Close This

नेपाली जनसम्पर्क समिति डेनमार्कले फुटबल प्रतियोगिता आयोजना गर्ने

शुक्रबार बैशाख ३०, २०७९/ Friday 05-13-22
Paschim Today

डेनमार्क,३० वैशाख । नेपाली जनसम्पर्क समिति, डेनमार्कले  फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ३० र ३१ जुलाई, २०२२ मा समितिले जनसम्पर्क फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिता डेनमार्कको राजधानी कोपेन्हेगनमा आयोजना हुने भएको छ ।  यो  फुटबल प्रतियोगितामा नेपाली भाषी, फुटबल खेल्न मन पराउने सबैको सहभागिता हुने नेपाली जनसम्पर्क समिति, डेनमार्कका सभापति यादव बस्नेतले बताए । कोरोना कहरका कारणले २ वर्षदेखि सञ्चालन हुन नसकेको र डेनमार्क बसोबास गर्ने नेपाली भाषीहरू माझ लोकप्रिय  भएकोले प्रतियोगितामा व्यापक सहभागिता हुने यादव  बस्नेतले बताए । 

बितेको २ वर्ष बाहेक, सन २०१४ बाट हरेक वर्ष प्रतियोगिता सञ्चालन हुँदै आएको र यो फुटबल प्रतियोगिताले  नेपाली भाषीमा आपसी भाइचारा बढाउने र व्यस्त समयबाट २ दिन छूट्याएर मनोरञ्जन गर्ने साथै  आपसमा भलाकुसारी गर्ने अवसर प्रदान गर्ने बस्नेतले बताए ।   

फुटबल प्रतियोगितालाई सभ्य र भब्यबनाउन तयारी तीव्र रूपमा अगाडि बढाइएको खेलकुद तथा अतिरिक्त विभागका संयोजक तथा संस्थाका वरिष्ट उपसभापति  रमेश घिमिरेले बताए ।   नेपाली भाषीहरूले  स्थापना गरी तयारी प्रतियोगिता सञ्चालन गर्दै आएका क्लबहरू सँग  प्रतियोगिताका बारेमा अनौपचारिक छलफल भएको र छिट्टै  औपचारिक छलफल चलाउने संयोजक घिमिरेले बताए । 

नेपाली जनसम्पर्क समिति, डेनमार्कको एक महत्त्वपूर्ण र नियमित कार्यक्रम यो फुटबल प्रतियोगिता भब्यरुपमा सफल पार्न सङ्गठन लागिपरेको सङ्गठनका महामन्त्री विजय सापकोटाले बताएका  छन् । प्रतियोगिता मनोरञ्जनात्मक होस् भन्ने हेतुले बच्चाहरूको  मैत्री पूर्ण खेलको पनि आयोजना गरिने  भएको छ । 

त्यसै गरी शरीर  फुर्ती राख्न ब्यायमका रुपमा फुटबल खेल्दै आएका भेट्रान समूह (करिब ३० वर्ष  माथिका खेलाडीहरू सम्मिलित )पनि खेलकुदमा सहभागी हुने बताइएको छ ।बच्चाहरूको र भेट्रान समूहको सहभागिताका लागि नेपाली जनसम्पर्क समिति, डेनमार्कका वरिष्ठ उपसभापति द्वय  दीपेन्द्र  चुँडाल र प्रकाश ढकाल तयारीमा लागेको आयोजकले बताएको  छ ।