म आत्मसमीक्षा गर्न तयार छु, एमालेले पनि गरोस् : सभामुख सापकोटा

बुधबार असोज २७, २०७८/ Wednesday 10-13-21
Paschim Today

काठमाडौँ,२७ असोज । सभामुख अग्निप्रसाद सापकोटाले संसद सन्चालनको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गर्न तयार रहेको बताएका छन् । आफ्नो भूमिकाबारे समीक्षा गर्न आफू तयार रहेको बताउँदै सभामुख सापकोटाले एमालेले पनि समीक्षा गर्दै सम्वादमा आउने र आगामी कात्तिक ९ गते बस्ने प्रतिनिधिसभाको बैठक सहजरुपमा सन्चालन हुने विश्वास व्यक्त गरे ।

नेकपा एमालेलाई फुटाउन सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले निरन्तर संसदमा विरोध जनाउँदै आएको छ । संसद सन्चालनको विषयमा सुरुमा सभामुखले र त्यसपछि प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकसमेत एमाले अध्यक्ष केपी शर्मा ओलीले बहिस्कार गरेका थिए ।

सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजया दशमीले सकारात्मक सोचको विकास गराउने विश्वास व्यक्त गरे । सभामुख सापकोटाले भने, ‘राजनीतिमा आग्रह, पूर्वाग्रह, हुन्छ, प्रतिशोध सोच्न पनि सकिँदैन, यी सबै आग्रह पूर्वाग्रह मेटिँदै जानेछन्, सकारात्मक सोचको विकास हुनेछ, अझ निस्कर्षमा पुग्नका लागि सबै औपचारिक, अनौपचारिक,ट्रयाक वान, टू, सबै उपायहरु अवलम्बन गर्नका लागि मैले सकेजति मिहेनत गर्दछु ।’

सभामुख सापकोटाले संसदमा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्ने आरोपको प्रतिवादसमेत गरे । राष्ट्रका संवेदनशील विषयहरु अगाडि बढाउन आफूले सहजीकरण गरेको उनले प्रष्टीकरण दिए ।