोचिरहेका छौ भने विस्वविद्यालयको एकेडेमिक भवन पनि बनोस भन्ने छ । यो सँगसँगै विद्यार्थीको होस्टेल, पदाधिकारीको आवासहरु यी सबै बनाउनुपर्नेछ । अब एकैचोटी सबै त सम्भव नहोला तर हामी धेरै काममा चाहिँ हात हाल्दैछौ ।

–कोरोना महामारी अझै सकिएको छैन, पठनपाठन कसरी सञ्चालन गरिरहनु भएको छ ?

हैन यो त कस्तो भयोभन्दा मैले त्यति बेला पनि भन्ने गरेको थिए । कोभिडको बेला विद्यार्थी घरमा थिए लगभग अतालिएको अवस्थामा थिए । मान्छे स्वभावले नै केहोभन्दा सामाजिक प्राणी हो । हामी एक अर्कासँग कुरा गर्न पायौं र नजिक बस्न पायौं भनेपनि स्वास्थ्यको दृष्टिकोणले पनि मान्छे राम्रो हुन्छ । आइसोलेसनमा बस्नु भनेको मान्छेको लागि पनि अहितकारी छ । त्यसकारण विश्वविद्यालयले के भन्यो भने अनलाइन पद्धतिद्वारा पनि अलिकति केही दिन सक्यौ भने केही राहत हुन्छ विद्यार्थीलाई भनेर हामीले अनलाइन पढाई सुरु गर्याै । यो सँगै हामीले अनलाइन पद्धतिमार्फत नै हामीले परीक्षा दिने वातावरणको सृजना गर्याै त्यो सम्भव पनि भयो । अब त अलिकति सहजता आएको छ, अब हामी अहिले भौतिक रुपले कक्षा सञ्चालनमा गरेको पनि अवस्था छ र विस्तारै पुरानै अवस्थामा जान्छौ । 

–तपाईहरुले आगिंक क्याम्पस थप्दै हुनुहुन्छ । केही समय अगाडिमात्रै कैलाली बहुमुखी क्याम्पसलाई पनि आगिंक क्याम्पसका रुपमा समायोजन गर्ने निर्णय भएको छ । कतिवटा आगिंक क्याम्पस थप्दै  हुनुहुन्छ । के छ यसबारेमा ?

गत वर्ष नै करिब करिब छ सात ओटा कैलालीको घाडाघोडीदेखि लिएर अछामको केही क्याम्पसहरुले विश्वविद्यालयमा निवेदन दिएको छ । हामीले चाहिँ नेपाल सरकारमा जानकारी गराएका छौ । यो हामीले मात्र चाहेर हुँदैन सरकारी नीतिको पनि कुरा हुन्छ तथापि सरकारी योजना अनुसार नै विश्वविद्यालय अगाडि बढ्ने कुरा हुन्छ । तर विश्वविद्यालयले मात्रै चाहेर हुँदैन । यो फेरी अघि भने जस्तै राजनीतिक इच्छा शक्तिको पनि कुरा हो होईन, राजनीतिले पनि धेरै मत राख्ने गर्दछ । ल हाम्रो प्रदेशले यति भ्याउन सक्छ हाम्रो प्रदेशमा यति कलेज चाहियो भनेपछि आमी त हाम्रो पविार हो यो विस्तार होस् भन्ने नै चाहन्छौ । तर सरकारको खर्च लगायतका कुराहरुले त्यसलाई असर पार्ने गर्दछ ।

–पछिल्लो समय सुदूरपश्चिम विश्वविद्यालयमा कस्ता–कस्ता समस्या रहेका छन् । ति समस्याले विश्वविद्यालयको शैक्षिक कार्यक्रममा कति प्रभाव गर्ने गरेको छ ?

सबभन्दा पहिलो त यहाँ प्रणाली नै छैन । अहिलेसम्म मेरो नियुक्तिको पनि एक वर्ष भयो । केन्द्रीय कार्यालय अझै पूरा भएको छैन । किन भएनभन्दा भाडाको घरमा बस्ने मानिसको पारिवारिक अवस्था कस्तो हुन्छ ठ्याक्कै त्यस्तै थियो । भाडाको घर भएकोले सबै कुरा एकठाउँबाट गर्नुपर्ने बाध्यता थियो । त्यस्तै अवस्थामा विश्वविद्यालय पनि रहेको छ । एकै मान्छेले सबै थोक हेर्ने, एकै ठाउँबाट सबै काम गर्ने र कुनै पनि प्रणालीको विकास भएको अवस्था थिएन । कुनै पनि चुस्त प्रणाली छैन अहिले पनि मैले चुस्त प्रणालीमा राख्न सकेको छैन तर जादैछु । जस्तै भनौ विश्वद्यालयको केन्द्रीय कार्यालयमा त प्रवेश गर्याै तर पूर्वाधारको सम्पूर्ण तवरले विकास गर्न सकेको अवस्था छैन । अब आर्थिक कुराहरु नियम तह चलाउनु पर्याै त्यो चलाउने क्रममा अलि समय त लाग्दो रहेछ नि । त्यसभित्र फरक–फरक युनिटहरु बनाउने कसले के काम गर्ने भन्ने त्यो केही पनि छैन । यस्तै जुन हाम्रा आङ्गिक क्याम्पस भए हिजो त के हो भन्दा बाटोमा हिड्दा हिड्दै विद्यार्थीबाट शुल्क उठाउने गोजीमा हाल्ने अगाडि बढ्ने त्यो प्रणालीको विकास भएको थियो । यसरी हेर्दै जाँदा आङ्गिक क्याम्पसमा पनि प्रणाली छैन केन्द्रीय क्याम्पसमा पनि प्रणाली छैन । एक पछि अर्काे काम गनुपर्ने हुन्छ । एकपछि अर्काे काम गर्दै जाँदा अलिअलि विरोध अवरोध पनि आउँछ बुझेर नबुझेर होला । जस्तै विश्विद्यालयमा आङ्गिक सहित सम्पूर्ण क्षेत्रमा भर्ना शुल्क र अन्य शुल्कको समायोजन गरे थुप्रो फेसबुकी करण भयो । तर हामीले गरेको के होभन्दा विश्वविद्यालयका सोह« ओटा कलेजमा सोह« थरी भर्ना लगायत अन्य शुल्क लिने गरिएको अवस्था थियो । त्यसलाई त समायोजन गर्नुपर्याे । समायोजन गर्दाखेरी शुल्क केही ठाउँमा तल होला केही ठाउँमा माथि होला । तर त्यो प्रक्रियागत ढङ्गले गर्याै अब त्यो भएको छ । यस्तै अबका दिनमा सोह«ै ओटा क्याम्पसमा अहिले भएका प्रिन्सीपल यथावत छन् त्यो हुँदा के हुँदो रहेछ भन्दा बेथिति हुँदो रहेछ । अब त्यसलाई पनि मिलाउनु छ । त्यस ठाउँमा हात हाल्यो भने त्यहाँ पनि त्यस्तै विरोध हुन्छ । किनभने प्रणालीमा ल्याउनु पर्याे नि । अब मान्छे स्वभावले कस्तो छ भन्दा संगठित भएको मन पराउदैन व्यवस्थित भएको मन पराउँदैन त्यो भएपछि त बेथिति हुँदैन । बेथिति कहाँ हुन्छ त जहाँ संगठित हुँदैन शिक्षित हुँदैन त्यहाँ खेल्ने मौका बढी हुन्छ । मान्छे स्वभावले नै यस्तो प्राणी छ कि उ खेल्न चाहन्छ संगठित भयो कि विरोध आइहाल्ने । मेरा त अब एकपछि अर्काे विरोध आउँछन् हेरिराख्नुस । यसमा हात हाल्ने यसमै विरोध आयो जस्तो म अफिसको प्रणाली ल्याउँदै छु त्यहाँ पनि विरोध आउँछ । क्याम्पस चिफहरुलाई संगठिक पार्नु छ त्यहाँ निर पनि विरोध आउँछ । मान्छे लाई परबाट वरवरबाट पर ल्याउनुपर्नेछ । किनभने आफ्नो आफ्नो ठाउँमा मान्छेले राम्रो काम गरि रहेको छैन तिनलाई चलाउन त्यहाँ पनि विरोध आउँछ । तर बिरोधदेखि डराएर हात बाँधेर बस्यो भने विश्वविद्यालय बेथितिमा जान्छ तर थिति राख्यो भने विरोध हुन्छ । त्यो हुनाले विश्वविद्यालयको नेतृत्वकर्ता भएको हिसावले पनि मलाई कति दुख हुन्छ, मलाई कति यातना हुन्छ, कति टेन्सन हुन्छ त्यसको प्रवाह त मैले गर्नुभएन प्रवाह गर्ने भनेको त विश्वविद्यालयको हो । विश्वविद्यालय कुन बाटोमा जाँदैछ कुन बाटोमा लैजानुपर्छ भन्ने त मेरो व्यक्तिगत जीवन तहसमहस भएपनि मैले त्यो बाटो त हिन्नै पर्छ । यी यस्तै धेरै कुराहरु छन् । विश्वविद्यालय लेखा, प्रशासन, लगायत सबै क्षेत्रको प्रणाली नै ठिक छैन । सबै नभनौ केही शिक्षकले समय अनुसार काम गरिदिएका छैनन् , विद्यार्थीलाई दिनुपर्ने कुराहरु दिएका छैनन्, विद्यार्थीलाई मेहजत गर्ने बानीको विकास गरिदिएका छैनन् । म दोष विद्यार्थीलाई दिनेभन्दा पनि आफूलाई दिन्छु प्राध्यापकलाई दिन्छु । हामीले होनी काम गर्ने मेहनत गर्ने ल गर भनेर विद्यार्थीलाई पेल्ने हो तर नराम्रो गर्नको लागि पेल्ने होइन कि राम्रो गर्नको लागि ल बाबू पढ पढेर पो बन्ने हो त भनेर सिकाउने हो नि अह हामी त्यता तिर लागेनौ । बरु बेथितिमा फेसबुक बाजी गर्न तर्फ लाग्छौ ।

–यी समस्यालाई सामाधान गर्न के गर्दै हुनुहुन्छ । समाधानका  भावी योजनाहरु के के छन् ?

हैन शैक्षिक  प्रणालीगत हिसाबले  हामी गएका छौ मैले भने नि अहिले अब शुल्क समायोजन गर्दैछौ, त्यसपछाडि शिक्षक समायोजन गर्दैछौ, कयाम्पसहरु क्रमिक रुपमा क्याम्पस चिफहरु पनि फेर्दैछौ र समायोजन टुङ्गेको छैन । समायोजन भएपनि त्यसले पूर्णता पाएको छैन पूर्णता दिनु छ । त्यो हुने बित्तिकै त्यहाँको प्रशासनिक लगायत सम्पूर्ण गतिविधिहरुको कार्यान्वयमा जान्छौ । यस्तै एकेडेमिकतर्फ पनि विभिन्न तवरले अघि बढ्दै छौ । विश्वविद्यालयले अगाडि सारेको कार्यक्रमले उच्च शिक्षा क्षेत्रमा अध्ययन गर्न चाहनेहरुको लागि पनि सुनौलो अवसर भएको छ । त्यो ठूलो कुरा हो नभएभने कोही कुमाउ जाने कोही पर राजस्थानको नक्कली विश्वविद्यालयमा जाने गरेको थिए । क्रमिक रुपमा हरेक क्षेत्रमा, प्रशासनिक, भौतिक, आर्थिक रुपमा सबैमा काम गर्नुपर्ने छ । 

–विश्व विद्यालयलाई उत्कृष्ट प्राज्ञिक केन्द्रको रुपमा विकास गर्नको लागि के गर्दै हुनुहुन्छ ?

हेर्नुस प्राज्ञिक केन्द्रको रुपमा विकास गर्नको लागि विश्वविद्यालयमा पहिले त शैक्षिक कार्यक्रमहरु राम्ररी चल्नुपर्याे । सामान्यतया आफूले दिएका कार्यक्रमहरु राम्ररी चल्नुपर्याे । चाहे ति स्नातक या स्नाकोत्तर क्षेत्रका कार्यक्रम हुन् । त्यसपछाडि क्रमिक रुपमा विश्वविद्यालयमा क्रमिक रुपमा शैक्षिक कार्यक्रमहरुको विस्तार हुनुपर्याे भन्नुको अर्थ सधैँभरी बीए भन्यो एउटै विषय पढाएर बस्ने होईन् । विश्वविद्यालयले क्रमिक रुपमा शैक्षिक कार्यक्रमहरुको विस्तार गर्दै जानुपर्छ । अर्काे कुरा विशवविद्यालयले अनुसन्धान क्षेत्रतिर जोड दिनुपर्याे । जुन हामीले एमफिल पीएचडी लगायतका कार्यक्रम अघि बढाएका छौ । यस्तै पब्लिकेसनको पनि विश्वविद्यालयले विकास गनुपर्ने हुन्छ तर हामी कहाँ त्यो छैन । तर हामीले पहिलो पटक फारवेस्ट रिभिङ भन्ने जर्नल ल्याउँदैछौ । जनरलको पब्लिकेसन हाम्रो आउँदैछ र अनुसन्धानको लागि अहिलेसम्म गरेका छैनौ तर हामीले अनुसन्धान पनि गराउँदैछौ ।    शिक्षकहरुलाई अनुसन्धानको कार्यक्रम दिएर हामी अनुसन्धान क्षेत्रमा अगाडि बढ्दैछौ । यसका साथसाथै विश्वविद्यालयसँग साँस्कृतिक केन्द्रको राम्रो पुस्तकालय अपुग छ त्यो बनाउनुपर्नेछ । त्यसको स्थापना नगरेर हुँदैन विद्यार्थीलाई पढ्नलाई सहज वातावरण पनि हुन्छ । तब त विश्वविद्यालय बन्छ । यसको शैक्षिक कार्यक्रम बढाई लेखाई सबै कुराहरु अध्ययन अनुसन्धानसँगै अरु सुविधाहरु समग्र रुपमा विस्तारै विकास गर्दै गयो भने विस्तारै विश्वविद्यालय प्राज्ञिक रुपमा अगाडि बढ्दै जाने हो । यो नसोच्नुस कि एक दिनमा एक महिना अथवा एक वर्षमा नै विश्वविद्यालय कायापलट हुन्छ भन्ने पनि होईन । विश्वविद्यालय प्रणालीमा गयो कि गएन त्यसकारण एकेडेमिक प्रणालीमा गयो भने विस्तारै परिवर्तन हुँदै जान्छ । यो सँगै बाहिर विश्वविद्यालयको क्षेत्रमा पनि परिवर्तन आउँछ । म तपाईलाई नै सोध्छु विश्वविद्यालयको बारेमा बाहिर के भनिन्छ ? म नियुक्त भएर विश्वविद्यालयमा आउँदा खेरी मान्छे अचम्मित थिए के नै हुन्छ र यहाँ भन्ने थियो । तर त्यो भनेर त कहाँ हुन्छ यो पनि विश्वविद्यालय हो भनेर लागेको अवस्था छ  । त्यसपछि ‘वी केन डु’ त्यो तरिकाले जाउँ भन्ने मलार्ई लाग्छ आफैले त्यो भन्नु भएन तर सकारात्मक नै सन्देश बाहिर गएको जस्तो लाग्छ । 

–विश्व विद्यालयलाई अध्ययन अनुसन्धानको क्षेत्रमा अग्रणी बनाउनको लागि के गर्नु पर्ने देखिन्छ ?

हो अहिले म यहि प्रक्रियामा छु । अध्ययन अनुसन्धानमा अगाडि बढाउन धेरै श्रोत आवश्यक पर्छ । धेरै सुविधा चाहिन्छ । सरकारबाट पनि सहायेग चाहिन्छ, स्थानीय सरकार, प्रदेश सरकार सबैबाट सहयोग चाहिन्छ । कुनै पनि अनुसन्धान गर्ने हो भने खर्चिलो उपाय हो । जस्तै हाम्रा अहिले एमफिलका विद्यार्थी छन् ति विद्यार्थीलाई स्थानीय निकाय होस कि, प्रदेश सरकार होस अथवा केन्द्रीय सरकार होस् छात्रवृत्ति दिनुपर्छ । विश्वविद्यालयले त्यो दिन सक्दैन नि । त्यसकारण सबैबाट सहयोग चाहिन्छ सबैको भूमिका चाहिन्छ । सबैबाट सहयोग भयो भने अनुसन्धान गर्ने विद्यार्थीले अगाडि बढ्ने मौका पाउनेछन् । यसरी विश्वविद्यालयको अनुसन्धान गर्ने विद्यार्थी तीन, चार ब्याच अगाडि गयो भने के हुन्छ भने हामी कहाँ अहिले पनि एउटा शिक्षक अस्ट्रेलियाबाट, एउटा शिक्षक हङकङबाट पढाइरहनु भएको छ । यस्तै काठमाडौबाट सात जना शिक्षकहरुले पढाइराख्नु भएको छ । भोलि हामीले अध्ययन अनुसन्धानको उच्च विधालाई स्थान दियो भने आफ्नो मान्छे उच्च क्षेत्रमा प्रवेश गर्छ र विश्वविद्यालयको स्तर पनि बढ्दै जान्छ ।

– जस्तो तपाई पनि सुदूरपश्चिम क्षेत्रबाट हुर्किएर अझ सुदूरपश्चिमकै  शिक्षाको उच्च क्षेत्रमा पनि हुनुहुन्छ । यहाँको शैक्षिक अवस्थालाई कसरी अगाडि बढाउन आवश्यक रहेको देख्नु भएको छ ? 

अब स्वभाविक रुपमा म तपाईलाई साँचो अर्थमा भन्छु म यो क्षेत्रको हुँदैन थिए भने यो उमेरमा मैले यति खट्नु पर्ने कुनै आवश्यकता थिएन । त्यो मैले पद पाए ठूलो पाए त्यो हाउगुजी मलाई केही देखाउनु छैन । मैले यसलाई त अवसरको रुपमा यस अर्थमा लिएको छु कि मेरो घरमा आएको छु मेरो घरलाई बनाउनु पर्छ भन्ने हो । त्यो अवधारणाले मलाई दुखमा बाबजुद पनि काम गर्न उत्प्रेरित गरि रहेको छ । त्यो उत्प्रेरणा यस अर्थमा कि घरमा छु यो घर बेघर बनायो भने त मलाई मेरो सन्तति भनौ विद्यार्थी क्षेत्रलाई नराम्रो असर पार्दछ । त्यसकारण पनि म यस ठाउँको भएर अरु भन्दा पनि थप उर्जाशिल भएर काम गरिरहेको अवस्था छ । यसको एउटा मात्रै अनुरोध मेरा तपाई लगायत मिडियालाई भयो, नागरिकलाई भयो, बाहिरका साथीहरुलाई भयो मेरो अनुरोध के मात्र हो भनेपछि हामीले हाम्रो स्वरुपलाई आफैले परिवर्तन गर्नुपर्छ । मेरो गरेको काम हो विरोध गर्नु हुन्न सबै काम राम्रो हो भन्दैन । तर के भन्दा खेरी अलिकति सोचेर हैन के भएको छ अध्ययन गरेर के गर्दा उपयुक्त हुन्थ्यो त्यो विवेकमा ल्याउनु ठूलो कुरा होईन । तर अब खाली सबै कुराको विरोधै मात्रै गरेर त समाज बन्दैन । कतिपय यस्ता कुराहरु हुन्छन् जुन अध्ययन गरेर बोल्नु भन्दा हामी कहाँ स्वभाव नै कस्तो भयो भन्दै झट्ट हेर्याे फ्वाट्ट विरोध गरिहाल्यो त्यो प्रवृति छ । तरपनि यस्तो प्रवृति विस्तारै कम होला भन्ने अपेक्षित छु ।