Close This

महामारी र विपद्को बेला गम्भीर नभएको ठहर 

बुधबार पौष ७, २०७८/ Wednesday 12-22-21
Paschim Today

धनगढी,७ पुस । महामारी र विपद्को बेला सरकार गम्भीर नबनेको एक कार्यक्रमका सहभागीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित महामारी र विपद्मा नागरिक समाजमा परेको असर विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले त्यस्तो बताएका हुन ।

समग्र जनता महामारीसंग जुधेको बेला बेला सरकार र निजी स्वास्थ क्षेत्र जिम्मेवारीबाट पञ्छिएको फाया नेपालका शेरबहादुर बस्नेतले बताए ।  निजी क्षेत्रका स्वास्थ संस्थाहरु कोरोना महामारीका बेला सहयोग नगरेको र जहिले पनि नाफामुखीमात्रै बनेको उनको भनाइ छ ।

कोरोना महामारीका बेला सरकारले स्पष्ट तथ्याङ्क दिन नसक्दा राहत वितरणमा समस्या भएको भुवन राना बताउँछन् । समस्यामा रहेका सबै नागरिकले राहत पाउनु पर्नेमा सम्पन्न परिवारका व्यक्तिले पनि राहत पाएको उनको गुनासो थियो ।

रोजगारी गुमेर बेरोजगार बनेको बेलासमेत सरकारको अनुभूति नभएको सहभागीहरुको भनाई थियो । कोरोनाको बेला शिक्षा क्षेत्रमा निकै असर परेको भएपनि सरकाले चासो नदिएको लोकेन्द्र विष्टले बताए । कोरोनाका कारण शिक्षा र स्वास्थ्यमा ठूलो क्षति भएको उनको भनाइ थियो । 

महामारी र विपदको समयमा नागरिक समाजमा परेको असरलाई कम गर्न तीन ओटै तहका सरकार र सामाजिक सङ्घसंस्था, नागरिक समाजको भूमिका अहम् रहने भएपनि तिनै तहको सरकार चुकेको अनौपचारिक क्षेत्र सेवा केन्द्र सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताए । कोरोना महामारीका बेला राज्यले काम गरेपनि जनतालाई सहज हुने गरी काम नगरेको उनको भनाइ छ ।