डा.लक्ष्मीकान्त पन्तको सङ्क्षिप्त जीवनी

आइतबार असोज ३, २०७८/ Sunday 09-19-21
Paschim Today

श्री महेश रामायण सभाका प्रमुख सूत्रधार डा.लक्ष्मीकान्त पन्तको जन्म तत्कालीन डोटी जिल्लाको दानकोट गर्खा अन्तर्गत रहेको (हाल शिखर न.पा. व.डा.न.—९) उच्चाकोटस्थित ख्याति प्राप्त वैद्य परिवारमा बुवा वैद्य श्री चन्द्रकान्त पन्त र आमा नर्मदा देवीको कोखबाट वि.सं. १९७६ मंसिर १९ गते भएको थियो । उहाँका बुवा त्यस भेगमा नामचलेका एक सफल चिकित्सक हुनुहुन्थ्यो । बुवाको जीवनको उत्तराद्र्धकालमा लामो प्रतीक्षा पश्चात् पुत्रलाभको रूपमा भएको उहाँको जन्मबाट परिवारमा खुशियाली छाएको थियो भनिन्छ । त्यसैकारण बाल्यकालमा उहाँको लालनपालनमा कुनै कमी राखिएको थिएन ।

आफ्नो घर परिस्थिति एवं वृद्धावस्था समेतलाई ध्यानमा राखेर उहाँका बुवाले नै उमेर १२ वर्ष नपुग्दै उहाँका दुइटा विवाह (पहिलो डोटी मुड्भरा निवासी जोशी परिवारकी कन्या त्रिपुरा सुन्दरी देवीसँग र दोस्रो डडेल्धुरा दाउँल निवासी उपे्रती परिवारकी कन्या भागीरथी देवीसँग) गरि  दिनुभएको थियो । तर उहाँको बाल्यकालका पछिल्ला वर्षहरू त्यति सुखमय हुन सकेनन् किनभने नौ वर्षको उमेरमा उहाँकी आमाको र चौध वर्षमा बुवाको देहावसान हुन जानाले उहाँ कलिलै उमेरमा आमा–बुवाको स्नेहिल वात्सल्यबाट वञ्चित हुन पुग्नुभएको थियो । 

उहाँको बाल्यकालीन शिक्षा कुलीन ब्राह्मण रीतिरिवाज मुताविक अक्षरारम्भ, उपनयन, वेदारम्भ आदि कर्महरूसहित बुवाकै सान्निध्यमा घरमै सम्पन्न भएको थियो । घरपरिवारबाटै साक्षरता शिक्षा प्राप्त गरिसकेपछि उहाँले १२ वर्षको उमेरमा एक वर्ष जति डडेल्धुरामा आफ्नै ससुरा आयुर्वेदीय चिकित्सक कविराज नन्दलाल उप्रेतीको सान्निध्यमा रहेर र त्यसपछि २ वर्ष जति डोटी शिलगढीस्थित त्रिचन्द्र भाषा पाठशालामा पं. सिद्धराज जोशीको सानिध्यमा रहेर प्रारम्भिक शिक्षा आर्जन गर्नुभएको थियो । किशोरावस्थामै सन्तान सुख प्राप्त भइसकेको भए पनि थप शिक्षा आर्जनको लालसा र पैतृक पेशाको आर्कषण एवं परिवारका ज्येष्ठ संरक्षकहरूको प्रेरणास्वरूप उहाँ भारतको उत्तर प्रदेशस्थित गोला गोकर्णनाथ भन्ने ठाउँमा जानुभई त्यहाँ केही वर्ष संस्कृत शिक्षातर्फ पूर्वमध्यमाका साथै अंग्रेजी शिक्षातर्फ कक्षा नौसम्मको अध्ययन पूरा गरिसकेपछि उत्तरप्रदेशकै पीलीभीत स्थित ललितहरि आयुर्वैदीय कलेजमा अध्ययन गरी सन् १९४५ मा बोर्ड अफ इण्डियन मेडिसिन्स, लखनऊ अन्तर्गतको मिश्रित चिकित्सा शिक्षामा पञ्चवर्षीय डिप्लोमा (डीआईएमएस) उपाधि प्राप्त गर्नुभएको थियो ।

आयुर्वेदीय चिकित्सा उपाधि प्राप्त गरेपछि उहाँ भारत उत्तर प्रदेशस्थित अघि डोटीराज्यकै सन्ततिहरूले स्थापित गरेको खैरीगढ राज्यअन्तर्गत तत्कालीन डोटीराज्यबाट स्थानान्तरित थुप्रै प्रवासीहरूको वसोवास रहेको सिँगाही भन्ने ठाउँमा गई स्वायत्त चिकित्सा सेवा गर्न थाल्नुभयो । केही वर्ष त्यस्तो सेवाबाट आर्थिक लाभका साथै यश प्रतिष्ठासमेत आर्जन  गर्दैगर्दा उता घरतिर पारिवारिक दायित्व निभाउने सिलसिलामा २००४ सालतिर आफू जन्मेकै थातथलोमा फर्कनुभयो । घरव्यवहार मिलाउने क्रममा नयाँ घर निर्माणका साथसाथै भरणपोषणको प्रमुख साधन पारम्परिक कृषिकर्मको सुव्यवस्था मिलाएर आफ्नो पेशागत चिकित्सा सेवासमेत गर्दैगर्दा स्थानीय समाजमा राम्रै नाम कमाउन सफल हुनुभयो ।

यसैगरी जीवन अघि बढ्दै गर्दा आफ्नो कुलमा पुस्तैनी रूपमा चलिआएको अग्रजहरूले सरकारी औषधालयहरूमा कविराज वैद्य भई काम गर्दा गर्दै सामाजिक प्रतिष्ठासमेत प्राप्त गर्ने गरेको देख्दा उहाँले पनि २००८ सालमा सरकारी स्वास्थ्य सेवामा प्रवेश गरी त्यस क्षेत्रका डोटी, डडेल्धुरा, अछाम, बझाङ लगायतका औषधालयमा रही केही वर्ष अतिरिक्त कविराज पदमा काम गर्दै सार्वजनिक स्वास्थ्य सेवा क्षेत्रको अनुभव पनि प्राप्त गर्नुभयो । तर सरकारी सेवाबाट खासै सन्तुष्टि पाउन नसकेपछि २०१२ सालमा राजीनामा गरी पुनः आफ्नै परम्परागत कृषि कर्मका साथसाथै स्वायत्त चिकित्सा सेवा कार्यमा फर्कनुभयो ।

यसरी निजी, सरकारी एवं देश, परदेशलगायतका क्षेत्रहरूमा पेशागत अनुभव पश्चात् फेरि घरपरिवारमै रहेर चिकित्सा सेवामा संलग्न हुदै खाली समयमा गान्धीवादी दर्शनको साथै मर्यादा पुरुषोत्तम श्री रामचन्द्रको आदर्श चरित्र सम्बन्धी अध्ययन समेत गर्दैगर्दा उहाँको जीवनमा एउटा ठूलो मोड आयो । जसले गर्दा उहाँको जीवनधारा एउटा गृहस्थको अनुरागी मार्गबाट एउटा सन्यासी झै बैरागी मार्गतिर मोडिन पुग्यो । आफ्नो वैरागी जीवनको प्रथम चरणमा उहाँ भगवत् भक्तिभावमा यतिबिघ्न मग्न हुनु हुन्थ्यो कि भजन कीर्तनको समयमा कहिलेकाहीँ स्वयं नाच्न थाल्नु हुन्थ्यो । अखण्ड रामायण पाठको सिलसिलामा भक्तिभावको प्रसङ्ग आएपछि भावविह्वल भई उहाँका आँखा अश्रुश्राविता हुने गर्दथे । यो परमेश्वरको प्रेरणास्वरूप नै भएको मान्नु पर्छ कि उहाँको मन लोककल्याणकारी मार्गतिर मोडियो । फलस्वरूप उहाँमा ‘समाजसेवा नै सर्वाेत्कृष्ट सेवा हो’ भन्ने भावना जागृत हुनपुग्यो ।

यसै भावनाको आलोकमा डुब्दै गर्दा उहाँले आफ्नो विचारअनुसारको काम व्यावहारिक जीवनमा अघि बढाउने उद्देश्यबाट निर्देशित हुदै आफ्नै गाउँ र छरछिमेक गाउँका केही सहयोगीहरू लिएर २०१४ सालमा ‘श्री महेश रामायण सभा’नामक एउटा संस्था गठन गर्नुभयो । यस संस्थाको गठन भएकै बेलादेखि उहाँले अरूसँग व्यक्त गर्दै गर्न खोजेका कामहरूप्रति आकर्षित भएर सरसल्लाह सुझाउ दिँदै सहयोग पु¥याउने व्यक्तिहरूमा उच्चाकोटका क. तेजनाथ पन्त, क. खगेन्द्रनाथ पन्त, क. धर्मदेव पन्त, पं. परमानन्द पन्त, प्र.अ.लोकराज पन्त, मा.हरिप्रसाद पन्त, जैनोलीका मु. प्रयागदत्त पन्त, वि. श्रीधर पन्त, छोयाका पं. टीकादत्त रोस्यारा, मु. शिवराज रोस्यारा, बोकटाका पं. वासुदेव जोशी, उजलीगाउँका पु. हरिकृष्ण भट्ट  लगायत अन्य धेरै जना रहेका थिए, तापनि प्रारम्भिक अवस्थामा विशेष गरी उहाँसँग निरन्तर सक्रिय रहेर जुटेका प्रमुख उल्लेखनीय सहयोगीहरूमा उच्चाकोटका पं. वासुदेव पन्त, मु. वासुदेव पन्त, डा.दुर्गाप्रसाद पन्त, जैनोलीका ख. भोजराज पन्त, मु. धर्मराज पन्त, छोयाका पं. जयराज रोस्यारा र बोकटाका पं. कृष्णलाल जोशीका अतिरिक्त स्वामी बलदेव गिरी पनि हुनुहुन्यो ।

यसप्रकार, स्थानीय रूपमा प्रभावशाली र सक्रिय सहयोगीहरूलाई साथ लिएर गठन गरिएको रामायण सभाको माध्यमबाट डा. लक्ष्मीकान्त पन्तले सर्वप्रथम घरघरमा रामचरित मानस अखण्ड पाठ, अनुष्ठानादि कार्यहरू आयोजनका माध्यमबाट समाजमा असल विचारको संचार गर्दै सबैलाई समाजसेवामा जागृत गराई श्रमदान, मुष्ठीदान, अर्थदान आदि सङ्कलनसहित शिक्षण संस्था स्थापना एवं सञ्चालन गरेर पूर्ण समर्पण भावले पहाड, मधेश लगायत त्यस क्षेत्रमा व्यापक जनसहभागिता परिचालन गर्नुभयो । यसरी आर्थिक एवं श्रम सहयोग जुटाएर गाउँकै शिरानमा रहेको गोल्माकोट डाँडामा रामाश्रम स्थापना गर्दै त्यहाँ राम मन्दिर आदि संरचनाहरू निर्माणका साथै सीतारामका नामबाट प्राथमिक पाठशाला खोल्नुभयो । यसै क्रममा २०१६ सालमा सीताराम संस्कृत पाठशालाको समेत स्थापना गर्न सफल हुनुभयो । यस क्षेत्रको पिछडिएको समाज उत्थानका लागि शिक्षा प्रदान गर्ने हेतुले रामायण सभाको माध्यमबाट डा. लक्ष्मीकान्तले आफ्ना कर्मठ सहयोगीसहित सञ्चालन गरिरहनुभएको सेवाकर्मबाट प्रभावित भएर २०१७ सालको जेष्ठ महिनामा तत्कालीन कृषि, खाद्य तथा वन मन्त्री श्री शिवराज पन्तले सरकारी वार्षिक अनुदान रु. ७, २०० सहित सीतारामकै नामबाट हाइस्कूलसमेतको स्वीकृति प्रदान गराएर उहाँको काममा ठूलो सहयोग पु¥याइदिनुभएको थियो ।

यसरी विभिन्न विद्यालयहरू, छात्रावास, मन्दिर, गौशाला, धुनिघरका अतिरिक्त व्यापारिक प्रयोजनलगायतका भवनहरू रहेको रामाश्रमीय संस्थाहरूको स्थापना र विकासका लागि प्रारम्भका ४/५ वर्षसम्म पुत्रदारादिमा ममत्व नराखी गृहपरिवारसमेत त्यागेर मन–वचन–कर्मले पूर्ण समर्पित भई लाग्नुभएकाले उहाँको समाजसेवा अभियानमा राजनैतिक नेता, सरकारी कर्मचारी एवं त्यस क्षेत्रका स्थानीयका साथै पहाड, मधेश सबैतिरका जनताहरूको विश्वास जितेर उनीहरूको मन–वचन–कर्मले पूर्ण सहयोग प्राप्त गर्न सफल हुनुभएको  थियो ।

यसका अतिरिक्त उहाँले छिमेकी गाउँ गर्खा र जिल्लाहरूमा समेत शिक्षण संस्थाहरूको स्थापना एवं विकासमा समेत सरसल्लाह एवं सहयोग प्रदान गर्ने गर्नुभएको थियो । आफ्ना यिनै निःस्वार्थ सेवाकर्मबाट छिट्टै समाजमा उहाँको निष्कलंक छवि स्थापित हुनपुग्यो । सारांशमा भन्नुपर्दा, रामायण सभाको सुदृढ संस्थागत आधारको सुव्यवस्थित प्रयोगको फलस्वरूप नै उहाँले चलाउनुभएको निःस्वार्थ समाजसेवाको सुवास पिछडिएको त्यस क्षेत्रको ग्रामीण बस्तीहरूबाट छोटो अवधिभित्रै राजकीय सत्ताको पटाङ्गिनीसम्म पुग्नसक्दा उहाँ शासकीय निर्णयबाट एउटा स्वतन्त्र समाजसेवीको हैसियतले तत्कालीन सेती अञ्चलका जनताको प्रतिनिधिको रूपमा मनोनित भई २०१९ सालमा राजधानीमा आयोजित राष्ट्रिय बुद्धिजीवी सम्मेलनमा भाग लिन सफल हुनुभएको थियो ।

डा.लक्ष्मीकान्त पन्तको रामायण सभामा योगदानलाई राममन्दिर निर्माण, विद्यालय स्थापना र सञ्चालन गर्ने कुरामा मात्र सीमित राख्न सकिन्न । वास्तवमा, उहाँ त समाजका पिछडावर्गलगायत सबैको विद्यालय शिक्षामा सहज पहुँच पुग्न सकोस् भन्ने कुरामा समेत सजग हुनुहुन्थ्यो । यसै कुरालाई ध्यानमा राखेर समाजमा हुनेखाने वर्गबाट बढीमात्रामा आर्थिक सहयोग सङ्कलन गरेर सामान्य अवस्थाका परिवार मुलीहरूबाट एकमुष्ट रु.३५।– मात्र चन्दादान प्राप्त भए पनि त्यस्ता परिवारबाट पढ्न आउने विद्यार्थीहरूलाई रामायण सभाको विद्यालयमा कक्षा ५ सम्म निःशुल्क शिक्षाको प्रावधान राखिएको थियो । त्यसमा पनि विशेष गरी छात्राहरू र तल्लो जाति भनिने पिछडावर्गका बालबालिकाहरूका लागि विद्यालयमा पूर्ण निःशुल्क व्यवस्था मिलाइएको थियो । डा. पन्त स्वयंले पनि आफ्ना छोरीहरूका साथै नवविवाहिता बुहारीहरूलाई समेत स्कूल पठाउनुभएको थियो  र अरूलाई पनि पठाउन विशेष आग्रह गरिरहनुहुन्थ्यो । यसबाट उहाँ नारीशिक्षाका साथै पिछडावर्गको उत्थानका पक्षधर हुनुहुन्थ्यो भन्ने कुरा पनि पुष्टि हुन्छ ।

डा. लक्ष्मीकान्तको रामायण सभाको कार्यक्रमप्रति व्यापक दृष्टिकोण रहेको थियो । उहाँले रामायण सभाका कार्यक्रम सामाजिक विकासका अन्यान्य क्षेत्रमा समेत सञ्चालन गर्ने सोच राख्नुभएको थियो । यस सिलसिलामा रामायण सभाद्वारा चलाइएका कार्यक्रमहरूमध्ये मोटरबाटो बनिनसकेको तत्कालीन अवस्थामा पहाडबाट तराईंतिरका मुख्य हाटबजार जाने गोरेटो बाटो श्रमदान जुटाएर सुधार गरिनु र जीवनयापनको मुख्य साधनको रूपमा रहेको कृषि कर्म अन्तर्गत ब्राह्मण जातिमा परम्परागत रूपमा वर्जित रहेको हलो जोत्ने काममा कुनै दोष नरहेकोले प्रतिष्ठित ब्राह्मण परिवारका वरिष्ठ सदस्य पं. परमानन्द पन्त, पं. कृष्णलाल जोशी लगायतका विद्वान् ब्राह्मणहरू समावेश गरी सार्वजनिक रूपमै हलो जोत्ने कार्यक्रम राखी शुभारम्भ गरिएको थियो । 

यसप्रकार डा. लक्ष्मीकान्तले आफ्ना सहयोगीहरूसहित रामायण सभाका माध्यमबाट सामाजिक जागरण र विकासका क्षेत्रमा सञ्चालन गरिएका कामहरू तत्कालीन सामाजिक अवस्थाको सन्दर्भमा निकै महत्वका देखिन आउँछन् । रामायण सभाको गठनकाल २०१४ सालदेखि २०२१। २२ सालसम्म घरपरिवार समेत त्यागेर लागेका डा. पन्तले पूर्ण समर्पित भई काम गर्नु भयो भने तत्पश्चात् पनि वि. सं. २०२५ सालमा मु. धर्मराज पन्त र २०२७ सालमा कर्णसिंह साहुलाई केही समय सेक्रेटरी पदको कार्यभार सुम्पिनुभए पनि नैतिक दायित्व उहाँमा नै रहिरहेको हुँदा विद्यालय सञ्चालनमा सेक्रेटरी पदको दायित्व २०२९ सालमा तत्कालीन स्थानीय युवा भक्त बहादुर बलायरलाई औपचारिक रूपमै नसुम्पे सम्म सबैगरी १४ वर्ष सामाजिक सेवा कार्यमा धेरै मात्रामा निःस्वार्थ भावले निरन्तर लागिरहनुभयो । वि.सं.२०३२ सालको अन्त्यतिर सीताराम हाइस्कूलमा राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू भएपछिको व्यवस्थाअनुसार पनि २०३३। २। १० मा गठित विद्यालय व्यवस्थापन समितिदेखि २०४०। ११। २ मा हरिप्रसाद पन्त (जैनौली)को अध्यक्षतामा गठित वि.व्य.स.ले पदभार ग्रहण नगर्दासम्म कायम रहेका सबैगरी चारवटा वि.व्य.स.मा समेत उहाँ नै अध्यक्ष पदमा कार्यरत रहेको उपलब्ध विवरणबाट देखिन्छ । 

महेश रामायण सभा र त्यस मार्फत स्थापना भएका विद्यालय लगायतका संस्थाहरूको प्रत्यक्ष सञ्चालन कार्यबाट आंशिक रूपमा बिश्राम लिएपछि उहाँले केही समय आफ्नै गाउँमा र २०३२ सालदेखि २०४१ सम्म सेती नदीको किनारमा रहेको डोटीको गोपघाट भन्ने ठाउँमा मोटरबाटो नरहेको तत्कालीन अवस्थामा मूलबाटोछेउमा घर बनाई त्यस क्षेत्रका मानिसहरूलाई यथासक्य स्वास्थ्य उपचार सुविधा प्रदान गर्ने हेतुले केही वर्ष निजी चिकित्सा सेवा कार्य सञ्चालन गर्नुभयो । त्यसपछि त्यहाँबाट स्थानान्तरित भई २०४१ सालतिर तराईं क्षेत्रको कैलाली जिल्ला अन्तर्गत धनगढीनजिक रहेको श्रीपुर बिजौरा क्षेत्रमा आफ्नो परिवारसँगै बस्न थाल्नुभयो । त्यहाँ बस्दा पनि आफ्नो स्वास्थ्यले भ्याएसम्म त्यस क्षेत्रका विद्यालयहरूको सञ्चालनमा सरसल्लाह प्रदान गरिरहनुभयो ।

आफूले स्थापना गरेको रामायण सभा वा त्यसमार्फत स्थापना हुन गएका विद्यालय लगायतका संस्थाहरूको सञ्चालन। व्यवस्थापन कार्यमा प्रत्यक्षतः संलग्न नरहेका पछिल्ला वर्षमा समेत उहाँ समय–समयमा ती संस्थाहरूको अवस्था र प्रगति सम्बन्धमा चासो राखिरहनुहुन्थ्यो । वि.स.२०४७। ४८ तिर सीताराम माध्यमिक विद्यालयको उच्च माध्यमिकमा स्तरोन्नति गर्न चलाइएको चन्दा सङ्कलनलगायतका काममा उहाँ फेरि सक्रिय भएर २०४९ सालमा काम सम्पन्न नभएसम्म आफ्नो वृद्धावस्थाका बावजूद अर्थसङ्कलन एवं राजनैतिक क्षेत्रमा आफ्नो माग पु¥याउन काठमाडौँसम्म पुग्नु भएको थियो । त्यसै सिलसिलामा उहाँको निःश्वार्थ समाजसेवाको कदरस्वरूप तत्कालीन श्री ५को सरकार, नेपालबाट उहाँलाई प्रबल गोरखा दक्षिण बाहु पदक प्रदान गरिएकोले २०४९ सालमा नेपाल नरेश वीरेन्द्रबाट उक्त मानपदविबाट अलंकृत गरिनुभएको थियो ।
आफ्नो जीवनका अन्तिम वर्षहरूमा बार्धक्यले च्याप्दै जाँदा पनि धार्मिक आध्यात्मिक साहित्यको अध्ययन एवं चिन्तन मनन गर्न छोड्नु भएन । अन्तिम समय आइपुग्दा बार्धक्य रोगजनित एक÷दुई महिनाको गम्भीर अस्वस्थताको उपचारकै क्रममा २०६१ साल चैत्र १० गते धनगढी तारानगरस्थित उहाँकै पुत्र आयुर्वेदविद् डा. मुक्तिकान्तको घरमा ८६ वर्षको उमेरमा उहाँको देहावसान भयो । हाल उहाँका दुई धर्मपत्नी मध्ये जेठी त्रिपुरासुन्दरी तथा उहाँतर्फका पुत्रहरूमध्ये पहिले नै दिवंगत भइसक्नुभएका ख्यातिप्राप्त कवि एवं साहित्यकार देवकान्तबाहेक डा. मुक्तिकान्त, डा. विष्णुकान्त र हेमकान्त गरी तीनजना र चार पुत्रीहरू सरस्वती, हरिप्रिया, चम्पा र चित्रा एवं कान्छी तर्फका चार पुत्रहरू धर्मकान्त, प्रभुकान्त, ललितकान्त र टीकेश्वर समेत सबैजना सकुशल जीवनयापन गर्दै आ–आफ्ना सन्ततिहरू लगायत उत्तरोउत्तर प्रगतिमार्गमा अग्रसर रहनुभएको छ ।

(डा. लक्ष्मीकान्त पन्तको यो सङ्क्षिप्त जीवनी उहाँका पुत्र आयुर्वेदविद् डा. मुक्तिकान्तद्वारा लिखित ‘स्व. डा. लक्ष्मीकान्त  पन्तको सङ्क्षिप्त जीवनी’ शीर्षकमा महेश रामायण सभा स्वर्ण जयन्ती स्मारिका २०६४ मा छापिएको लेख तथा सीताराम उच्च माध्यमिक विद्यालय स्वर्ण जयन्ती स्मारिका, २०६७ लगायतका विभिन्न स्रोत सामग्रीहरूबाट प्राप्त जानकारी समेतका आधारमा प्रा.डा.यज्ञराज पन्तले परिमार्जित गर्नुभएको हो ।)