Close This

गगन थापासंग जोडिएका अपेक्षाहरु

सोमबार पौष १९, २०७८/ Monday 01-03-22
Paschim Today

प्रिय गगनजी

नेपाली काँग्रेसको महाधिवेशनबाट महामन्त्री पदमा विजयी हुनु भएकोमा बधाई छ । भलै, यो काँग्रेस पार्टीको नयाँ नेतृत्व चयनका लागि भएको आन्तरिक प्रतिस्पर्धा हो, तर यसको परिणामले, यो देशका समग्र पार्टीहरूमा र अझ ती पार्टीका तपाई युवा नेता तथा कार्यकर्तामा गजबको ऊर्जा र उत्साह भरिदिएको छ । त्यसैले विभिन्न पार्टीका युवाहरूले काँग्रेसको नेतृत्वमा युवा पङ्क्ति निर्वाचित हुँदा खुशी व्यक्त गरेका छन् ।

तपाईँको बिचार र तपाइसँग असहमत हुनेहरूले पनि तपाई र विश्वप्रकाश शर्माहरूलाई बधाई दिन रत्तिभर विलम्ब र कन्जुस्याइँ गरेनन् । अन्य पार्टीका युवाहरूले पनि तपाईँको जीतलाई केवल तपाईँको जीतका रूपमा मात्र अर्थ्याएका छैनन्, यो त समग्र युवाहरूको जीतका रूपमा बुझेका छन् । र त्यसै गरी अथ्र्याएका छन् । निसन्देह, तपाई नेपालको राजनीतिमा आस लाग्दो अनुहार हो ।

बेलाबेलामा सामाजिक सञ्जालमा तपाईँको तेजोवध गर्ने र हुर्मत लिने प्रतिपक्ष दलका कार्यकर्ताहरूले पनि यो पटक मुक्तकण्ठले तपाईँको प्रशंसा गरेका छन् । गाली गर्नेहरूले पनि तपाईँमा भएको क्षमता र सम्भावनालाई नकार्न सक्दैनन्, भोट कति पाउनु भयो छोडिदिनुहोस्, यही हो तपाईँको जीत ।

तर तपाई आफ्नो जीतमा खुशी देखिनु भएन । बरु शेर बहादुर देउवा जितेकोमा दुखी देखिनुभयो । मानौँ, देउवा तपाईँको पार्टीकै होईनन । देउवालाई मत दिनेलाई अपराधी झैँ व्यवहार गर्नुभयो ? तपाईँलाई मत दिने कोही अरू होइन, तिनै महाधिवेशन प्रतिनिधि हुन्, जसले देउवालाई पनि मत दिएका थिए । तर तपाईँलाई मत दिने महान् हुने ? देउवालाई मत दिने अपराधी हुने ? यो कसरी हुन सक्छ ?

तपाईँलाई बोक्दा कृष्ण सिटौला महान् हुने, शेर बहादुर देउवालाई बोक्दा अपराधी हुने ? यो कसरी हुन सक्छ ?तपाई शेखर कोइरालाको क्याम्पबाट चुनाव लड्नु भयो । शेखर कोइराला हार्नुभयो, तपाई जित्नु भयो ? मतदाताले तपाईँमा देखेको क्षमता कोइरालामा देखेनन् वा कोइरालाभन्दा बढी पार्टीका लागि आवश्यक देउवा देखे त के गल्ती गरे ? रूपान्तरण वा परिवर्तन कोइराला आए हुने देउवा आए नहुने कसरी हुन सक्छ ? 

तपाईँले मतदातालाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा मतदातालाई धन्यवाद कम आफ्नै पार्टीका सिनियर नेताहरूको अपमान बढी गर्नुभयो । मतदातालाई धन्यवाद कम गाली बढी गर्नुभयो । मानौँ, मतदाताले तपाई बाहेक अरूलाई मत हालेर अपराध गरे ? तपाईँको अनुहारमा खुशी कम, घृणा बढी छचल्किरहेको थियो । तपाई जत्तिको आस लाग्दो नेताको बोलीमा घृणा र अनुहारमा आक्रोश सुहाउँदैन, र त्यो हुनु पनि हुँदैन ।

तपाईँले आफ्नै नेताप्रति व्यक्त गरेको घृणा त अझ पटक्कै सुहाएन । तपाईँलाई साथ दिँदा प्रकाश मान सिंह महान् हुने, अनि तपाईँलाई साथ नदिँदा भेडा हुने, यो कसरी हुन सक्छ ?

पार्टीकै सिनियर नेताहरू प्रकाशमान सिंह र बिमलेन्द्र निधिले देउवालाई दोस्रो चरणमा समर्थन गरेकोमा तपाईँले उहाँहरूको दोहोलो काढ्नुभयो । के उहाँहरूले कुनै फरक पार्टीका नेतालाई समर्थन गरेका वा भोट हालेका थिए र ? तपाईँले चाहेका व्यक्तिलाई भोट नहाल्नु वा आफ्नै पार्टीका अन्य नेतालाई समर्थन गर्नु के उहाँहरूको अपराध हो र ?

अधिकारको परिभाषा त तपाईँले भने जस्तो होइन र–‘तपाईँलाई हात हल्लाउने अधिकार छ, तर त्यो हातले अर्काको नाक छुने अधिकार छैन ।’ यही होइन र अधिकारको परिभाषा ।

अनि तपाईँले अर्काको मत दिने अधिकार कसरी कुण्ठित गर्न गर्न सक्नुहुन्छ ? फरक मत राख्नेहरूको सम्मान गर्नु लोकतन्त्र र प्रजातन्त्रको सुन्दरता हो । आफूसँग असहमत वा फरक मत राख्नेहरूको अधिकार र मतको सम्मान गर्नु लोकतन्त्रको सुन्दर पक्ष होइन र ? तपाईँबाटै लोकतन्त्र र अधिकारको परिभाषा बुझेका युवा पुस्ताले तपाईँको यो आक्रोश, घृणा र कुण्ठालाई कुन रूपमा बुझुन् भन्ने अपेक्षा गर्नुहुन्छ ? तपाईँले बुझेको कुरा नै सही हो, तपाईँले ठानेको कुरा नै सही हो, तपाईँले चाहेको कुरा मात्र सही हो भन्ने तपाई सोच्नु सक्नु हुन्छ, तर यो जरुरी छैन कि तपाईँले जे सोच्नु हुन्छ, त्यो सबैले सोचुन्, तपाईँले जे चिजलाई सत्य मान्नु हुन्छ, त्यो सबैका लागि सत्य होस । यदि त्यसो हुँदो हो त, यो देशमा सबै युवा काँग्रेस हुन्थे । यो देशमा यति धेरै पार्टी नै हुन्थेनन् । अरूको सोच बदल्न चाहनुहुन्छ भने तपाईँले पहिले अरूले के सोच्छन्, त्यो सोच्न जरुरी छ ।

तपाई लोकतन्त्रको त्यही सुन्दरतामाथि कसरी आक्रमण गर्न सक्नुहुन्छ ? तपाईँलाई भोट नहाल्ने वा तपाईँको विपक्षमा मतदान गर्ने कसरी भेडा हुन सक्छन् ? र तपाईँको पक्षमा उभिने जति सबै महान् कसरी हुन सक्छन् ? मतदाताको मतलाई सम्मान गर्नुहोस् । विनम्र हुनुस् । चर्को स्वरले बोल्दैमा, वा सधैभरी अरूलाई गाली गर्दैमा महान् भइँदैन । विनम्रता तपाई आफ्नै समकक्षी विश्वप्रकाश शर्माबाट सिक्नुहोस् । 

तपाईँको प्यानलको सभापतिको उम्मेदवार पराजित हुँदैमा यति धेरै आक्रोश र घृणा पोखिरहन जरुरी थियो र ? विश्वप्रकाश शर्मा पनि प्रकाशमान सिंहको प्यानलबाट चुनाव लडेका थिए । सिंह पराजित हुँदा त शर्माले त्यस्तो कुनै अभिव्यक्ति दिएनन् । विक्षिप्त नहुनुहोस्, आफूलाई सम्हाल्नुहोस् । संयमित हुनुहोस् ।

मिडियाले उचालिदिन्छन्, तपाई उचालिनुहोस् । बहुमत देउवासँग भए पनि जनमत त तपाईँसँग छ भनेर कसैले भनिदिँदा नफुर्किनु होस । केपी ओलीसँग जनमत र बहुमत दुवै थियो । तर उनीसँग विनम्रता नहुनुको परिणाम के भयो ? तपाईँलाई भलिभाँती थाह छ । अग्रजलाई सम्मान गर्नुहोस् भन्नुको अर्थ लम्पसार पर्नुहोस् भनेको होइन । हो, देश र जनताका हित विपरीत भएका÷हुने निर्णय र कार्यको विरोध गर्नुहोस् । तर नेतृत्वको विरोध गरेर मात्र लोकप्रिय भइँदैन । लोकप्रिय हुनु र सफल हुनु फरक कुरा हुन्, लोकप्रिय त ओली पनि थिए, तर सफल भएनन् । किन ? 

धेरैले भन्छन्, गगन थापा मिडियामा बिक्ने कुरा बोल्छन् । ‘स्टन्ट’ गर्छन् । कसको विरोध गर्दा मिडियाले महत्त्व दिन्छ, त्यसको विरोध गर्छन् । गगन थापा चर्चामा आउने कुरा बोल्छन् । हिजो तपाई जवाफ माग्ने ठाउँमा हुनुहुन्थ्यो, अव तपाई जवाफ दिनु पर्ने ठाउँमा हुनुहुन्छ । हिजो तपाई अरूलाई प्रश्न गर्नुहुन्थ्यो । अव तपाई प्रश्नहरूले घेरिनु हुनेछ ।

किनकि तपाई मन्त्री भइसक्नु भयो ? र यति बेला देशकै पुरानो र एउटा ठुलो पार्टीको दोस्रो महत्त्वपूर्ण पदमा हुनुहुन्छ ।पार्टीका तर्फबाट तपाईँले कार्यकर्ताको मनोबल उकास्न वा सङ्गठन सुदृढ र विस्तार गर्न के योजना बनाउनुभयो ? यो जत्तिकै अर्को महत्त्वपूर्ण प्रश्नले तपाई पछ्याइरहने छ, देशको विकास र समृद्धिका लागि तपाइसँग के कस्ता योजना छन् ? हिजो मन्त्री हुँदा के गर्नुभयो ? अहिले तपाईँको पार्टीको नेतृत्वमा सरकार छ, यति बेला के गर्दै हुनुहुन्छ ? 

पार्टीको बैठकमा तपाई सभापति शेर बहादुर देउवालाई प्रश्न गर्न सक्नुहुन्छ । तर बैठकबाट बाहिर निस्किएपछि जनतालाई तपाईँले जवाफ दिनु पर्ने छ । यो नै सत्य हो ।तपाई र विश्वप्रकाश शर्माहरूको काँधमा जुन जिम्मेवारी छ, त्यसलाई पुरा गर्नु नै तपाईँहरूको दायित्व हो । यो दायित्वबाट अव तपाईँहरू भाग्न वा विमुख हुन पाउनु हुने छैन । तपाईँलाई न भाग्ने छुट, न त असफल हुने छुट नै छ । किनकि यो देशका लाखौँ युवाहरूको भविष्य र भरोसाको केन्द्र तपाईँहरू हो ।

विदेशबाट कफिनमा जुन दिन युवाहरूको लाश आउन छाड्ने छ । जुन दिन यही देशमा युवाहरूले आफ्नो भविष्य देख्नेछन् । त्यो दिन तपाईँहरूले राजनीति गरेको सार्थक हुनेछ ।

युवा पुस्ता मात्र नभएर यो अधिकांश जनता तपाईँलाई नेपाली काँग्रेसको सभापति र यो देशको प्रधानमन्त्रीका रूपमा हेर्न चाहन्छन् । तपाई जत्तिको युवाहरू दोस्रो वा तेस्रो धार बन्ने होइन । कहिले सिटौला, कहिले कोइराला, कहिले देउवाको धारमा मिसिने होइन । तपाई मूल धार बन्नुपर्छ । 

संसारमा जे जति द्धन्दहरु भए, त्यसका दुई वटा कारण छन्, अरूलाई एसेप्ट (स्वीकार)  र रेस्पेक्ट (सम्मान) नगर्नु । तपाईँले आफ्नै पार्टी र फरक पार्टीका नेताहरूलाई सम्मान र स्वीकार गर्न सक्नु भएन भने त्यहीबाट तपाईँको राजनीतिको क्षयीकरण सुरु हुनेछ । यसप्रति तपाई सचेत हुनुहुन्छ भन्ने कुरामा सन्देह गर्नु गलत हुनेछ । 

मैले शेर बहादुर देउवालाई भोट हालेन भनेर तपाईँले भनिरहनु पर्ने कुरा नै होइन । तर तपाईँले शेखर कोइरालाको हारमा आक्रोश पोख्दै दोह¥याएर भन्नु भयो, मैले शेर बहादुर देउवालाई भोट हालेन । देउवालाई भोट हाल्नु वा नहाल्नु त्यो तपाईँको अधिकार हो । र तपाई त शेखर कोइरालाको प्यानलबाट उम्मेदवार हुनुहुन्थ्यो । तपाईँले कसलाई भोट हाल्नु भयो, कसलाई हाल्नु भएन, त्यो गौण कुरा हो । काँग्रेसका बहुसङ्ख्यक महाधिवेशन प्रतिनिधिले कसलाई भोट हाले ? कसले जित्यो ? त्यो महत्त्वपूर्ण कुरा हो । वालेटमा विश्वास गर्ने तपाई जत्तिको नेताले चुनावको परिणाम सजिलै स्वीकार गर्नुपर्छ । र मतदाताको विवेकमाथि प्रश्न गर्ने अधिकार कम्तीमा तपाईँलाई छैन । किनकि तपाई तिनै मतदाताको परिणामबाट विजयी भएको महामन्त्री हो । 

जनमत वा बहुमत हुँदैमा सत्ता र साख जोगिँदो रहेनछ । केपी शर्मा ओली त्यसको ताजा दृष्टान्त हुन् । सत्ता र शक्तिको मातले मैमत्त भएर केपी ओलीले पटक पटक संसद् विघटन गरे,केपी ओली स्वेच्छाचारी भए । यो तपाईँले लगाउने गरेको आरोप हो । हाम्रो चिन्ता यो हो कि, तपाईँमा त्यो रोग नसरोस् । केपी ओलीको विरोध गर्दा गर्दै तपाईँमा केपी ओलीको प्रवृत्ति हाबी नहोस् । 

जनमतको मातले मैमत्त नहुनुहोस् । तपाई अंश हो । समग्र होइन । तपाईँलाई सधैँ यसको हेक्का रहीरहोस । ओलीले भोगेको नियतिलाई आफैलाई समग्र मान्नुको परिणाम ठान्ने तपाईँले त्यो परिणाम भोग्नु नपरोस्, यो तपाईँका शुभेच्छुकहरूको चासो र चिन्ता हो ।

उही तपाईँको शुभेच्छुक

दीर्घराज उपाध्याय