Close This

कैलालीको कुन पालिकामा कति मत खस्यो ?

शुक्रबार बैशाख ३०, २०७९/ Friday 05-13-22
Paschim Today

धनगढी, ३० वैशाख । कैलालीमा स्थानीय तहको निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । आज जिल्लाको १३ वटै पालिकामा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको हो । 
निर्वाचनमा धनगढी उपमहानगरपालिकामा ६५ प्रतिशत मत खसेको छ । प्रमुख निर्वाचन अधिकृत ९५ हजार १५१ मतदाता रहेको धनगढीमा ६५ प्रतिशत मत हो । 
मतगणनाको कार्य शनिबारबाट सुरु हुने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कैलारी गाउँपालिकामा ७८.१२ प्रतिशत मत खसेको छ । जम्मा ३६ हजार ७३५ मतदाता रहेको यो पालिकामा २८ हजार ६९७ भोट खसेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए । यसैगरी, बर्दगोरिया गाउँपालिकामा ६७.३९ प्रतिशत मत खसेको छ । जम्मा मतदाता सङ्ख्या २२ हजार १८१ रहेकोमा १४ हजार ९४३ मत खसेको निर्वाचन अधिकृत बद्रीबहादुर पाठकले जानकारी दिए ।  
 यस्तै, चुरे गाउँपालिकामा ६६ प्रतिशत मत खसेको छ । जम्मा मतदाता ११ हजार ९२३ रहेकोमा सात हजार ८७३ मत खसेको निर्वाचन अधिकृत राइभान कुञ्जेडाले जानकारी दिए । गौरीगङ्गा नगरपालिकामा २६ हजार ८७६ मत खसेको छ । सो पालिकामा मतदाता सङ्ख्या ३९ हजार ५० रहेको छ । 
लम्कीचुहा नगरपालिकामा ६५ देखि ७० प्रतिशत, जानकी गाउँपालिकामा ६० देखि ६५ प्रतिशत, जोशीपुरमा ७० देखि ७५ प्रतिशत मत खसेको सम्बन्धित पालिकाका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् । त्यस्तै, गोदावरी नगरपालिकामा जम्मा ५५ हजार ५९२ मतदाता रहेकोमा करिब ३४ हजारको हाराहारीमा मत खसेको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले जानकारी दिए । 
कैलालीमा १३ वटा पालिका रहेको छ । अरु पालिकाको विवरण आउन बाँकी रहेको छ ।