Close This

सामान्य विवादमा युवाहरूबीच झगडा, रिस फेर्न एकजनाको हत्या

सोमबार कार्तिक २९, २०७८/ Monday 11-15-21
Paschim Today

विराटनगर,२९ कात्तिक । मोरङको बूढीगंगा गाउँपालिका-६ कोयलपुरमा सामान्य विवादलाई लिएर युवाहरूबीच झगडा पर्दा आइतबार राति एकजनाको हत्या भएको छ। पुरानो झगडालाई लिएर दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबास घर भई हाल इटहरी उपमहानगरपालिका-१३ खनारमा बस्ने २६ वर्षीय रिजन दाहालको हत्या भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार राति साथीको भतिजीको जन्मदिन मनाउन जाँदा बर्थ डेको पार्टीमा आएर मदिरा सेवन गरेका दुई युवा समूहबीच विवाद भएको हो। बुढीगंगा – ६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायतका समूहसँग दाहालको विवाद भएको थियो। दुई पक्षबीच विवाद बढ्दै गएपछि  बुढीगंगा ६ डम्बर बहादुर लिम्बूको बारीमा लगी अर्को समूहले रिजनलाई आक्रमण गरेका थिए। उनीमाथि धनबहादुरसहित सात जनाको समूहले खुकुरी हानेको प्रहरीको भनाइ छ।

टाउकोमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते भएका उनको उपचारका लागि  अस्पताल लग्दै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ। झगडा छुट्याउन गएका नानु लिम्बू र कमल थापा पनि घाइते भएका छन्। लिम्बूको दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ।

हत्या गरिएका दाहाल र घाइते थापा खनारमा डेरा गरेर बस्दै आएका  थिए। दुवैजना खनारस्थित रिलायन्स धागो उद्योगमा कार्यरत रहेको प्रहरीले जनाएको छ। शनिबार राति रिजन र बुढीगंगा ६ डल्लेपुरका २५ वर्षीय धनबहादुर तामाङको झगडा भएको थियो। झगडा हुँदा रिजनले धनबहादुरलाई एक झापड हानेका थिए। त्यही झापड हानेको विषयलार्य लिएर  जन्मदिनको पार्टीको मौका छोपी आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए।

 

घटनापछि प्रहरीले दुईजना युवालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ। प्रहरीले बुढीगंगा-७ का २५ वर्षीय अजय श्रेष्ठ र धनकुटा ४ दव्रेबास घर भई इटहरी १३ बस्दै आएका २४ वर्षीय कमल थापालाई नियन्त्रणमा लिएर घटनाबारेमा अनुसन्धान सुरु गरेको जनाएको छ।