Close This

दर्शक नतानेको ‘सेल्फी किङ’ले बलिउड निर्देशकलाई तान्यो

बिहीबार पौष २९, २०७८/ Thursday 01-13-22
Paschim Today

काठमाडौं, २९ पुस । दुई वर्षअघि प्रदर्शनमा आएको नेपाली फिल्म ुसेल्फी किङुले हलमा खासै दर्शक तान्न सकेन। विपिन कार्कीको मुख्य भूमिका रहेको  फिल्मले समीक्षकबाट पनि अपेक्षाकृत प्रतिक्रिया पाएन। हलमा प्रदर्शन हुँदा दर्शक तान्न नसेकेको फिल्मले बलिउडका निर्देशकलाई भने आकर्षण गरेको छ। सेल्फी किङबाट प्रभावित भएर भारतीय निर्देशक सन्दीप रेड्डी भांगाले आफ्नो नयाँ फिल्म ‘एनिमल’का लागि विपिन कार्कीलाई प्रस्ताव गरेका छन्।

विपिन एनिमलमा देखिने लगभग पक्का भए पनि निर्माण टोलीसँग लिखित सम्झौता हुन भने बाँकी छ। आगामी अगष्टदेखि छायांकनमा जाने फिल्म विपिनको पहिलो बलिउड फिल्म हुनेछ। तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ र त्यसको हिन्दी रिमेक ‘कबिर सिंह’ लेखन तथा निर्देशन गरेका सन्दीपको एनिमललाई प्रतिक्षित फिल्मको रूपमा हेरिएको छ। फिल्ममा अनिल कपुर र रणवीर कपुर मुख्य भूमिकामा देखिँदै छन्। अनिल र रणवीरबाहेक फिल्ममा बबी देवल र परिणिती चोपडाको पनि अभिनय रहनेछ।

पछिल्लो समय नेपाली कलाकार विदेशी फिल्ममा अनुबन्धित हुने क्रम बढेको छ। भर्खरै अभिनेत्री स्वस्तिमा खड्का र आँचल शर्मा  पनि दक्षिण भारतीय फिल्ममा अनुबन्धित भएका छन्। यसअघि नेपाली अभिनेता भोलाराज सापकोटा अनुराग वासुद्वारा लिखित तथा निर्देशित बलिउड फिल्म बर्फीमा देखिएका थिए। व्यावसायिक रुपमा सफल रहेको उक्त फिल्ममा पनि रणवीर मुख्य भूमिकामा देखिएका थिए।

तर, त्यसपछि भोलाराज बलिउड फिल्ममा देखिएका छैनन्। एनिमलमा विपिनको भूमिका कस्तो रहन्छ तथा नेपालमा सबैभन्दा रुचाइएका अभिनेतामध्येमा गनिने उनलाई बलिउडका दर्शक तथा फिल्मकर्मीबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने कुरा भने हेर्न बाँकी नै छ।