Close This

गृहराज्यमन्त्रीका छोरा आशीष मिश्रा पक्राउ

आइतबार असोज २४, २०७८/ Sunday 10-10-21
Paschim Today

काठमाडौं, २४ असोज । भारत उत्तर प्रदेशको लखिमपुर खीरीको तिकुनियामा किसानमाथि गाडी चलाएको घटनामा अभियुक्त केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्रा टेनीका छोरा आशीष मिश्रा पक्राउ परेका छन् ।

झण्डै १२ घण्टाको बयानपछि शनिबार राति प्रहरीले उनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घटनाको अनुसन्धान गरिरहेको विशेष जाँच टोली (एसआइटी) का डिआइजी इन्चार्ज उपेन्द्र अग्रवालका अनुसार बयानको क्रममा आशीष मिश्रा प्रश्नहरुको उत्तर दिनबाट जोगिन खोजेका थिए। उनले अनुसन्धानमा सहयोग नगरेकाले पक्राउ गरिएको डिआइजी अग्रवालले बताए।

गएको आइतबार लखीमपुर खीरीको तिकुनियामा भएको हिंसामा ८ जनाको ज्यान गएको थियो। केन्द्र सरकारले ल्याएका कृषिसम्बन्धी तीन कानुनविरुद्ध जारी किसानको प्रदर्शनअन्तर्गत आइतबारको झडप अहिलेसम्मकै भयानक हो।

समाचार संस्था पीटीआईका अनुसार झडपमा मारिनेमा चारजना किसान हुन्, उनीहरुको मृत्यु गाडीले किचेका कारण भएको हो। ती गाडी भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताको रहेको जनाइएको छ।

राज्यका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यको स्वागतका लागि गइरहेका गाडीले किसानलाई किचेको थियो। मारिनेमा अरु भाजपाका कार्यकर्ता र ड्राइभर थिए।

आफूहरुमाथि गाडी चलाएपछि आक्रोशित प्रदर्शनकारीले गाडीमा रहेकालाई कुटपिट गरेका थिए। उनीहरुले गाडीमा आगो पनि लगाएको पीटीआईले जनाएको छ।