Close This

पशुपति धर्मशालाको सम्झौता रद्द गर्न छानबिन समितिको सुझाव

सोमबार माघ ३, २०७८/ Monday 01-17-22
Paschim Today

काठमाडौँ,३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नेपाल–भारत पशुपतिमैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि गठन गरिएको समितिले आज आफ्नो प्रतिवेदन पेस गरेको छ ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले उक्त प्रतिवेदन पेस गरेको हो ।

मन्त्री आले उक्त कोषका अध्यक्ष भए पनि उनलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई समितिका संयोजक सुवेदीले उक्त प्रतिवेदन पेस गरेका हुन् । 

समितिले बुझाएको प्रतिवेदनमा नेपाल–भारत पशुपतिमैत्री धर्मशालामा सम्झौता विपरीत काम भएकाले उक्त सम्झौता रद्द गर्नुपर्ने उल्लेख गरिएको छ । धर्मशाला कसैलाई टेन्डर दिने भन्ने पहिले नै प्लानिङ गरी सूचना प्रकाशन गरिएको समितिको आशङ्का रहेको समितिका संयोजक सुवेदीले बताए ।

उनले भने,  “धर्मशालाका विषयमा थुप्रै कमी कमजोरी भएका देखिएका छन्, सेटिङका आधारमा काम भएको समितिको ठहर छ, त्यसैले यो रद्द हुनुपर्छ ।” यसैगरी, धर्मशाला गहना पसल, गाडी स्वरुम राखिएका र मनपरी मूल्य लिइँदै आएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

उक्त समितिमा पाँचजना सदस्य रहेका थिए । उक्त समितिका सदस्यमा परिषद् सदस्य आशा पाण्डे, विश्वकरण जयन तथा देवीप्रसाद बराल रहेका थिए भने मन्त्रालयका लेखाका उपसचिव सदस्य रहेका थिए । उक्त धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेले आनन्द प्रालि (बतास समूह) लाई भाडामा दिएको थियो । उक्त समूहले पशुपति मैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवं धार्मिक पर्यटकहरुसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ ।