Close This

खसी बोकाको माग नबढ्दा व्यापारी निराश

बिहीबार असोज २८, २०७८/ Thursday 10-14-21
जनक धामी

धनगढी,२८ असोज । दशैको मुखैमा समेत खसी बोकाको माग नबढ्दा व्यापारी निराश भएका छन् ।  दसैँ तथा तिहारलाई लक्षित गरी खसी, बोकाको बढी व्यापार हुने गरेको भए पनि विगतको वर्ष भन्दा यो वर्ष व्यापार बढ्न नसकेको उनीहरूले बताएका छन् ।

विगतका वर्षहरूमा खसी बोकाको माग अत्यधिक हुने गरेकोमा यो वर्ष भने खासै माग नभएको सुदूरपश्चिम खसी बोका सङ्कलन केन्द्रका सञ्चालक देवेन्द्र बोहराले बताए ।

“गएको वर्ष दशैको बेला २ सय जति खसी बोका बेचेको थिए तर यस वर्ष खसी बोकाको माग बढी छैन् । कोरोनाका कारण र बली दिने प्रथा कम भएसँगै खसी, बोकाको माग पनि घटेको हुनसक्छ,” उनले भने । दसैँ सुरुभएपनि गत वर्ष जस्तो व्यापार गर्न नपाएको उनले बताए ।

दशैका लागि भनेर तयार गरिएका बोकाहरू खासै बिक्री नभएपछि व्यापारीहरू निराश भएका छन् । दसैँमा बेच्नको लागि भनेर बजारमा ७० ओटा बोका र खसी ल्याएको भए पनि खासै व्यापार नभएको बोहराले बताए ।

“यस वर्ष ६०-७० वटा खसी बोकाहरू बेच्नको लागि भनेर बजारमा ल्याएका थियौ,”उनले भने, “तर त्यो सबै बिक्री हुने सम्भावना कम छ । सुदूरपश्चिममा मासुको माग बढी हो तर भारतबाट लुकी छिपी खसी बोका भित्रिँदा हामीहरूलाई समस्या भएको छ।,”

व्यापार घट्नुमा बली चढाउने प्रचलन कम भएकाले र पूजा गर्दा फलफूलहरूले पूजा गर्ने हुँदा पनि खसी बोकाको माग कम भएको हुन सक्ने व्यापारीको भनाई छ । धनगढीमा खसी बोका बिक्री गर्न पहाडी जिल्लाका व्यपारीहरु समेत यहाँ पुग्ने गरेका छन् ।

कैलालीको चुरैगाँउपालिकाबाट पनि खसी बोका बिक्री गर्न  पुगेका जीवन थापा पनि यस वर्ष निराश भएका छन् । विगत १४ वर्षदेखि सो व्यवसायमा लागेका थापा यस वर्ष भने भनेजस्तो व्यापार नहुँदा निराश भएका हुन् ।

“मैले यो व्यवसाय गरेको १४ वर्ष भइसक्यो,”उनले भने, “तर अहिलेको जस्तो माग कम कहिल्यै भएको थिएन । यस वर्ष सोचे जस्तो व्यापार हुन् पाएन् ।” यस वर्ष खसी बोकाको मूल्य पनि बढ्दा पनि खसी बोका कसैले किन्न नरुचाउने गरेको उनको भनाई छ ।

दसैँ तिहार जस्ता पर्वहरूमा मासु जन्य खानेकुराहरू धेरै खाइने हुँदा पनि धेरैले खसी, बोका किन्ने गरेका छन् । तर यस वर्ष खसी बोका किन्नेको संख्या घटेको छ ।  

 

खसी बोकाको माग नबढ्दा व्यापारी निराश

Posted by Paschim Today on Wednesday, October 13, 2021