म र पैसा

मंगलबार फागुन १७, २०७८/ Tuesday 03-01-22
तेजप्रकाश उपाध्याय

जीवनको आधारभूत चरण शिराबाट चिराचिरा पारेर सूक्ष्म अध्ययन गर्ने हो भने जो कसैले पनि मबाट नै सुरु गर्ने गर्दछन् । बालापन देखी नै म को विकासकालागि बाआमाको प्रलय मिहेनत नै रहेको हुन्छ ।बाआमा मका वास्तविक सेवक वा नोकर मात्र हैनन् श्रम रहित रोजगारदाता पनि हुन । मलाई श्रम, समय र समीक्षा विनानै आय अथवा आम्दानी र सेवा भइरहेको हुन्छ ।

मको सुरक्षा, सुस्वास्थ्य र दीर्घायुमा कुनै प्रकारको शोषण हैन पोषण नै पोषण हुन्छ । मलाई आवश्यक पर्ने सेवा सुविधामा बाआमाको लगानी असीमित रहन्छ । त्यो समयमा म भूत र भविष्यलाई चिन्दैन मात्र वर्तमानलाई आँखाले होइन चस्माले देखे जस्तै गर्छु । तिन वर्ष पुवार्धमा पूर्वीय कल्चरले जरा गाडेका कर्मकाण्ड अन्तर्गत रही गरिएका कर्महरूमा मलाई पैसा लाभ हुदोरहेछ । लाभ भएको पैसालाई मैले बटारी दिन्थे, च्याती दिन्थे, मुखमा हालेर चपाई दिन्थे ।

कहिलेकाहीँ बाआमाले चासचुस, हप्काई दप्काई पनि गर्थे । करिब तिन वर्षको उत्तरार्धमा बाआमाले बाबा, आमा भन्न लगाउँथे । कहिलेकाहीँ मैले नबोल्दा हप्काई दप्काई जबरजस्ती बाबाआमा भन्न पनि लगाउँथे । मैले पैसा बटार्दा र च्यातच्युत गदै मुखमा हाल्दा कहिलेकाहीँ गालामा हिकार्य जस्तै गर्थे । मलाई के थाहा पैसा बटार्दा पिटाई खाइन्छ भनेर । हुर्कने बिरुवाले पात फेरे जस्तै मेरो हुर्काइले पनि भोटोहरुफेर्दै गयो । मेरो हातमा पैसा देख्दा पसलेहरू चकलेट खाने ? बिस्कुट खाने ?

भनेर प्रश्न गर्थै । म कसैलाई चिन्दैनथे तर मलाई सबैले चिन्दथे ।तर पैसालाई म र अरू सबै चिन्ने रहेछन् । केही कुरामा म बटारिँदा वा रिसाउँदा मलाई पैसा दिएर भुल्याउथे । फेरी म नजिकको छिमेकीको पसलमा हाजिर हुन्थे । बाआमाले धेरै खानु हुन्न, खर्च गर्नु हुन्न भनेर रिसाउँथे म चैँ चकलेट बिस्कुट किनेर खान खोज्थे । पैसाले नै मलाई रुवाउन सिकायो र पैसाले नै मलाई भुलाउन सिकायो ।

म र पैसा सबैले चिन्नथाले म भन्दा मेरो हातको पैसामा सबैको नजर हुन्थ्यो पसलेले केही किनीदियोस चाहन्थ्यो भने बाआमाले खुत्रुके ल्याइदियो भने बचत गर्न सिक्थ्यो कि सोचिरहन्थे । तिन वर्षको पुवार्धसम्म मैले जे माग गरे करिब सबै माग बाआमाले पुरागरिदिन्थे । मेरो उमेर र माग बढी रहे तर मेरो पैसा र माया बाआमाबाट घटिरह्यो । सायद म नियन्त्रणवादी शिक्षाको उत्तरार्धमा पाइला टेक्दै थिए । 

चार वर्षको उत्तरार्धमा मलाई धेरैले चिनिसकेका रहेछन् तर मैले बाआमालाईभर्खर चिन्नथाले, तोते बोल्न थाले, हिड्नथाले मेरो भोटो र पाइला फेरिँदै गए । बाआमा मेरो जन्मदाता रहेछन् तर उहाहरुको माया ममता बदलिँदै रहेछ । मैले  बाआमा र पैसालाई नचिन्दा सम्म बाआमाको प्रलय माया पाए तर आज मैले बाआमा र पैसा चिने पछि सबैको माया गुमाई रहेको छु । पैसा हात पर्दा दौडेर घर नजिकैको पसल धाउँथे बानी मौलाएको थियो । यसरी महिनौँ बित्यो । बाआमालाई मेरो माया भन्दा पनि पैसाको माया पलायो । पैसा दिनहुँ खर्च गर्छ भनेर एक बैंकबाट खुत्रुके ल्याइदिनु भयो । 

धेरै माया मलाई दिए जस्तो गरेर घरमै मिठो मिठो खानेकुरा बनाएर बाआमाले खुवाउन थाले । सानोतिनो हात परेको पैसा खुत्रुकेमा हाल्न सिकाउन थाले । मैले राम्रै सोचे बाआमाको सल्लाह । हप्ता दश दिन पछि खुत्रुकेको पैसा निकाल्न खोजे तर पैसा निस्कने ठाउँ देखेन ।

अनि बाआमालाई भने खोल्न तर खुत्रुकेको साँचो बैङ्कले आफै राखेको रहेछ । म रिसाए एक गिलास दूध पोखे, एक थाल भात पोखे सिर सेलाउँदै गयो । बाआमाले सम्झँदै गए तिन चार घण्टा पछि मात्र मलाई भोक लाग्यो अनि मात्र म फेरी बाआमाले दिएको खानेकुरा खान थाले । मेरो मानसपटल बदलियो पैसा खुत्रुकेमा हाल्दा बाआमाले मिठो मिठो खानेकुरा दिँदा रहेछन् । मेरो उमेर र शक्तिले रेस लिइरहेको थियो । म आफूभन्दा ठुला साथी स्कुल गएको देखेर बाआमालाई स्कुल जाने भन्न थाले ।

बाआमाले नजिकैकै बोर्डिङ स्कुलमा आधारभूत तहमा भर्ना गरिदिए । खाजा घरबाट सधैँ झोलामा लगेर स्कुल जान थाले । कहिलेकाहीँ स्कुलमा खाजाको सट्टा बाआमाले पैसा दिनुहुन्थ्यो । तर म त्यो पैसा खाजा नखाएर घरको खुत्रुकेमा जम्मा गरिदिन्थे । स्कुलमा खाजा नखाएर पैसा खुत्रुके हालेको देखेर बाआमा रिसाउनु हुन्थ्यो । खाजा किनेर किन नखाँको भनेर ।

मेरो विवेकले बाआमा जे भन्थे त्यही गर्थ्यो । घरमा मिठो खाने लोभले स्कुलमा खाजा खान दिएको पैसा पनि खुत्रुकेमा हाल्नाले बाआमा चकित थिए । उमेर र कक्षा माथि माथि जाँदा मेरो बाआमाको आर्थिक अवस्था कमजोर हुँदै रहेछ । मैले शिक्षा आर्जन गर्न पैसा लाग्ने रहेछ । मेरो स्कुलमा मासिक शुल्क आठ हजार रहेछ । मलाई के थाहा बाआमाले मेरो लागि यती धेरै खर्च गरिरहेको । कक्षा दुई सम्म यसरी नै अध्ययन गरियो । बाआमाले फेरीपढिरहेको स्कुल छुटाएर कक्षा तिनमा अर्को बोर्डिङ स्कुल भर्ना गरिदिए ।

अर्को स्कुलमा मासिक शुल्क सस्तो रहेछ । महिनाको दुई हजार मात्र । तर विद्यार्थी सङ्ख्या धेरै । बाआमाले मलाई भने धेरै पढेर धेरै कमाउनु पर्छ, ठुलो मान्छे हुनु पर्छ । मलाई बाआमाले सधैँ यस्तै भन्नुहुन्थ्यो । एवम् किसिमले म कक्षा चारमा पुगे । कक्षा चारमा मेरो मासिक शुल्क पनि वृद्धि भएर मासिक दुई हजार चार सय पुग्यो । बाआमाले मलाई पैसा कमाउन र ठुलो मान्छे हुन यतिका धेरै खर्च गरिरहेको थाहा पाए । म सोच्थे किनेको शिक्षाले कति दिन पुग्ने हो ।

म ठुलो हुन स्कुलमा शुल्क तिर्नु पर्छ र ? अनेक सोच्थे । मेरा बाआमाको सोचले म भ्रममा पुगे । बन्धक बनाएर फेरी त्यसमा पैसा तिरेर लिएको शिक्षाले हाम्रो विकास गर्छ कि अरूको रु केही वर्ष पछि कक्षा नौ मा अध्ययनरत थिए । मेरो रुचि गणित र अर्थशास्त्रमा गयो । जहाँ अङ्क र धर्के (रेखाचित्र)पढाई गरिँदो रहेछ । गणितमा उत्तर मिल्यो भने सय मा सय अङ्क आउँछ भन्ने सुनेको थिए । अर्थशास्त्रमा रेखाचित्र परीक्षामा अनिवार्य आउँछ पनि सुनेको थिए । परीक्षा दिए बल्ल बल्ल पास भए । बाआमाले पैसा कमाउन र ठुलो मान्छे बनाउन मलाई स्कुल पढाएको मनमा खट्किरह्यो । कक्षा दश पास गरेर क्याम्पस पढ्न गए । अङ्क र धर्के पढाईको अलि अलि थाहा थियो । अङ्क र धर्के पढाई क्याम्पस तिर कमर्स तिर पनि हुने रहेछ । आइ.कम. भर्ना भएर अङ्क र धर्के विषयमा नै मैले अध्ययन गर्ने निर्णय गरे । तर म अध्ययन गर्ने सरकारी क्याम्पस थियो । मासिक शुल्क सस्तो थियो ।

बन्धक र नियन्त्रणवादी शिक्षा भन्दा अलि राम्रो र खुल्ला सिकाई वातावरण थियो । त्यही वेला मैले पैसाको महत्त्व थाहा पाए । तर स्कुले जीवनमा बाआमाले धेरै खर्च गरेको सम्झिदा नरमाइलो लाग्छ । म आफै हुर्किरहेको थिए तर मेरो शिक्षालाई हुर्काउन बाआमाले निकै ठुलो पैसा खर्च गरे । मेरो बाआमाले खर्च गरेको पैसा अरुकसैले लगानी गरेर पैसा हुर्काए तर मेरा बाआमाले खर्च गरे मेरो शिक्षा हुर्काए फरक यती मात्र हो । मेरा बाआमाले खर्च गरेको पैसा हुर्किएर बजारमा सयर गर्दै छ रे तर मेरो किनेको बन्धक र नियन्त्रणवादी शिक्षाले पैसा कमाउन मात्र सिकायो तर पैसा रोपेर हुर्काउन कहिल्यै सिकाएन । कमाएको पैसा खान मात्र पुग्छ । पैसा रोपिएन भने फल्ने त कुरै छैन ।

बाआमाको हप्काई दप्काई दायित्व रहेछ तर मेरो भने सम्पत्ति । मलाई के थाहा मेरो भविष्यको सुरक्षा र योजना हो भनेर ।स्नातकोत्तर पास गरेर शहर गए नोकरी पनि पाए । नोकरी गर्ने भएपछि सबैले विश्वास गर्न थाले । बाआमाले ठुलो मान्छे र धेरै पैसा कमाउन दिएको प्रेरण म सँग जीवितै छ । नोकरीमा लागेको देखेर सबैले ठुलो मान्छे । धेरै पैसा कमाउने मान्छे भनेर हेर्दा रहेछन् । 

सजिलै ऋण पाइने रहेछ । ऋण लिएर शहरा घर पनि बनाइयो बाआमा पनि लगियो जीवनमा खुसीयाली थपियो । बैङ्कहरू पनि सजिलै विश्वास गर्ने रहेछन् । तर ऋणको व्याज, महँगी र घर सञ्चालन खर्चले आम्दानीको भाँडो सधैँ रित्तो देखिन थाल्यो । त्यसैले मैले सोचे व्यापार आय गर्ने, नोकरी व्यय गर्ने र लगानी बचत गर्ने क्रियाकलाप रहेछन् । एक वा अनेकमा आबद्ध भए पनि क्रियाकलाप अनुसार म मा परिपक्व कार्यनीति विकास हुँदै उत्तरार्धमा म कुनै एक क्रियाकलापको उच्चतम विन्दुमा रहेको हुनेछु ।

समीक्षा अवधि पश्चात् म व्यापारी भए पैसा हुनेछ, नोकर भए ऋण हुनेछ र लगानीकर्ता भए पुँजी सहितको निरन्तर प्रतिफल हुनेछ । त्यसैले म भन्छु गाउँमा तरकारी फलाउने भन्दा शहरा पैसाफलाउनेलाई बढी महत्त्व दिएर हामी गरिब भएका हौ । खरिद गरिएको शिक्षा लिएको भएर हामी गरिब भएका हौ ।ग्लोबल भिलेजमा मेशिनले पैसा छपाएर आहार खोज्ने सम्पन्नवर्गहरुले कागजको पैसा कमाउन विद्यावारिधि सम्मको शिक्षा बनाएर असीमित उत्पादनका क्षेत्र आफ्नो नियन्त्रणमा र पैसा गरिबको हातमा थमाइदिए पछि फेरी गरिब त्यही उत्पादनका सीमित प्रोडक्टहरु खरिद गरी आहार गर्छ भने यस्तो सक्रिय जालोबाट गरिब माथि उठ्न सक्छ त ?

बाआमाबाट प्राप्त गरिएको यो अमूल्य शिक्षा मेरो लागि अमृत बनेको छ । पैसा र मलाई सबैले चिन्दथे तर आज म पैसा मात्र चिन्ने भएको छु । पैसा मात्र रोपी रहेको छु । सबैलाई पैसा चिनाई रहेको छु । लगानी बढाउँदै खर्च घटाइरहेको छु । किनेको शिक्षा र मागेको भिक्षाले कहिल्यै पुगेन । म र पैसा हुर्किने बिरुवा जस्तै हौ । म र पैसा सँग घमण्ड र पावर हुन्छ ।

म र पैसाको अगाडी सबै तिर्खाएको काग जस्तै हुन्छन् । घैँटोको पानी कागले जस्तै पिउन जान्नु पर्छ । हाम्रो जीवनमा मित्रको मह भन्दा शत्रुको शिक्षाले बढी फाइदा गरेको हुन्छ । किनकि मित्रको मह पैसा परेको हुन्छ तर शत्रुको शिक्षा निःशुल्क हुन्छ ।

निःशुल्क प्राप्त श्रोतहरू नियन्त्रण रहित हुन्छन् भने मूल्य परेकाश्रोतहरु नियन्त्रण सहित उपभोग गरिएकाले हामी स्वतन्त्र हुन सक्दैनौ । नियन्त्रणवादी श्रोतहरूको भुक्तानी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हामीबाट निरन्तर भइरहेका हुन्छन् ।म र पैसाको चिरफार गरी परीक्षण गर्दा पनि परिणाम म र पैसा नै आएकोले व्यक्ति, घर, परिवार र समाजमा वित्तीय साक्षरता पहिचान र परीक्षण गर्न अनिवार्य देखिएको छ । 

(लेखक उपाध्याय रीड नेपालका वित्त अधिकृत हुन् ।)