Close This

२० महिनादेखि बन्द ईपीएस मंसिरदेखि खुल्दै

आइतबार कार्तिक २१, २०७८/ Sunday 11-07-21
Paschim Today

काठमाडौँ,२१ कात्तिक । कोरोना भाइरस महामारीका कारण २० महिनादेखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मंसिरदेखि खुल्ने भएको छ । महामारी रोकथामका लागि भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले आउँदो नोभेम्बर अर्थात् मंसिरदेखि ईपीएसको प्रक्रिया खुला गर्ने भएको हो ।

कोरियाको श्रम मन्त्रालयका अनुसार ईपीएसमार्फत कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिने क्रम नोभेम्बर अन्तिम हप्ता सुरु हुन लागेको हो ।

ईपीएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेका छन् । तर कोरोना महामारी सुरु भएसँगै सम्पूर्ण प्रक्रिया रोकिएको थियो । विदेशी कामदार नजाँदा त्यहाँको कृषि र उत्पादनमूलक क्षेत्रमा कामदारको अभाव हुन थालेको छ ।

अहिले कोरिया सरकारले त्यहाँका ८० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेको र ७५.५ प्रतिशतले खोपको पुरै मात्रा लगाएको भन्दै कोरोना रोकथामका लागि बनाइएको प्रतिबन्धलाई खुकुलो बनाउँदै लगेको छ ।