लापरबाहीको नमुना

मंगलबार माघ ४, २०७८/ Tuesday 01-18-22
Paschim Today

सुदूरपश्चिममा तुलनात्मक रुपमा स्तरीय सेवा, सुविधा भएको सरकारी अस्पताल सेती प्रादेशिक अस्पताल हो । सेती प्रादेशिक अस्पताल यो प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको छ । यो अस्पतालमा तुलनात्मक रुपमा विशेषज्ञ चिकित्सकीय उपचार सुविधा छ ।

केही उपकरण पनि छन् । यद्यपि विशेषज्ञ चिकित्स र उपकरणको अभाव सेतीमा अहिले पनि कायम छ । उपकरण र जनशक्तिको अभाव एकातिर छ, अर्कोतिर पूर्वाधारको पनि अभाव छ । सेतीमा बिरामीको चाप दिनानुदिन बढ्दो छ, त्यसअनुसार पूर्वाधार थपिन सकेका छैनन् । जसले गर्दा बिरामीको चाप थेगिनसक्नु हुन थालेको छ । पूर्वाधार पुरानै छ, बिरामीको चाप भने बढेको बढ्यै छ ।

रेफरल अस्पतालको रुपमा रहेको सेतीमा बिरामीको चाप बढेर पूर्वाधार अभावको समस्या बढ्दै जाँदा निर्माणाधीन भवन भने अलपत्रजस्तै छ । डेढ वर्ष पहिले बनिसक्नु पर्ने सेती प्रादेशिक अस्पतालको भवन निर्माण कार्य अझै पूरा हुन सकेको छैन । निर्माण कम्पनीको लापरवाही र काममा ढिलासुस्तीका कारण भवन अलपत्रजस्तो बनेको छ ।

निर्माण कम्पती एमएस रविना थेगिम जेभीले सम्झौताअनुसार काम गरेको भए २०७७ वैशाख अन्तिममा भवन निर्माणको काम सम्पन्न भइसक्थ्यो । तर अहिलेसम्म भवनको काम कहिले पुरा हुन्छ भन्ने एकीन छैन । ठेकेदारले निर्माणको कार्यमा लापरबाही गर्दा समयमा अस्पताल भवन तयार हुन नसकेको हो । कोरोनाको कारण काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले काममा ढिलासुस्ती गर्दै आएको छ ।

भवन निर्माणमा चरम लापरबाही हुँदा पनि सरोकारवाला निकाय भने मौनजस्तै छन् । भवनको काम समयमै सम्पन्न गर्नका लागि न ठेकेदारले चाँसो दिए, न सरोकारवाला निकायले ठेकेदारलाई घचघच्याउने, काम नगरे कारबाहीको दायरामा ल्याउने काम गरे । भवन निर्माणमा ढिलाइ हुँदा अस्पतालको सेवा प्रभावकारी बनाउन अफ्ठेरो भएको छ ।

सेवाको स्तरोन्नति हुन सकेको छैन । बर्थिङ सेन्टर र ल्याबका लागि उक्त भवन प्रयोग गर्ने तयारी छ । अस्पतालको स्तरोन्नतिका लागि भवनको खाँचो महसुस भएपछि भवन निर्माण थालनी गरिए पनि समयमै निर्माण पुरा नहुँदा लक्ष्यअनुसार सेवाको स्तर वृद्धिमा कठिनाइ भएको छ ।

सेती प्रादेशिक अस्पतालको अलपत्र भवन यो एउटा उदाहरण हो । अधिकांश सरकारी भवन यसरीनै अलपत्र अवस्थामा छन् । भवन निर्माण कार्य समयमै पूरा गर्न सरोकारवाला निकायले निर्माण कम्पनीलाई ताकेता गर्ने र काममा ढिलाइ गरे कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ ।