Close This

हुम्लाको लिमीमा जनगणना सकियो

मंगलबार मङ्सिर ७, २०७८/ Tuesday 11-23-21
Paschim Today

हुम्ला,७ मंसिर । राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत उच्च हिमाली जिल्ला हुम्लामा करिब ८० प्रतिशत गणना सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको मूल जनगणना यही मंसिर ९ गते सकिँदैछ ।

जनगणना कार्यालयका प्रमुख विनोद भट्टका अनुसार उत्तरी भेगको नाम्खा गाउँपालिका–६ लिमीमा जनगणना सम्पन्न भएको हो । निर्धारित समयअगावै स्थानीय गणकले विवरण सङ्कलनको काम सम्पन्न गरेका हुन् । लिमीको हल्जी, तिल र जाङ्ग गाउँमा विवरण सङ्कलन सकिएको गणक तन्जिन फुर्बु तामाङले जानकारी दिए । ७ गाउँपालिका रहेको हुम्लामा ४४ वडा छन् । जिल्लाका ४४ मध्ये वडा नं ६ लिमी जनगणना पूरा हुने पहिलो वडा भएको छ ।

गणक सदरमुकाम सिमकोटबाट चार दिन हिँडेर लिमी पुगेका थिए । उनीहरुले गत मङ्सिर २५ गतेदेखि विवरण सङ्कलन सुरु गरेका थिए । गणक तामाङले स्थानीयवासीको सहयोगमा समयभन्दा अगावै प्रश्नावली भर्ने काम सम्पन्न भएको बताए । यसपटकको गणनामा लिमीका १४७ घरधुरीको विवरण सङ्कलन भएको छ ।