वायु सेवा निगमलाई कुनै पनि हालतमा माथि उठाउनै पर्छ: मन्त्री आले

सोमबार मङ्सिर २०, २०७८/ Monday 12-06-21
Paschim Today

काठमाडौं, २० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको बताएका छन्।

सोमबार मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाइएको दाबी गरे।

आफूले नेपाली ध्वजाबाहक जहाजलाई नाफामा पुर्‍याउने चाहना राखेको उनले बताए। अहिले नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले निगमलाई कुनै पनि हालतमा माथि उठाउनुपर्ने बताए।

‘यो ध्वजाबाहक जहाज भनेको यो नेपाली जनताले राजस्व तिरेर, कर तिरेर बनेको यो निगम हो। यसलाई कुनै पनि हालतमा माथि उठाउनै पर्छ। राम्रो काम गर्दा कतिपय मान्छेहरूले आफ्नो व्यक्तिगत इन्ट्रेष्ट पूरा नहुँदा उनीहरूले विभिन्न मिडियामा लेखाउने काम गरिराखेका छन्। मन्त्री आलेले खतराजन्य पद्धार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धी भएको उल्लेख गरे।

खतराजन्य पद्धार्थ आयात निर्यातमा अब व्यवसायीहरूलाई झन्झट नहुने र नाफा हुने उनले बताए। मन्त्री आलेले आफू मन्त्रालय मातहतका सबै निकायको कमी, कमजोरी, विकृति र विसंगति सुधार्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गरे।