Close This

श्रीलंकामा हिंसा-आगजनी गर्नेलाई देख्नेबित्तिकै गोली चलाउन आदेश

बुधबार बैशाख २८, २०७९/ Wednesday 05-11-22
Paschim Today

श्रीलंकाको रक्षा मन्त्रालयले मंगलबार साँझ सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने वा कसैको ज्यानलाई खतरामा पार्ने जो कोहीलाई गोली हान्न आदेश जारी गरेको छ।

'अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा प्रदर्शन हिंसात्मक बन्दै गएको छ र यसले दंगाको रूप लिइरहेको छ,' देशको रक्षा मन्त्रालयका प्रवक्ता नलिन हेर्थले भने, 'सुरक्षा बलहरूलाई सार्वजनिक सम्पत्ति लुट्ने वा जीउज्यानमा क्षति पुर्‍याउने जोसुकैलाई देख्नेबित्तिकै गोली हान्ने आदेश दिइएको छ।'

एक दिनअघि मात्रै आन्दोलनकारीको एक समूहले सत्तारुढ दलका नेताहरुको घरमा निशाना बनाएर आगजनी गरेको थियो । राष्ट्रपतिको सरकारी निवास वरपरका क्षेत्रमा समेत आगजनी गरिएको थियो । सो अवस्थालाई ध्यानमा राख्दै देशको सेना र प्रहरीलाई आपतकालीन अधिकार दिइएको हो।

अब सेनाले मानिसहरूलाई प्रहरीलाई सुम्पनुअघि २४ घण्टासम्म थुनामा राख्न सक्नेछ। साथै निजी सवारीसाधनलगायत व्यक्तिगत सम्पत्तिमा जुनसुकै बेला खानतलासी गर्न सक्नेछ। श्रीलंकामा इन्धन, खाद्यान्न, औषधि र आधारभूत वस्तुको चरम अभाव छ। आम जनता एक महिनाभन्दा बढी समयदेखि राजापाक्षे परिवारविरुद्ध कोलम्बोको सडकमा उत्रिएका छन् ।

गत सातासम्म अधिकांश प्रदर्शन शान्तिपूर्ण भए पनि पछिल्ला केही दिनदेखि प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।प्रदर्शनकारीहरुले भयावह आर्थिक संकटका लागि राष्ट्रपति गोटाबाया राजापाक्षे जिम्मेवार रहेको भन्दै उनले राजीनामा दिनुपर्ने माग गरेका छन्।

यसअघि सोमबार उनका भाइ तथा देशका प्रधानमन्त्री महिन्दा राजापाक्षेले आफ्नो पदबाट राजीनामा दिएका छन्। तर यो राजीनामाले आक्रोशित आन्दोलनकारीको आक्रोश शान्त पार्न सकेन । अहिले राजधानी कोलम्बोको सडकमा दशौं हजार सेना, नौसेना र वायु सेनाका सैनिकहरू तैनाथ छन्।  कोलम्बोको ग्लास फेस ग्रीन पार्कमा प्रदर्शनकारीहरू ठूलो संख्यामा भेला भएका छन्। प्रहरीका अनुसार हिंसात्मक प्रदर्शनमा हालसम्म आठ जनाको मृत्यु भएको छ । हिंसात्मक प्रदर्शनमा कूल २०० जना घाइते भएका छन्। -बीबीसी