११२ वर्षे गार्सिया बने विश्वकै पाको पुरुष

शनिबार असोज ३०, २०७८/ Saturday 10-16-21
Paschim Today

स्पेनका सातुर्निनो डे ला फुएन्टे गार्सियाले संसारको सबैभन्दा बढी उमेरको जीवित पुरुष व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाएका छन् । १ सय १२ वर्ष २ सय ११ दिनको उमेरमा गत सेप्टेम्बर १०, २०२१ का दिन गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले उनको नाम दर्ज गरेको हो ।


सन् १९०९ को फेब्रुअरी ११ मा स्पेनको पुन्टे क्यास्ट्रोमा जन्मिएका सातुर्निनोले आफ्नो जन्मदिन भने हरेक वर्ष फेब्रुअरी ८ मा मनाउने गरेका छन् । तपाईंको दीर्घायूको रहस्य के हो रु भन्ने प्रश्नमा सातुर्निनोको छोटो जवाफ छ– शान्त जीवन बाँच्नुहोस्, अरुलाई पीडा नदिनुहोस् ।

आफ्नो छोटो कदका कारण सन् १९३६ मा भएको स्पेनिस गृहयुद्धमा लडाकुको रुपमा सहभागी हुन नपाउनु नै आफ्नो दीर्घजीवनको प्रमुख कारण रहेको भन्दै उनी आफ्नो होंचो कदलाई धन्यवाद दिन्छन् ।

१.५ मिटर अग्ला सातुर्निनोले गृहयुद्धको जोखिमपूर्ण समयमा युद्धमा सहभागी हुन परेन । उनले जुत्ता बनाउने पेशा गरेर जीविका चलाए । पछि उनले जुत्ता कारखाना नै खोलेर सैनिकका लागि जुत्ता उत्पादन गर्न थाले जसका कारण उनको व्यवसाय चम्किँदै गयो ।

उनी एल पेपिनोको नामले पनि चर्चित छन् । स्पेनको उक्त क्षेत्रमा सबैभन्दा लोकप्रिय जुत्ता उत्पादकको रुपमा सबैले उनको नाम लिन्छन् । उनी फुटबलका पारखी हुन् । उनले स्थानीय पुन्टे क्यास्ट्रो फुटबल टिमको स्थापना गरेका थिए ।