Close This

चालीस प्रतिशतले बढ्यो इन्धनको माग

बिहीबार बैशाख २९, २०७९/ Thursday 05-12-22
Paschim Today

काठमाडौँ,२९ वैशाख ।  पछिल्लो एक सातामा मुलुकभर झन्डै छ करोड लिटर पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल) खपत  भएको  छ  ।स्थानीय  चुनावका कारण  मुलुकभर इन्धनको माग बढेको हो ।

नेपाल आयल निगमका अनुसार वैशाख १९ देखि २५ गते आइतबारसम्ममा ५९ हजार ९२७ किलोलिटर अर्थात् पाँच करोड ९९ लाख २७ हजार लिटर इन्धन खपत भएको छ ।सो अवधिमा २० हजार ३२७ किलोलिटर पेट्रोल र ३९ हजार छ सय किलोलिटर डिजल खपत भएको  छ  ।  

अघिल्लो  सोमबारदेखि  बजारमा  इन्धनको खपत बढ्दै गएको हो ।निगम  प्रवक्ता  विनीतमणि  उपाध्यायले  चुनावले डिजल र पेट्रोलको खपत ४० प्रतिशतले बढेको  जानकारी  दिए । उनका  अनुसार  सामान्य  अवस्थामा  पेट्रोल  दैनिक  अधिकतम  दुई  हजार  पाँच  सय  किलोलिटर  बिक्री  हुने  गरेकामा  अहिले  चार  हजार  किलोलिटरसम्म  खपत हुने गरेको हो ।

यसैगरी  यसअघि  दैनिक  अधिकतम  छ  हजार किलोलिटर डिजल खपत हुने गरेकामा अहिले  १०  हजार  किलोलिटरसम्म  भएको  निगमले जनाएको छ ।

निगमका अनुसार अहिले दैनिक पौने तीन अर्ब रुपैयाँको डिजल र पेट्रोल बिक्री भइरहेको छ ।वैशाख १९ गते सोमबार पेट्रोल चार हजार ९१०  किलोलिटर  र  डिजल  १०  हजार  ४७९  किलोलिटर खपत भएको थियो भने मङ्गलबार सार्वजनिक  बिदा  भएकाले  १८२  किलोलिटर,  बुधबार चार हजार ४२५ किलोलिटर, बिहीबार तीन हजार १६५ किलोलिटर, शुक्रबार तीन हजार ५५८ किलोलिटर, शनिबार ११ किलोलिटर र आइतबार तीन हजार ९४३ किलोलिटर पेट्रोल खपत भएको थियो ।

यस्तै  डिजेलको  खपत  वैशाख  १९  गते  सोमबार  १०  हजार  ४७९  किलोलिटर,  मङ्गलबार  १५  हजार  किलोलिटर,  बुधबार  सात  हजार  ९८१  किलोलिटर,  बिहीबार  छ  हजार १५७ किलोलिटर, शुक्रबार सात हजार ३४१ किलोलिटर, शनिबार १६ किलोलिटर र आइतबार  सात हजार ४९७ किलोलिटर खपत भएको निगमले जानकारी दिएको छ ।

उक्त  एक  साताको  अवधिमा  ४३०  किलोलिटर  मट्टीतेल  र  चार  हजार  ४९५  किलोलिटर हवाई इन्धन खपत भएको छ । यी दुई इन्धनको मागमा धेरै वृद्धि भएको छैन ।

वैशाख १९ देखि २५ गतेसम्म निगमको थानकोट  डिपोबाट  डिजल  छ  हजार  ५५६  किलोलिटर  र  पेट्रोल  पाँच  हजार  ६६२  किलोलिटर बिक्री भएको छ । यो सातामा दुई दिन सार्वजनिक बिदा परेकाले ती दिन थानकोट डिपोबाट पेट्रोलियम पदार्थ बिक्री भएको छैन । गोरखापत्र दैनिकमा लक्ष्मी सापकोटाले यो खबर लेखेकी छन् ।