Close This

टेलीकमको तार चोरेको आरोपमा भायोनेटमा कार्यरत पाँच जना कर्मचारी पक्राउ

सोमबार माघ १०, २०७८/ Monday 01-24-22
Paschim Today

काठमाडौं, १० माघ । ईन्टरनेट सेवा प्रदायक कम्पनी भायोनेटमा कार्यरत ५ जना कर्मचारीहरूमाथि टेलीकमको तार चोरेको आरोप लागेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित लोलाङ हाइटमा रहेको पोलबाट तार चोरेको अभियोगमा महानगरीय प्रहरी वृत बालाजुले भायोनेटका ५ कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भएका प्रेम बहादुर बोहरा, कैलाली घर भएका नमेश बुढा, गोविन्द साउद, गोरखा घर भएका राजन घले र काभ्रेको बनेपा घर भएका प्रबिन कार्की छन् ।

भायोनेट मर्मतका लागी प्रदेश-३-०१-०२३ च ४३०१ नम्बरको हात्ती गाडीमा हिँड्ने उनीहरुले तार चोरी गर्ने गरेको अनुसन्धानबाट थाहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेश राज मैनालीले जानकारी दिए । हात्ती गाडीको अगाडि ‘दुरसञ्चार इन्टरनेट सेवा’ लेखिएको बोर्ड राखेर हिँड्ने हुनाले उनीहरुलाई सहजै कसैले शंका गर्थेनन् । आरोपीहरुले सो सुविधाको फाइदा उठाएर तार चोरी गर्दै आएका थिए ।