Close This

मोटरसाइकल चोरी गर्ने लामा पक्राउ

बुधबार बैशाख १४, २०७९/ Wednesday 04-27-22
Paschim Today

काठमाडौं, १४ वैशाख । नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ घर भई काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङमा बस्दै आएका २६ वर्षीय सुदास लामालाई आज पक्राउ गरेको हो । कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापबाट हराएको मोटरसाइकल चोरीमा संलग्न लामालाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ लामाले चोरी भएको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२५प १०१० नंको २२० सिसीको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी लु६४प ७३७५ नं बनाएर सञ्चालन गरेको अनुसन्धानमा खुलेको छ । मोटरसाइकल हराएपछि गोदावरी नगरपालिका–८ डुकुछापका नवराज घिमिरेले ट्राफिक कार्यालयमा उजुरी दिएका थिए । पक्राउ गरिएका व्यक्ति र मोटरसाइकललाई चोरी मुद्दामा आवश्यक अनुसन्धान एवम कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको कार्यालय प्रमुख जोशीले बताए । 

फरार अभियुक्त पक्राउ

नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ११ लाख ६९ हजार जरिवना ठहर भएका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले  बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विसं २०७८ फागुन २९ को फैसलानुसार दुई दिन कैद सजाय र बिगो बमोजिम रु ११ लाख ६९ हजार जरिवना तोकेपछि फरार रहेका ओखलढुङ्गा सुनकोसी गाउँपालिका घर भई कपन बस्ने ३४ वर्षीय रामकुमार राईलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी बैकिङ कसुरजन्य अपराध गरेकाले राईलाई मङ्गलबार टङ्गाल काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ राईले आफ्नो राष्ट्रिय वाणिज्य बैँक गौशाला शाखाको पैसा नभएको चेक दिएर बैकिङ कसुरजन्य अपराध गरेका थिए । पक्राउ राईलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताए ।