Close This

अधुरा होल्डिङ सेन्टरलाई आइसोलेसन बनाउने तयारी

बिहीबार पौष २९, २०७८/ Thursday 01-13-22
Paschim Today

धनगढी,२९पुस । कैलालीको धनगढी उपमहानगरपालिका–३ बड्हरा र कञ्चनपुरको गड्डा चौकी नाकामा निर्माणाधीन होल्डिङ सेन्टरलाई आइसोलेसन बनाउने तयारी गरिएको छ । भारतबाट फर्किरहेका नेपालीहरुमा बढ्दो कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि उनीहरुलाई व्यवस्थापनका लागि अधुरा होल्डिङ सेन्टरमा आइसोलेसन बनाउने तयारी गरिएको हो । यद्यपि, अहिलेसम्म त्यहाँ सङ्क्रमितलाई भने राखिएको छैन । 

त्रिनगर भन्सार नाकाबाट फर्किरहेकाहरुमा कोरोना पोजेटिभ देखिएमा उनीहरुलाई धनगढी उपमहानगरपालिका–१५ कनरीमा रहेको आइसोलेसनमा लगेर व्यवस्थापन गर्ने कार्य हुँदै आएको छ । सो आइसोलेसन सेन्टर सय बेडको रहेको छ । भारतबाट फर्किरहेका संक्रमितलाई अहिलेसम्म कनरी आइसोलेसन सेन्टरमा राखिरहेको र व्यवस्थापनमा समस्या नरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । ‘तत्काललाई पुगेको छ’, उनले भने । होम आइसोलेसनमा बस्न चाहेका संक्रमितलाई घर जान दिइएकाले तत्काल व्यवस्थापनमा समस्या नरहेको जोशीले जनाए । ‘तर, संक्रमित बढेमा भने समस्या हुन सक्छ’, उनले भने । 

संक्रमित व्यवस्थापनमा समस्या भएमा आइसोलेसनको रुपमा प्रयोग गर्नका लागि जिल्ला प्रशासन कार्यालयले पहिलो प्राथमिकतामा बडहरास्थित होल्डिङ सेन्टरलाई राखेको छ । एक हजार क्षमताको होल्डिङ सेन्टरमा हाल तीन सय बेड तयार भएको छ । यद्यपि, खानाको व्यवस्थापन, खानेपानी लगायतको समस्या रहेको छ ।  यसैगरी, राजपुरमा निर्माणाधीन प्रदेश आयुर्वेदिक औषधालयको भवन र गेंटा मेडिकल कलेजलाई पनि आइसोलेन सेन्टर बनाउने विकल्पका रुपमा हेरिएको छ । दोस्रो लहरको कोरोना संक्रमणको क्रममा गेटा मेडिकल कलेज भवनलाई आइसोलेसन सेन्टर बनाइएको थियो । 

यस्तै, गड्डाचौकी नाका भएर फर्कनेमा सङ्क्रमण पुष्टि भएपछि लक्षण भएका संक्रमितलाई महाकाली अस्पतालको आइसोलेसनमा राख्ने कार्य भइरहेको छ । लक्षण नभएका संक्रमित र अन्य जिल्लाका संक्रमितलाई भने होम आइसोलेसनका लागि पठाउने गरिएको जिल्ल प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी अशोककुमार भण्डारीले जनाए । ‘अहिलेसम्म व्यवस्थापनमा समस्या भएको छैन’, उनले भने । 

सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीका अनुसार महाकाली अस्पतालमा संक्रमित भरिएमा निर्माणाधी होल्डिङ सेन्टरमा आइसोलेसन बनाएर संक्रमित राख्ने तयारी गरिएको छ । त्यसको लागि तीन सय बेड तयार पारेको उनले जानकारी दिए । ‘तर, आजको मितिसम्म हामीले त्यहाँ एक जनालाई पनि राखेका छैनौं’, भण्डारीले भने ।  पछिल्लो समय भारतमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिम प्रदेशको गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र पुलघाट नाकाबाट धमाधम नेपाली दाजुभाई फर्किरहेका छन् । उनीहरुमा संक्रमण पनि बढ्दो छ ।

पुस २१ देखि २८ गतेसम्म चार वटै नाकाबाट ११ हजार ३१६ जना भित्रिएका छन् । जसमध्ये १० हजार २०२ जनाको नाकामै परीक्षण गर्दा ६९८ जनामा कोरोना पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । यसैगरी, भारतीय नागरिकलाई पनि आउन बन्देज गरिएको छैन । खोप लगाएको कार्ड र ७२ घण्टाभित्र पीसीआर जाँच गराइ निगेटिभ रिपोर्ट लिएर आएकालाई आउन दिइएको छ । नाकामा जाँच गर्दा पोजेटिभ देखिएका भारतीय नागरिकलाई भने भारततिर नै फिर्ता पठाउने गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले जानकारी दिए । यसैगरी, गड्डाचौकी नाकाबाट पनि पोजेटिभ देखिएका भारतीय नागरिकलाई उनीहरुकै देश फर्काउने गरिएको छ ।