Close This

१४ करोड मूल्य बराबरको हिरोइनसहित जाम्बियन नागरिक पक्राउ

सोमबार बैशाख १२, २०७९/ Monday 04-25-22
Paschim Today

काठमाडौं, १२ वैशाख । साउथ अफ्रिकाको जोहानेसवर्गबाट दोहा हुँदै काठमाडौं आएकी जाम्बियन नागरिक कपुतुला अविसर्गलाई १४ करोड मूल्य बराबरको सेतो हेरोइनसहित प्रहरीले  पक्राउ गरेको छ ।

नेपाललाई ट्रान्जिट बनाई आएकी उनले सुटकेसभित्र फल्स बटम बनाइ लुकाइ ल्याएको अवस्थामा उक्त सामान बरामद भएको लागूऔषध नियन्त्रण ब्युरोका निमित्त प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए । साउथ अफ्रिकाबाट ठूलो मात्रामा लागूऔषध सेतो हेरोइन नेपाल भित्रदै छ भन्ने सूचना पाएको ब्युरोले लामो समयदेखि साउथ अफ्रिका हुँदै नेपाल आउने यात्रीमाथि निगरानी राख्दै आएको थियो ।

प्रहरीको निगरानीलाई पनि छलेर ती महिला राजधानीको एक होटलमा पुग्न सफल भएकी थिइन् ।ब्युरोले सेतो हेरोइन नेपाल भित्रिएको पत्ता लगाएपछि ती महिलाको खोजीमा जुटेको थियो । साउथ अफ्रिकाबाट उक्त सामान नेपालमा छोडेर पुनः जोहानेसवर्ग जाने योजनामा रहेकी कपुतुला होटलबाटै पक्राउ परेकी थिइन् । उक्त सामान लिन आएकी भारतीय नागरिक लालनुपीलाई पनि प्रहरीले सोही होटलबाट पक्राउ गरेको थियो ।

अन्तर्राष्ट्रिय लागूऔषध तस्करहरूले नेपाललाई ट्रान्जिट बनाएर बेलाबेलामा लागूऔषध नेपाल ल्याउने गरेका छन् । पक्राउ परेका दुवैविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।