कमरेडलाई तनाव छ

आइतबार असोज १७, २०७८/ Sunday 10-03-21
महावीर विश्वकर्मा

कमरेडलाई रातो रंग खुव मन पर्छ
रातो भनेको क्रान्ति
रातो भनेको बिद्रोह
उ बेला शिरमा रातै फेटा बाँधेर
लडेका हुन जनयुद्ध
रातै किल्ला घोषणा गरेर
चलाएका हुन जनसरकार
रातै झण्डा बोकेर 
बगाएका हुन रातै रगत

तर अहिले 
कमरेडको रातो स्कारपियोमा
रातै नम्बर प्लेट छ
रातो टाई छेउको गोजीमा
रातै कलम छ 
उ बेला 
कमरेडलाई मन परेको किताव
एंगेल्सको– परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ती
तर अहिले 
लालपुर्जा असाध्यै मन पर्छ
सूर्य रेडको बिन्दास सर्को
युवतीको ओठको रातो लिपिष्टिक
आईएनजिओले ओछ्याएको रेड कार्पेट
ठेकेदारले टक्र्याएको रेड लेवल
सोनागाछीको रेड लाईट एरिया
सबै सबै असाध्यै मन पर्छ कमरेडलाई
किनकी
कमरेडलाई रातो रंग खुव मन पर्छ
रातो भनेको क्रान्ति
रातो भनेको बिद्रोह

केही दिन भयो 
अचेल कमरेडलाई तनाव छ
यो फेसबुकको रंग 
किन रातो छैन ?
छोराले अमेरिकाबाट पठाईदिएको आईप्याड
किन रातो छैन ?
बैंकले छपाएको चेकबुक
किन रातो छैन
शेयरबजारको नेप्से परिसुचक बढ्दा
किन रातो देखिदैन
हो
तनाव छ कमरेडलाई
किनकी कमरेडलाई रातो रंग खुव मन पर्छ
रातो भनेको क्रान्ति
रातो भनेको बिद्रोह