उपचारका लागि टाढा पुग्नुको पीडा

बिहीबार कार्तिक २५, २०७८/ Thursday 11-11-21
उषा रश्मि पाण्डेय 

सोनु सिनाल बहिनीलाई चिनेको डेढ दशकभन्दा धेरै भइसक्यो । मैले पहलोपटक चिन्दा उनी स्नातकोत्तर पढ्दै महेन्द्रनगरको नारी उत्थान केन्द्र संस्थामा काम पनि गरिरहेकी थिइन् । सुन्दर मुहार अनि अन्तर्मुखी तथा सज्जन स्वाभावकी सोनुको जीवन उनको सुन्दरता र कोमलतासँग मेल नै नखाने गरी कठोर र संघर्षपूर्ण भइदियो ।

करीब १० बर्ष अघि उनको विवाह कञ्चनपुरका समाजसेवी तथा सञ्चारकर्मी धिरेन्द्र सिनालसँग भएको थियो।गर्भवती भएका समयमा स्वास्थ्यमा जटिलता आएर उनका दुइटै मिर्गौलामा  समस्या आयो । फूल झै सुन्दर सोनुको जीवनमा त्यसपछि काँडा झै दुःखद दिनहरु शुरु भए ।

उनले डायलसिस गर्न घरि भारत, घरि नेपालकै काठमाडौं, धनगढी लगायतका शहर मा दौडधुप गरिरहनु परेको थियो । उनको आफ्नो, उनका श्रीमानको र परिवारका अन्य सदस्यको  समय, स्रोत  र उर्जा उनको उपचारको लागि ठाउँठाउँ धाउदैमा व्यय भइरहेको थियो । आफ्नै ठाउँमा उपचारको व्यवस्था नभइदिएकाले झनै अप्ठ्यारो खेप्नु परिरहेको थियो । एकातिर रोगले कमजोर भएको शरीर त्यसमाथि ठाउँठाउँको झन्झटिलो यात्रा अनि उपचारको महंगाइले धेरै नै अप्ठ्यारो पारिरहेको थियो ।

उनको उपचार खर्च जुटाउन तथा दैनिक गुजारा चलाउनका लागि काम पनि गर्नु नै पर्ने अनि सोनुलाई उपचारका लागि विभिन्न ठाउँमा लिएर जानु पर्ने बाध्यताबीच तालमेल मिलाउन उनका श्रीमानलाई सहज पक्कै थिएन । तर, जीवन संगनीको जीवन बाँच्ने आसमा उनले भरमग्दुर प्रयास गरि नै रहेका थिए । जीवन जोगाउन जति संघर्ष गरे पनि आखिर सोनुको जीवन लम्बिन सकेन, उनी सदाको लागि मुर्झाइन, २०७८ सालको कात्तिक २३ गतेको बिहान ।

उनको मृत्युको खबर सुन्ने बित्तिकै २६ असार, २०७७ का दिन कान्तिपुर दैनिकमा छापिएको उनको ‘देश फर्के ज्यानलाई खतरा’ भन्ने लेख याद आयो । त्यो लेखमा उनले लकडाउनका वेला डायलासिस गर्न भोगेको समस्याको ज्यादै नै मार्मिक विवरण प्रस्तुत गरेकी थिइन् । आफ्नै शहर महेन्द्रनगरको अस्पतालमा डायलसिसको सुविधा नहुँदा परिवारभन्दा टाढा भारतको खटिमा शहरमा उपचारको लागि बस्नु परेको उनको वृतान्त पढ्दा मेरो बुवाका आखा रसिला भएका अझै नि सम्झिन्छु । आफ्नो पीडा नै त्यहाँ पोखिएको पाउँदा मेरो बुवाको आँखामा आशु आएका थिए । 

मेरो बुवाका पनि दुवै मिर्गौला फेल भएर डायलासिसका लागि काठमाडौंमा बसिरहनु भएको थियो । बुवाको उपचारका लागि आमा पनि घर छोडेर काठमाडौंमा हुनुहुन्थ्यो । २०७६ को पुसमा उपचारका लागि घर छाडेर काठमाडौं आएको एक वर्ष दुई महिनापछि बुवाको पनि देहान्त भयो । बुवालाई आफ्नो घर आँगन नटेकेर नै बित्नु पर्ला जस्तो लाग्दैन्थ्यो । वहाँलाई आश थियो, महेन्दनगरको महाकाली अञ्चल अस्पतालमा डायलसिसको सुविधा आउने छ, अनि आफ्नै घरमा बसेर नै डायलसिस गर्न पाउनेछु ।

बुवाले दुई दशक अघि जागिरबाट अवकास पाएदेखि महेन्द्रनगरमा बस्दा घरको करेसाबारी र फूलबारीमै समय बिताउनु हुन्थ्यो । बारीमा क्यारी बनाएर थरिथरिका साग तरकारी रोप्नु, फूलबारीमा फूलैफूल फुलाउनु वहाँको रुचिको काम थियो । वहाँलाई आफ्नो तरकारीबारी, फूलको क्यारीको असाध्यै याद आउथ्यो होला र आखा चिम्लेर फेरि घर फिर्न पाउने आसमा मुस्कुराउनु हुन्थ्यो । चाडपर्वका वेला होस वा अन्य समयमा के छ कस्तो छ भनेर त्यही घर आँगनमा सोध्न र खोज्न आउने आफन्त सम्झेर होला, उदास देखिनुहुन्थ्यो ।

उहाँलाई हप्तामा दुई पटक सोमबार र बिहीबार डायलसिस गराउनु पर्ने भएकाले घर पु¥याएर ल्याउन सम्भव नै थिएन । वहाँलाई आफ्नो गाउँठाउँ छोड्नुको पीडा खपि नसक्नुको नै हुन्थ्यो होला र वेलावेलामा ‘भो मलाई अब डायलासिस सायलासिस केही गराउनु पर्दैन । घर पु¥याऊ । उतै गएर मर्छु’ भन्नु हुन्थ्यो । डायलसिसका लागि घर छोडेर आउनुभएको वहाँ फेरि घर कहिले फर्कन नपाई यो संसार छोडेर जानु भयो।

अहिलेको समयको खानपान, तनाव र अन्य विभिन्न कारणले गर्दा मधुमेह, उच्च रक्तचाप जस्ता रोगले ग्रसित मानिसको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । यस्ता रोगका कारण मिर्गौलाले काम नगर्ने समस्या पनि बढी नै रहेको छ । यसको उपचार तथा डायलसिसका लागि आफ्नो ठाउँ छोडेर अन्य शहरहरुमा बस्नु वा भारततिर गइरहनु सबैका लागि सम्भव छैन । सम्भव भएका लागि पनि त्यति सहज छैन । 

मृत्यु त जसोतसो आउछ नै । यस्ता जटिल र दीर्घ रोगले त झन मानिसलाई मृत्युको मुखतिर धकेली नै रहेको हुन्छ, तर जति दिन बाँचिन्छ, सहज रुपमा उपचार पाएमा आफन्त र परिवारजनको साथमा हुन पाएमा रोगी र परिवारका सदस्यलाई सास्ती कम हुनजान्छ ।

बाँकी रहेको जीवन अलिकता भए पनि सहज ढंगले जिउन सकिन्छ । यो समस्यालाई नजिकबाट देखेर होला, सोनुको मृत्युले फेरि डायलसिसको याद गराएको छ । मेरो बुवा र सोनुले जस्तो अन्य मिर्गौला रोगीले घर छोडेर अन्यत्र भौतारिने अवस्थाको अन्त्य गर्न अब हरेक जिल्ला अस्पतालमा डायलासिस सेवा उपलब्ध गराउनुपर्छ । यसका लागि केन्द्रको मुख ताकेर हुँदैन, अब प्रदेश र स्थानीय सरकार मिलेर पनि आफ्ना नागरिकलाई सेवा उपलब्ध गराउन सक्छन्, पहल गर्नुपर्छ । यसमा नागरिकले पनि पहल र दवाव सिर्जना गर्नुपर्छ ।

सोनुको अनुहार झलझलि याद आइरहेको छ र आइ नै रहनेछ । उनको मधुर व्याक्तित्व र उनीसँगको सामिप्यताका कारण उनलाई बिर्सिन गाह्रो हुने नै छ । सोनुको आत्माले शान्ति पाओस भन्दै उनमा श्रद्धाञ्जली अर्पण गर्दछु ।