Close This

कविता : अभाव

बुधबार असोज १३, २०७८/ Wednesday 09-29-21
कैलासकुमार पाण्डेय

पूरा जिन्दगी अभावै अभावमा बित्ने भो
सायद अभाव मेरै लागि बनेको हो कि
बरदानै हो गरीवका लागि
गरीवीको पहिचान हो अभाव
हुनत मैले खाने मकै ,कोदोको ढिडो
तारे होटलको परिकार हुदैछ
मैले लाउने बिर्के टोपी
मेरी श्रीमतीले लाउने गुन्युचोलो
प्रदर्शनीको पहिरन हुदैछ
गरीबै भनु त कसरी भनु
तर छाक टार्न र जहान पाल्न धौ छ
म त गरीबीको रेखामुनि छैन हुला
किनकी म त्यसमा रहे भने
म संग मागीखाने दले सार्की
कहाँ जालान
एक हल गोरु दुहुनो गाई
दन्त्यकाथाको कथा हो जस्तो लाग्छ
देशै गरिब भएको बेला
देशका नागरिक सम्पन्न कसरी होलान
ऋणमा चलेको छ देश भने
मेरो अभावको कुरा सामान्य हो
भन्थे सोमालियामा रुखका बोक्रा खान्थे रे
उइले उइले सकिना मकिनाले छाक टार्थे
मेल,तिमुलो,तरुल,गिठा खान्थे रे
भोकमा के खाइदैन झोकमा के भनिदैन
अभावको कथा दतराम पाण्डेयको र
दलि टमटाको उस्तै उस्तै हो
अभावमा जिउनुको मज्जा बेग्लै
अभाव  जति आनन्द छ
सम्पन्नतामा त्यति छैन
अभावमा श्रम,पसिना छ
श्रमको फल राम्रो हुन्छ
अभाव संग चुनौती हुन्छ
चुनौतीको सामना गर्नेले अवसर पाउछ
सम्पत्तिले ईर्ष्या जन्माउछ
सम्पत्ति ,बिपत्ति जन्मसिद्ध होइनन
बरदान पनि होइन
अभावको कथा सुदामाले
श्रीकृष्णलाई देखाए,सुनाए
अभावको प्रतिशोधले द्रुपद र द्रोणको
द्वन्द्व चल्यो र महाभारत बन्यो
मागेको रोटी एक छाक न हो
जिन्दगी त कति छ कति
अभावले कर्मको पाठ सिकाउछ
अभावको कुनै सिमानै छैन
असीमित अभावमा बाच्न
प्रयाप्त छ जिन्दगी ।।