Close This

चरा खोज्दै घोडाघोडी सिमसार पुग्दा...

शुक्रबार पौष २, २०७८/ Friday 12-17-21
अविनाश चौधरी

कैलाली,२ पुस । पानीमा रहेको पातमा चराको ‘क्याट वाक’ को दृश्य । जताततै चिरबिर र आनन्द आउने आवाज ।यतिखेर यसरी नै कैलालीको घोडाघोडीमा चराहरुले मन लोभ्याइ रहेका छन् ।

विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसारमा यो बेला चराको चहलपहल बढेको छ । यहि मौका छोपेर मङ्सिर १६ र १७ गते सोही सिमसारमा चराको फोटो खिच्ने प्रतियोगिता आयोजनाभयो । प्रतियोगिताको एक सहभागी म पनि थिएँ । घोडाघोडी सिमसारमा पाइने चराको बारेमा धेरैलाई जानकारी गराउने र चराचुरुङ्गी तथा सिमसार क्षेत्रको संरक्षणबारे सन्देश दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको रहेछ ।

सो प्रतियोगितामा नेपालका व्यावसायिक वाइल्ड लाइफ फोटोग्राफरले पनि सहभागिता जनाउने खबर अगाडि नै मैले पाएको थिएँ । त्यसैले म संग राम्रो क्यामेरा र लेन्स नभए पनि केही सिक्नलाई त अवश्यक जानू पर्छ भन्ने उद्देश्यका साथ सहभागिता जनाएँ । त्यहाँ पुग्दा कतिपयको क्यामेरा मेसिन गनभन्दा पनि तीव्र गतिमा फोटो खिच्ने रहेछन् । त्यो देख्दा एकछिन त लाग्यो । ‘लाजै हुने हो, व्यायसायिक फोटोग्राफर र राम्रो क्यामेरा भएको ठाउँमा आफ्नो क्यामेरा किन निकाल्नू । झोलामै रहन दिउँ ।

अरुले फोटो खिचेको हेरौं मात्रै ।’ मनमा कुरा पनि खेल्थ्यो । ‘म संग वाइल्ड लाइफ फोटोग्राफी गर्नका लागि यस्तै क्यामेरा भइ दिए त गज्जब हुन्थ्यो । सायद् मैले खिचेका फोटा पनि व्यावसायिक फोटोग्राफरले खिचेकाभन्दा कम हुने थिएनन् ।’ चराको आवाजले मेरो मनको कुरा बिथोलिन्छ । वास्तविकतामा फर्किन्छु । र, सोच्न थाल्दछु, ‘ह्या ! मनमा पनि के के कुरा खेल्छ । मेरो कमाइले छाक टार्न ठीक्क छ ।

यस्ता क्यामेरा र लेन्स मेरो हैसियतभन्दा बाहिरको कुरा हो । किनभने, क्यामेराको बडी, लेन्स निकै महँगा छन् ।’ यस्तै–यस्तै सोच्दै चरा हेर्नतिर ध्यान मग्न गरेँ । हामी एक टोलीमा बर्दिया, नेपालगञ्ज, कैलालीका साथीहरु थियौं । अर्को टोलीमा काठमाण्डौं, चितवन, कैलाली लगायतका ठाउँका साथीहरु थिए । घोडाघोडी तालमा जलपक्षीहरु खेल्दै गरेको दृश्य, बसाइँ सरेर आएका पंक्षी उड्दै गरेको दृश्य । कमलको पातमा चरा हिड्दै गरेको दृश्य । आहा ! मनै लोभ्याउने ।

त्यसो त मलाई प्राकृतिक सुन्दरता र प्रकृतिमा रमाउन मन पर्छ । त्यहाँ अनेकन किसिमका चराहरु देखिन थालेपछि त झन । मनमा आएको आनन्द वर्णन गर्न नै सक्दैन । चराहरु रमाउन थालेको त्यो दृश्यले मेरो मनै मानेन । आफूसंग भएको क्यामेरा स्वाट्ट निकाले । लेन्स लगाए । मैले पनि फोटो कैद गर्न थालेँ । राम्रा र महँगा क्यामेराले खिचेकोभन्दा मैले खिचेको फोटो राम्रो त के हुन्थ्यो ।

तर, फोटोग्राफीमा ‘मोमेन्ट’ कैद गर्न सक्नु उत्कृष्ट फोटोग्राफीको एउटा नमूना हो भन्ने मलाई पहिल्यैदेखि थाहा छ । त्यो दिन बादल लागेका कारण प्रकाश राम्रो थिएन । उज्यालो कम भएका कारण फोटो राम्रो नहुने पक्कै थियो । त्यसैले राम्रो फोटो खिच्नुभन्दा पनि म चराको मोमेन्ट कैद गर्ने प्रयासमा लागे । घोडाघोडी ताल वरिपरि जङ्गलमा आधा दिनसम्म घुम्यौं । साथीहरुले खानापनि बोकेको थिए । तर, प्याक गरिएको खाना होटलबाट ल्याउन म चैँ बिर्से ।

चरासंग रमाउँदा रमाउँदै भोक लागेको पत्तो पनि भएन । हामी घोडाघोडी तालको मगर गोही प्रजनन् गर्ने स्थानमा पुगिसकेका थियौं । जसलाई छुट्की छिङ्टलिया भनिन्छ । त्यहाँ पुग्दासम्म सबैलाई एकछिन थकाइ मार्नुपर्छ भन्ने लागि सकेको थियो । बसेर पानी पिउदै गर्दा हाम्रो अगुवाइ गरिरहेकी नेचर गाइड आयुस्मा चौधरीले तालमा सिङ्गायर (एक प्रकारको फल) खुबै रहेको बताइन् । सिङ्गायर भनेपछि मेरो मुखै रसायौं ।

तालमा नियालेर राम्ररी हेर्दा साँच्चिकै खुबै रहेछ । सिङ्गायर त म बच्चैदेखि खाँदै आएको छु । आमाले भारतको दुधुवा नेशनल पार्कमा रहेका तालबाट निकालेर ल्याउनुहुन्थ्यो । साह«ै मिठो हुन्छ । सिङ्गायर भनेपछि मेरो मनै मानेन । तालबाट निकाल्दै काँचै खान थाले । म सिङ्गायर निकाल्नमा भुलिसकेको थिएँ । साथीहरुले आ–आफूले बोकेको खाना खान सुरु गरिसकेका रहे छन् । उनीहरुले मलाई सोधे–‘खै तपाईको खाना आउनुससंगै खाम ?’

मेरो मुखबाट फ्याट्टै निस्क्यो–‘यी यहि हो, मेरो आजको खाना ।’ मैले सिङ्गायर देखाउँदै भने । साथीहरुले मैले खाना नबोकेको थाहा पाए । दुई जना साथीहरुले पनि खाना खान बाँकी थियो । उनीहरुले आ–आफ्नो भागबाट निकालेर मलाई पनि पुग्ने गरी खाना दिएँ । घाँसमा बसेर, जंगलमै खाना खाएको मजा छुट्टै । त्यो त मलाई गोठाला जाँदादेखि नै अनुभव छ । खाना खाइसकेपछि हामीले आ–आफूसंग भएको पानीको बोतल र खाना राखेको बट्टा झोलामा राखेर बोक्यौं ।

जङ्गल र पानीमा हैन, हामीले फोहोर उपयुक्त ठाउँमामात्रै बिर्सजन गर्नुपर्छ भन्ने सबैको सल्लाह थियो । खानापछि फेरि चरा रमाइ रहेको दृश्य हेर्नतर्फ लाग्यौं । सो क्रममा केही रमाइला मोमेन्ट फेला परे । पछि, बेलैमा धनगढी फर्किनु पर्ने बाध्यताका कारण म जंगलबाटै साथीहरुसंग बिदा लिएँ । फर्किने क्रममा एउटा चराले पात बोक्न खोजेको दृश्यले मेरो ध्यान तान्यो । फोटो कैद गर्न सफल भएँ । यद्यपि, प्रतियोगितामा समावेश गरेकाले अहिले त्यो फोटो प्रकाशित गरेन ।

घोडाघोडीमा जाडो छल्नका लागि साइबेरिया, मङ्गोलिया लगायतका स्थानबाट यहाँ आगन्तुक चरासमेत आएपछि चराचुरुङ्गीको चहलपहल बढेको छ । जैविक विविधताले भरिपूर्ण यो सिमसारमा ३६० प्रजातिका चरा पाइन्छन् । जसमध्ये ६४ प्रजातिका जलपक्षी रहेको चराविद हिरुलाल डङ्गौरा बताउँछन् । यहाँ पाइने १२ प्रजातिका चरा विश्वमै दुर्लभ मानिन्छन् ।

कैले टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसे फिस्टो, लघु महाचिल लगायत विश्वमै दुर्लभ चरा हुन । यो सिमसार नेपालको लागि एउटा महत्वपूर्ण सिमसार हो । यस्तो जैविक विविधतायुक्त सिमसार नेपालमा संरक्षणबाहिर पाउन सकिन्न । बर्दिया राष्ट्रिय निकुञ्जलाई आधार बनाएर पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका द डेन एडभेन्चर्सका प्रबन्ध निर्देशक राजन चौधरीको शब्दलाई सापटी लिने हो भने घोडाघोडी नेपालको अमूल्य सम्पत्ति हो ।

१९९७ देखि घोडाघोडीमा घुमफिर गर्दै आएका उनले यस्तो ठाउँ नेपालमा कहीँ पनि नरहेको र ‘भर्जिन ल्यान्ड’ रहेको बताए । यदि, घोडाघोडीको प्राकृतिक अवस्थालाई नबिगारीकन व्यवस्थापन र पर्यटन गतिविधि सञ्चालन गर्ने हो भने रमाउनका लागि पोखरा र नैनीताल जानै पर्दैन । घोडाघोडी सिमसार नै काफी छ । प्रसिद्ध घोडाघोडी सिमसारमा ठूलासाना २४ वटा ताल रहको छ । कुल १० हजार ५७० हेक्टर क्षेत्रफलमा यो सिमसारमा फैलिएको छ ।

घोडाघोडी ताल वरिपरिमात्रै घुम्न एकदिनभन्दा बढी समय लाग्ने गर्दछ । दुर्लभ चरासमेत पाइने घोडाघोडी सिमसारमा पछिल्लो समय जथाभावी फोहोर फाल्ने, प्लाष्टिकजन्य वस्तु, बोतल फाल्ने क्रम बढेको छ । बढ्दै गएको प्रदूषणका कारण जलीय जीव र चराचुरुङ्गीमा गम्भीर असर पुग्ने सम्भावना बढेको छ । बढ्दै गरेको फोहोर व्यवस्थापन र प्रदूषण न्यूनीकरणमा सरोकारवालाको बेलैमा ध्यान जान जरुरी छ ।