Close This

सन् २०२१ मा डेढ लाख बाह्य पर्यटक नेपाल भित्रिए

आइतबार पौष १८, २०७८/ Sunday 01-02-22
Paschim Today

कोभिड–१९ महामारीको असहज परिस्थितिको अवस्थामा पनि मुलुकमा बाह्य पर्यटक आगमनमा झिनो सुधार भएको पाइएको छ । सन् २०२१ मा डेढ लाख बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाइ तथा भूमार्ग हुँदै एक लाख ५० हजार ९६२ जना पर्यटक नेपाल भित्रिएका छन् ।

सन् २०२० को तुलनामा गत वर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा २५ प्रतिशतले कमी आएको छ । बोर्डका निर्देशक मणि लामिछानेले कोभिड महामारीकाबीच पर्यटक आगमनमा झिनो सुधार आएको बताए ।

उनले अघिल्लो वर्षको तुलनामा पर्यटक सङ्ख्या कम देखिनुमा उक्त वर्ष कोभिड–१९ पूर्व नै जनवरी र फेब्रुअरीमा उल्लेख्य सङ्ख्यामा बाह्य पर्यटक आएका थिए ।

सन् २०२० मा दुई लाख ३० हजार बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा भने नेपाल भित्रिने बाह्य पर्यटकको सङ्ख्या ११ लाख ९७ हजार १९१ थियो । जुन १२.५ प्रतिशतले बढी हो । 

नेपाल भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन् । वर्षभरीमा ६४ हजार ६७३ भारतीय नागरिकले नेपाल भ्रमण गरेका थिए । भारतपछि अमेरिकाबाट २२ हजार ८५३ पर्यटक  नेपाल आएका थिए ।

संयुक्त अधिराज्य (बेलायत) बाट आठ हजार ६८० पर्यटक आएका थिए । छिमेक मुलुक चीनबाट ६ हजार १९६ तथा बङ्गलादेशबाट पाँच हजार ४४ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको विवरणमा उल्लेख छ ।