'गेटा मेडिकल कलेज सम्बन्धन लिने होईन, सम्बन्धन दिने मेडिकल युनिभर्सिटी बनाईनु पर्छ'

शनिबार असोज १६, २०७८/ Saturday 10-02-21
दीर्घराज उपाध्याय

गेटा मेडिकल कलेजको पहिलो चरणको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म मेडिकल कलेजको निर्माण कार्यमा साढे तीन अर्व रुपैया सरकारले लगानी गरिसकेको छ । कैलालीको गोदावरी नगरपालिका–५ मा ५१ हेक्टर क्षेत्रफलमा फैलिएको गेटा मेडिकल कलेजको नामाकरणसंगै यसको प्रारुप कस्तो हुने भन्ने विषयमा यतिबेला तिब्र बहस भईरहेको छ । गेटा मेडिकल कलेजको निर्माण, प्रारुप र सञ्चालनसंग सम्बन्धित विषयमा केन्द्रित रहेर भए गेटा मेडिकल कलेज निर्माण विकास समितिका अध्यक्ष डा. चेतराज पन्तसंग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौ ।

गेटा मेडिकल कलेजको निर्माण कार्य कति प्रतिशत काम पुरा भयो ?
पहिलो चरण अन्तर्गत निर्माण गर्ने भनिएका साना र ठूला गरी २९ वटा भवन निर्माण भईरहेका छन् । कतिपय भवनको निर्माण कार्य पुरा भईसकेको छ । कतिपय भवन निर्माणाधीन अवस्थामा छन् ।मेडिकल कलेजमा कहिलेदेखि सेवा शुरु हुन्छ ? अहिले बिजुली पानी ढल निकासको काम भईरहेको छ । ढल निकासलाई कसरी व्यवस्थित गर्ने भनेर तीन वर्षदेखि कन्सलट्याण्ट लागिरहेका छन् । कन्सलट्याण्टहरुले कम्तिमा थप तीन महिना ढल व्यवस्थापन गर्न समय लाग्ने बताएका छन् । ढल निकासको व्यवस्थापन भएको एक वर्षभित्रमा हामी सेवा शुरु गर्छौ । 
कति शैयाको अस्पताल सञ्चालन गर्न सक्ने गरी पूर्बाधार र तयारी भएको छ ?
हालसम्म निर्माण भएका संरचना र भवनहरुबाट ६ सय शैयाको अस्पताल सञ्चालन गर्न संभव छ । तर त्योभन्दा पहिला गेटा मेडिकल कलेजको प्रारुप कस्तो हुने त्यो टुंगो लाग्न भन्ने जरुरी छ । यस विषयमा सरकारसंग छलफल गरिरहेका छौ ।

तपाई स्वास्थ्य क्षेत्रसंगै सम्बन्धित हुनुहुन्छ, देशका बिभिन्न भागमा सञ्चालन भएका मेडिकल कलेजको प्रारुप र तिनको अनुभवले के भन्छ, कुन प्रारुपमा चलाए मेडिकल कलेज प्रभावकारी हुन्छ ?
गेटा मेडिकल कलेजलाई प्रतिष्ठान मार्फत सञ्चालन गर्नुभन्दा पनि यसलाई स्वायत्त मेडिकल युनिभर्सिटीका रुपमा सञ्चालन गर्नु यस क्षेत्रका जनताका लागि फाईदाजनक हुन्छ । यो कसैको मातहतमा राख्ने भन्दा पनि स्वायत्त संस्था बनाईनुपर्छ । प्रतिष्ठानहरुलाई पनि छाता संगठन मार्फत सञ्चालन गर्ने नीति बनिरहेको छ । गेटा मेडिकल कलेज प्रतिष्ठान मार्फत सञ्चालन भएमा त्यो नीतिभित्र बाधिने छ । त्यसले यसको दायरा र भूमिकालाई खुम्च्याउने छ । आफ्नो ढंगले सञ्चालन हुन पाउदैन ।

तपाईको भनाईको आशय, गेटा मेडिकल कलेज अरुसंग सम्बन्धन लिने होईन कि अरुलाई सम्बन्धन दिने प्रारुपमा स्वायत्त मेडिकल युनिभर्सिटीका रुपमा हुनुपर्छ भन्ने हो ?
हो, मेरो भनाईको आशय पनि यही हो ।  स्वायत्त मेडिकल युनिभर्सिटीका रुपमा मान्यता पाए गेटा मेडिकल कलेज कसैमा निर्भर हुने छैन । युनिभर्सिटी बनायौ भने यसको आफ्नै मर्यादा र प्रतिष्ठा हुन्छ । अन्तर्राष्ट्रियस्तरमा यसको छुट्टै छाप हुन्छ ।गेटा मेडिकल कलेजलाई अस्पताल र एमवीवीएस पढाई हुने थलोमा सिमित राख्न हुदैन । यो स्वायत्त मेडिकल युनिभर्सिटी भयो भने एमवीवीएस पढाई संगै अन्य स्वास्थ्य प्राबिधिकहरु उत्पादन गर्ने थलो पनि बन्ने छ । मेडिकल युनिभर्सिटीले पहाडी जिल्लाहरुमा समेत बीएस्सी नर्सिङ कलेज र अन्य स्वास्थ्य प्राबिधिक कलेजहरु खोल्न सम्बन्धन दिन सक्छ । त्यसले रोजगारीका लागि पलायन हुने युवाशक्तिलाई रोक्न र रोजगारी सृजना गर्न पनि योगदान पुग्नेछ ।

त्यतिमात्र होईन गेटा मेडिकल कलेजले प्रत्यक्ष रुपमा चिकित्सक, स्वास्थ्यकर्मी समेत गरी एक हजार जना भन्दा बढिलाई रोजगारी दिनेछ । यतिठूलो संख्या रोजगारी सृजना गर्ने गेटा मेडिकल कलेज यस प्रदेशकै पहिलो संस्था हुनेछ ।

अति दुर्गम मानिने कर्णालीमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान सञ्चालनमा आईसक्यो । तर यही प्रकृया र गतिले गेटा मेडिकल कलेजको काम अघि बढ्ने हो भने अस्पताल सञ्चालन हुन एक वर्ष भन्दा बढि र एमवीवीएसको पढाईका लागि थप तीन वर्ष कुर्नुपर्ने देखिन्छ । अहिलेकै नीति अनुसार त तीन सय शैयाको अस्पताल सञ्चालनमा आएको तीन वर्षमात्र एमवीवीएसको पढाई सञ्चालन गर्न पाउने प्राबधान छ नि ?
हो, अहिलेकै नीति अनुसार एमवीवीएसको पढाई शुरु गर्न चार वर्ष कुर्नुपर्ने हुन्छ । तर त्यो पनि एक वर्षभित्र अस्पताल सञ्चालन आएको खण्डमा मात्र । तर गेटा मेडिकल कलेज स्वायत्त मेडिकल युनिभर्सिटी भयो भने फाष्ट ट्रयाकबाट तत्काल एमवीवीएसको पढाई शुरु गर्न सकिन्छ । 

के गेटा मेडिकल कलेज सञ्चालनमा आए सुदूरपश्चिमका प्रदेशका नागरिकको उपचारका लागि भारत वा अन्यत्र धाउनु पर्ने समस्याको अन्त्य हुनेछ ?
यहाँ नागरिकले उपचारका लागि भारत वा अन्यत्र धाउनु पर्ने समस्याको अन्त्य हुने छ । सबै खालका रोग र समस्याको उपचार यही हुनेछ । त्यतिमात्र होईन, भारतीय बिरामीहरु समेत उपचारका लागि यहाँ आउनेछन् । किनकी गेटा मेडिकल कलेजले दिने सेवा सीमाक्षेत्रका भारतीय शहरमा समेत संभव छैन ।

के गेटा मेडिकल कलेज सञ्चालन आएमा मस्तिष्क घात(ब्रेन ह्यामरेज) र हृदयघात (हर्ट अट्याक) रोगको उपचार तथा अप्रेशन हुने छ ?
पक्कै पनि अहिलेसम्म सुदूर पश्चिमका जनताले समयमा उपचार नपाउदा मृत्युवरण गर्नु परेको मस्तिष्क घात र हृदयघात जस्ता तत्काल अप्रेशन तथा उपचार गर्नु पर्ने रोगको मात्र नभएर अन्य जटिल प्रकारका रोगहरुको पनि यही उपचार संभव हुनेछ ।