Close This

गौरीगंगालाई सुन्दर नगर बनाउँछु : बम

बुधबार बैशाख २१, २०७९/ Wednesday 05-04-22
Paschim Today

राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय नाम हो–भोजबहादुर बम । नेपालमा सहकारीको क्षेत्रमा उनको महत्वपूर्ण योगदान छ । लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय बम अहिले कैलालीको गौरीगंगा नगरपालिकामा गठबन्धनका तर्फबाट उपमेयरको उम्मेदवार बनेका छन् । निर्वाचन प्रसारप्रसारमा व्यस्त रहेका उनले अघि सारेका चुनावी एजेण्डा र प्राथमिकताबारे गरिएको संक्षिप्त कुराकानीको अंश

तपाइको उम्मेदवारी के का लागि ?
गौरीगंगा नगरपालिकालाई म सुन्दर नगरपालिकाको रुपमा विकास गर्न चाहन्छु । यहाँको शिक्षा, स्वास्थ्य, सडकजस्ता हरेक विकास निर्माणका कामलाई अगाडि बढाउन मैले काम गर्नेछु । यहाँको पूर्वाधारलगायत समग्र विकास गरेर गौरीगंगालाई समृद्ध, सुन्दर र सुविधा सम्पन्न नगरको रुपमा विकास गर्नका लागि मेरो उम्मेदवारी हो ।

तपाइका प्रमुख एजेण्डा के हो ?
हामी निर्वाचित भइसकेपछि सबैभन्दा पहिले त हामी गौरीगंगा नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने छौँ । त्यहाँ भएका भ्रष्टाचारको भण्डाफोर गर्नेछौँ । नगरको शिक्षा, स्वास्थ्य, पूर्वााधर आदि समग्र विकास मेरो प्रमुख एजेण्डा हो । रोजगारीका अवसरकोे सिर्जना गरी बेरोजगारलाई रोजगारीसँग जोड्ने, उद्यमशीलता बढाउने मेरो लक्ष्य छ । सीपमुलक तालिम आदि मार्फत् महिलालाई आयआर्जनका कार्यमा जोड्ने र स्वरोजगार बनाउने एजेण्डा हामीले अघि सारेका छौँ ।जनतालाई खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता सुविधाहरु दिनु हाम्रो प्राथमिकता हुनेछ । गरिब जनताको जीवनस्तर कसरी उकास्ने भन्नेमा हामी केन्द्रीत भएर काम गर्नेछौँ । हामी निर्वाचित भएमा यहाँका सुकुम्बासी, भूमिहिन, दलितका समस्या समाधानको मुद्दाहरुलाई अगाडि सार्नेछौँ । सडक, शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता समग्र विकासमार्फत् गौरीगंगालाई पूर्वाधार सम्पन्न, समृद्ध र सुन्दर नगरपालिका बनाउने मेरो प्रमुख एजेण्डा हो । 

तपाइले चुनाव जित्ने आधार के हुन् ?

मैले चुनाव जित्ने आधार धेरै छन् । म २०४६ सालदेखि परिवर्तनका हरेक आन्दोलनमा लागेको छु । सहकारी आन्दोलन, क्लबहरु, सामाजिक संघसंस्थाहरुमा आवद्ध रहेर मैले सामाजिक कार्य गरेको छु । २०४८ सालमा मैले तत्कालीन मसुरिया गाविसलाई सुदूरपश्चिमको ‘ड्राइ एरिया’ घोषणाका लागि पहल गरेँ । यहाँका युवाहरुलाई खेलकुद क्षेत्रसँग जोडेको छु । जनताको बीचमा रहेर सामाजिक कार्यहरुमा संलग्न रहँदै सेवा गरेकाले मैले आफ्नो जित सहज हुने देखेको छ । अर्को कुरा यो चुनावमा जिल्लाभरिमै गठबन्धन भएको छ । जिल्लामा भएको सहमतिलाई आत्मसाथ गरेर अहिले हामीले गौरीगंगामा पनि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन गरेका छौँ । गठबन्धन हुनु पनि हामीले जित्ने अर्को आधार हो ।