Close This

गौरीगंगालाई भ्रष्टाचारमुक्त बनाउँछु : कँडेल

बुधबार बैशाख २१, २०७९/ Wednesday 05-04-22
Paschim Today

२०५२ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय देवीदत्त कँडेल स्वच्छ छवि भएका इमान्दार राजनीतिज्ञको रुपमा चिनिन्छन् । सामाजिक क्षेत्रमा पनि उनी उत्तीकै सक्रिय छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारसँग ६१ मतको झिनो अन्तरले पराजित कँडेललाई यस पटक पनि उनको पार्टी नेकपा माओवादी केन्द्रले गठबन्धनका तर्फबाट मेयरको उम्मेदवारका रुपमा अघि सारेको छ । माओवादी केन्द्र, नेपाली काँग्रेस र एकीकृत समाजवादीसहित तीन दलिय गठबन्धनका उम्मेदवार कँडेलले अघि सारेका चुनावी एजेण्डा, चुनाव जित्ने आधार, उम्मेदवारीलगायत विषयमा गरिएको कुराकानीको अंश :- 

अघिल्लो पटक तपाइ चुनाव हार्नु भयो, यस पटक पनि तपाइको उम्मेदवारी किन ?   

म लामो समयदेखि राजनीतिमा सक्रिय छु । राजनीतिसँगै मैले समाजमा पनि थुप्रै सामाजिक कामहरु  गरिरहेको छु । मैले जनताको हितमा प्रत्यक्ष रुपमा काम गर्न खोजेँ । जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने र उनीहरुलाई आत्मनिर्भर बनाउने, लगानीमार्फत् रोजगारी सिर्जना गर्ने मेरो सोँच थियो तर पदमा नपुगेसम्म त्यो पूरा गर्न नसकिने रहेछ । त्यसैले जनताका समस्या समाधान गर्ने, आवश्यकता परिपूर्ति गर्न, उनीहरुको जीवनस्तरमा सुधार गर्नका लागि म मेयरको उम्मेदवार बनेको छु । जनताको हितमा काम गर्न, यहाँका विकास निर्माणदेखि रोजगारी सिर्जना हुने कामहरु गर्नका निम्ति पनि त्यो पद आवश्यक हुँदो रहेछ । मेयरका रुपमा मैले ती कामहरु गर्नका निमित्त आफू फेरि मेयरको उम्मेदवार बन्नुपर्ने आवश्यकता मैले महसुस गरे।

तपाइका चुनावी एजेण्डाहरु के हुन् ? मेयरमा निर्वाचित भइसकेपछि तपाइका प्राथमिकता के हुनेछन् ?   

यो पाँच वर्षमा गौरीगंगा नगरपालिका भ्रष्टाचार र बेथितिको अखडा बन्यो । नगरपालिकाको स्रोतको ब्यापक दुरुपयोग भयो । गठबन्धनका उम्मेदवारको जित भएपछि भएपछि सबैभन्दा पहिला त गौरीगंगा नगरपालिकालाई भ्रष्टामुक्त बनाउन हाम्रो अहम् भूमिका रहने छ । गौरीगंगा नगरपालिकाको स्रोतलाई यहाँका आवश्यकताको पहिचान गरेर त्यसमा खर्च गर्ने र दुरुपयोग हुन नदिने मैले कसम पनि खाएको छु । हामीले धेरै काम गर्नुपर्ने छ । मेरो पहिलो काम भनेको गौरीगंगा नगरपालिकामा भ्रष्टाचार हुन नदिनु रहनेछ । गौरीगंगा नगरपालिकाका जनताले आफूले तिरेको कर यहाँका आवश्यकता पहिचान गरी त्यसमा खर्च होस् भन्ने चाहेका छन् । म मेयरमा निर्वाचित भएपछि नगरपालिकाको स्रोत यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी सिर्जनाजस्ता जनताको सुविधा र जीवनस्तर सुधारसँग प्रत्यक्ष जोडिएका काममा लगाउने छु । यहाँको स्रोतसाधनको अनियमितता हुन नदिएर सही ठाउँमा लगाउने उद्देश्यका साथ म अगाडि बढेको छु ।

भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्यका कुरालाई प्राथमिकतामा राख्नेछु । किसानले पाउने अनुदानमा पनि अनियमितता भएको छ । हामी त्यो हुन दिने छैनौँ । वास्तविक किसानले मात्रै अनुदान र सहयोग पाउने गरी हामीले काम गर्ने छौँ । सीपमुलक तालिममार्फत् महिलालाई आत्मनिर्भर बनाउने एजेण्डा मैले अघि सारेको छु । यहाँका विद्यालयहरुमा नगर शिक्षकमा आफ्ना मान्छे भर्ति केन्द्रहरु बनाइएका छन् । नगरपालिका आफ्ना मान्छेलाई करारका कर्मचारी भर्ति केन्द्र बनाइएको छ । यहाँ थुपै्र पढेलेखेका युवायुवती बेरोजगार छन् । आफ्नालाई जागिर दिने नाममा यहाँका योग्य युवाहरुलाई पन्छाएर अन्यत्रबाट मान्छेहरु ल्याएर कर्मचारीमा भर्ना गरिएका छन् । नगरपालिकामा करारका कर्मचारी आवश्यक हो भने यहाँका शोषितपीडित जनताका योग्य र सक्षम छोराछोरी राख्नुपर्छ भन्ने मेरो धारणा छ । कुनै पनि ठाउँमा आफ्नोलाई नभइ योग्य र राम्रोलाई भर्ना गरिनु पर्छ ।  यहाँको स्रोतको सही सदुपयोग गरी शिक्षा, स्वास्थ्य, सडक आदि भौतिक र मानवीय विकास गरी गौरीगंगालाई सुन्दर र समृद्ध नगरको रुपमा विकास गर्ने मेरो लक्ष्य छ । 

तपाइले चुनाव जित्ने आधारहरु के हुन् ?   

न्यायाधिस जनता हो । जनताको जनमतनै मेरो जित्ने आधार हो । हामीले ११ वटै वडामा भेटघाट ग¥यौँ । एउटा स्वच्छ, इमान्दार उम्मेदवार पायौँ भनेर जनतामा मप्रति एकखालको उत्साह र उर्जा पाएको छु । जनताप्रेमी, यस क्षेत्रको विकासका लागि काम गर्ने उम्मेदवार पायौँ भनेर जनताले अनुभूति गरेको मैले पनि महसुस गरेको छु । त्यसैले हाम्रा सबै चुनावी कार्यक्रम जनताको सहभागिता र उत्साह निकै बढी छ । काँग्रेस र हामी फरक राजनीतिक सिद्धान्त बोकेर आए पनि म काँग्रेसका चुनावी कार्यक्रममा जाँदा काँग्रेसभित्रकै उम्मेदवार ठानेर उहाँहरुले मलाइ आत्मियता देखाइरहनु भएको छ र सहयोग गरिरहनु भएको छ । जनताले पनि गठबन्धनले सही उम्मेदवार दियो भनेर महसुस गरेका छन् । हाम्रो पक्षमा जनताको एउटा उत्साह र लहर देख्दा गौरीगंगामा गबन्धनको जित भइसकेको छ । त्यो ३० गते भनेको प्रकृया पु¥याउने कुरामात्रै हो भन्ने मैले ठानेको छु ।     

सानैदेखि सेवामा खटिने मेरो स्वभाव थियो । गरिब, तल्लो बर्गका मानिसले केही पाउनुपर्ने भन्ने मेरो सोँचाइ छ । म २४ वर्षको उमेरमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेँ । गौरीगंगा–४, मा रहेको कालिका माध्यमिक विद्यालयको म लगातार १४ वर्षसम्म अध्यक्ष भए । म अध्यक्ष हुँदा त्यो विद्यालयले एसएलसीमा ९८ प्रतिशत नतिजा ल्याएको थियो । त्यसबेला सुदूरपश्चिममा एसएलसीमा ९८ प्रतिशत नतिजा ल्याउन सफल त्यो एउटामात्रै सरकारी विद्यालय हो । मेरो राजनीतिको सुरुवात गर्ने र मलाइ यहाँसम्म पु¥याउने विद्यालयको त्यो जिम्मेवारी हो । मैले त्यहाँ राम्राराम्रा कामहरु गरेको थिएँ । त्यही भएर जनताले मलाइ विश्वास पनि गरेका छन् । मैले अन्य संघसंस्थामा पनि सफल नेतृत्व गरेको छु । त्यसैले मेयरको योग्य उम्मेदवार पनि हुँ भन्ने लागेको छ । फेरि पनि त्यस्तै काम गरेर गौरीगंगा नगरबासीलाई हामीले सही मान्छेलाई मत दिएछौँ भन्ने बनाउने  प्रतिवद्धता जनाउँदछु । गठबन्धनको निर्वाचन प्रचारप्रसार कार्यक्रममा जनताको सहभागिता र उत्साह हेर्दा हाम्रो जित भइसकेको छ । चुनावी प्रकृयामात्रै बाँकी छ ।