Close This

प्रसिद्ध बेहडा बाबामा दर्शनार्थीको घुइँचो

बिहीबार जेठ २६, २०७९/ Thursday 06-09-22
Paschim Today

धनगढी,२६ जेठ । कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको प्रसिद्ध बेहडा बाबा मन्दिरमा तीर्थालुको घुइँचो लागेको छ । गङ्गा दशहराको अवसरमा बेहडा बाबा मन्दिरमा पूजाआजा र गङ्गा दशहरा मेला भर्नका लागि तीर्थालुको घुइँचो लागेको हो । बेहडा बाबाको दर्शन गर्न नेपाल–भारत दुवै देशका दर्शनार्थीहरुको बाक्लो उपस्थिति रहेको छ ।

गङ्गा दशहराको दिन बिहीबार दिउँसोसम्ममात्रै करिब ३५/४० हजार दर्शनार्थीहरुले बेहडा बाबा मन्दिरको दर्शन गरेको वडा नम्बर १६ का वडा अध्यक्ष रामलाल चौधरीले बताए । ‘नेपाल–भारत दुवै देशको दर्शनार्थीहरुको उल्लेख्य रुपमा आउजाउ भइरहेको छ’, उनले भने । गङ्गा दशहरा मेलालाई व्यवस्थित गर्न र शान्ति, सुरक्षा कायम गर्नका लागि मेला क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाइएको छ । यसैगरी, दर्शनार्थीहरुको सुरक्षाका लागि पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । चार दिनसम्म गङ्गादशहरा मेला आयोजना हुने वडा अध्यक्ष चौधरीले बताए । उनले शुक्रबारसम्म दर्शनार्थीको भीडभाड उत्तिक्कै रहने जानकारी दिए ।

बेहडा बाबा मन्दिरको दर्शनका लागि भारतको उत्तर प्रदेशका विभिन्न ठाउँबाट भारतीय दर्शनार्थी आउने गरेका छन् । उनीहरुले बेहडा बाबा मन्दिरको दर्शन गर्नाले पुत्र, पत्नी, धन प्राप्त हुने गरेको विश्वास गर्दै आएका छन् । अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण भारतीय तिर्थालुहरु आउन पाएका थिएनन् । यसवर्ष ठूलो सङ्ख्यामा उनीहरु आएका छन् ।

बेहडा बाबा मन्दिरको गाथा भगवान शिवसंग जोडिएको छ । र, बेहडा बाबाको दर्शन गरेर मागेको चिज पूरा हुने जनविश्वास रही आएको छ । भगवान शिवको प्रतिकका रुपमा रहेका नेपालको पशुपतिनाथ र भारतको केदारनाथ जत्तिकै बेहडा बाबाको धार्मिक महत्व रहेको बताइन्छ ।त्यसैले प्रचण्ड गर्मीमा गौरीफन्टा नाकादेखि बेहडा बाबा मन्दिरसम्म प्रायः पैदल हिडेर भारतीय दर्शनार्थीहरु पुग्ने गरो छन् ।

उनीहरुले बेहडा बाबा मन्दिरमा पूजाआजा गर्दा मनोकामना पूरा हुने गरेको बताउँछन् । उनीहरुमध्ये कोही पत्नी, कोही धन, कोही सन्तान, सुख माग्नका लागि बेहडा बाबा मन्दिरको दर्शन गर्न आउने गरेका छन् । कतिपयले आफ्नो मनोकामना पूरा भएको कुरा साइनबोर्डमा लेखेर बेहडा बाबा मन्दिर आसपास रहेको रुखमा टाँसेका छन् । 

एक किवंदन्तीअनुसार कुनै समय जङ्गलै जङ्गल रहेको हालको बेहडा बाबा मन्दिर क्षेत्रमा गोठ बनाएर भारतीय गोठालाहरुले गाईभैंसी चराउने र बस्ने गर्दथे । बेहडा बाबामा गोठ बनाएर गाईभैंसी चराउने भारतको सिङ्गाही स्थित कन्हैया अहिर भन्ने गोठालाको गाई ब्याएपनि त्यसले दूध दिने गरेको थिएन । ब्याएको गाईले हरेक दिन दूध नदिएपछि दिउँसो गाईलाई पछ्याउँदै गएका कन्हैयाले गाईले दूध नदिनुको रहस्य पत्ता लगाएका थिए । 

उनको गाईले एक ठाउँमा दूध बगाउँदै गरेको दृश्य देखिएको थियो । त्यसपछि तिनै कन्हैयाले गाईले दूध बगाएको ठाउँमा खन्दा शिवलिङ्ग फेला परेको निवर्तमान वडा अध्यक्ष लक्ष्मीनारायण चौधरी बताउँछन् । यसरी बेहडा बाबा मन्दिरको सम्बन्ध परापूर्वकालदेखि भारतसंग जोडिएकाले पनि भारतीय श्रद्धालुहरु पूजाआजाका लागि बढी आउने गरेका उनको भनाइ छ ।